बंगलादेशमा फेरि अस्थिरताको संकेत : सेना, बिएनपी र विद्यार्थीको दबाबमा युनुस

काठमाडौँ । विद्यार्थी नेतृत्वमा भएको जनविद्रोहपछि शेख हसिना बाजेदले अकस्मात् सत्ता छाडेको १० महिना नपुग्दै बंगलादेश फरि अस्थिरतातर्फ मोडिएको छ । गत वर्ष हसिनालाई सत्ता छाड्न बाध्य बनाउने विद्यार्थी संगठन, सेना र राजनीतिक दलबीच मत विभाजन भएपछि मोहम्मद युनुस नेतृत्वको सरकार अप्ठ्यारोमा परेको छ ।

बंगलादेशको सेनाले यसै वर्षको डिसेम्बरसम्म निर्वाचन गराउन दबाब दिएको छ । आन्दोलनरत विद्यार्थीले चुनावअघि नै निवर्तमान प्रधानमन्त्री शेख हसिनामाथि लगाइएको आरोपको छानबिन र सजायको माग गरेका छन् । राष्ट्रिय नागरिक पार्टी (एनएसपी), जमात–ए–इस्लामीको विद्यार्थी शाखा छत्र शिविर र वामपन्थी विद्यार्थी संगठनहरूले हसिनाको कार्यकालमा आन्दोलन दबाउन गरिएको दमनको छानबिन गर्न पनि माग गरिरहेका छन् ।

एनएसपीका नेता नाहिद इस्लामले हसिनालाई कारबाही गरेर सो समयमा भएको दमनको छानबिन नगरेसम्म कुनै पनि चुनाव अर्थहीन भएको दाबी गरेका छन् । अर्कातर्फ अन्तरिम सरकार प्रमुख युनुसले पदबाट राजीनामा दिने तयारी गरिरहेको खबर सार्वजनिक भएको छ । भारतमा रहेकी हसिनाले भने यसअघि नै आफू फेरि सत्तामा आउने उद्घोष गर्दै विपक्षीलाई चुनौती दिइसकेकी छिन् ।

बंगलादेशको शक्तिशाली सेना प्रमुख बाकर–उज–जमानले देशका जनविद्रोहबाट हसिना अपदस्थ भएपछिको पहिलो चुनाव डिसेम्बरसम्म गराउनैपर्ने दबाब दिएका छन् । गत वर्ष हसिनालाई अपदस्थ गरिएपछि छोटो समयका लागि सेनाले सत्ता नियन्त्रणमा लिएको थियो । सो घोषणा गर्ने व्यक्ति बाकर–उज–जमान नै थिए । तर, केही दिनपछि उनले ८४ वर्षीय युनुसलाई सत्ता हस्तान्तरण गरेका हुन् । सैन्य प्रवक्ता लेफ्टिनेन्ट कर्नल सामी–उद–दौला चौधरीका अनुसार सेना प्रमुख जमानले यसै साता अधिकारीहरूलाई सम्बोधन गरिसकेका छन् ।

सेना प्रमुखको उक्त टिप्पणीलाई स्थानीय मिडियाले प्राथमिकताका साथ प्रकाशित गरेका छन् । करिब १७ करोड जनसंख्या भएको यो दक्षिण एसियाली राष्ट्रमा ५ अगस्टमा तत्कालीन प्रधानमन्त्री हसिनालाई अपदस्थ गरिएको थियो । उनी अपदस्थ भएसँगै नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुस अन्तरिम सरकार प्रमुख भएका हुन् । उनले ढिलोमा सन् २०२६ जुनसम्म चुनाव गराइने बताएका छन् । चुनावमा सफलता पाउने आसमा रहेको बंगलादेश नेसनलिस्ट पार्टी (बिएनपी) ले बारम्बार चुनावको मिति माग गरिरहेको छ ।

बिएनपीले केही दिनयता राजधानी ढाकामा विरोध प्रदर्शन जारी राखेको छ । बंगलादेशको विकसित घटनामा युनुस आफैँ पनि सन्तुष्ट छैनन् । उनले ढाकामा भएको सल्लाहकार परिषद्को बैठकमा देशको अवस्थाप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका थिए । बिहीबार नै बंगलादेशको नेसलिस्ट पार्टीले अन्तरिम सरकारका २ सल्लाहकार महफुज आलम र आसिफ महमुद र राष्ट्रिय सुरक्षा सल्लाहकार खलिलुर रहमानको राजीनामा वा बर्खास्तीको माग गरेको थियो ।

दलहरूको मत विभाजन

बंगलादेशमा तत्काल निर्वाचन भएमा सम्भाव्य परिणामलाई लिएर दलहरूको मत विभाजन भएको छ । बेगम खालिदा जिया नेतृत्वको बिएनपीले आफूले सफलता पाउने विश्वास गरेको छ । यसकारण बिएनपी डिसेम्बरसम्म जसरी पनि निर्वाचन चाहन्छ । यसैगरी, कट्टरपन्थी जमात–ए–इस्लामी पनि निर्वाचन सार्ने पक्षमा छ । युनुसले बारम्बार निर्वाचन सारेमा स्थिति नियन्त्रणबाहिर जाने चेतावनी सेनाले दिइसकेको छ । राष्ट्रिय नागरिक पार्टीका प्रमुख नाहिद इस्लाम भने अनावश्यक झमेला झिकेर युनुसलाई काम गर्न अप्ठ्यारो पारिएको बताउँछन् ।

प्रतिक्रिया