गंगोत्रीबाट गंगा केही उत्तरतिर बग्छिन् । यसैकारण यसको नाम गंगोत्री (गंगा उत्तरी) रह्यो । अधिकतर नदी उत्तरबाट दक्षिणतिर बग्दछ । परन्तु यहाँ पहिलोपल्ट गंगा पुनः उत्तरतिर बग्न थाल्छिन् । यहाँको पूरा बाटो निरन्तर उकालोतिर जान्छ, जोसँग आँट छ उसले नै गोमुखको यात्रा सम्पन्न गर्न सक्तछ ।
गंगोत्री राती अँध्यारो भइसकेपछि पुगियो । बस बिसौनीबाट केहीबेर हिँडेर बास बस्ने धर्मशालामा झोला थन्क्याएपछि मन अलि ढुक्क भयो । गंगाको वारिपट्टी किनारमा रहेको धर्मशालामा नै बसियो । हृदयरोगको औषधि सेवन गरिरहेकोले मनको स्वास्थ्यमा विशेष ख्याल राख्नुपर्ने अवस्था थियो । वास्तवमा हामी भगवान् भरोसा भनेर हिँडेका थियौँ । साथमा ज्वाइँ सुनील सिग्देल हुनुहुन्थ्यो ।
उहाँ जाने भएर नै रेखदेख पुग्छ भनेर गंगोत्री तीर्थयात्राका लागि निर्णय गर्न सजिलो भएको थियो । भारतका तीर्थहरू घुम्दा प्रायः भेट हुने भान्जा पिताम्बर गौतम पनि हरिद्वारबाट यात्रामा सम्मिलित हुनु हाम्रा लागि थप खुसीको कुरा थियो । पिताम्बर गौतमसितको हाम्रो भेट र हिमाञ्चल प्रदेशमा रहनुपरेको बाध्यताबारे उनले बताएका कुरा सुन्नेका लागि त्यत्तिकै रोचक छ ।
राजस्थानको जोधपुर जाँदा पिताम्बर गौतमसित अचम्मको जम्काभेट भएको थियो । फागुनको महिना, मरुभूमिको प्रदेश राजस्थानको जोधपुरमा असाध्य गर्मी हुने नै भयो । सर्वतको खोजी गर्दै आश्रयस्थलबाट निस्केका हामी प्याउ (पानी राखेको घ्याम्पो) नजिकैको चौतारीमा बसेर शीतल तापिरहेको थियौँ । यत्तिकैमा दुब्लो पातलो खबटे अनुहारको १ जना मानिस उता परबाट हामीतिर हेर्दै फटाफट आयो, र ‘तपाईंहरू नेपालबाट हो चिनेचिनेजस्तो लाग्छ’ भन्दै नजिकै चौतारीमा बस्यो । ‘यो जन्ममा त कहाँ भेट भयो होला र खोई अघिल्लो जन्ममा कतै सँगै बसेर साधना गरियो कि’ भनेर मैले जवाफ दिएँ । राम्रैसित चिनापर्ची भयो, उनी पिताम्बर गौतम, ढकालका भानिज रहेछन्, आध्यात्मिक साधक रहेछन् । उनले गुल्मीको मान्छे कसरी हिमाञ्चल प्रदेशमा बस्न पुगियो भन्ने कुरा पूर्वजन्मसित जोडेर रोचक ढंगको आफ्नो कथा सुनाए । उनी जमिन्दार रहेछन् अघिल्लो जन्ममा । कुनै अदना परिवारकी कन्या अपहरण गरेर ल्याएछन् र विवाह गरेर पत्नी बनाएछन्, उनले पत्नीलाई जीवनभर माइत जान नदिएर एकप्रकारले बन्दीजस्तै बनाएर राखेछन् । आफ्ना बाबुआमा, इष्टमित्रसित भेट्न नपाएरै तिनको जिन्दगी बितेछ । यस्तो जघन्य अपराध (पापकर्म)का कारण यस जन्ममा उनी ससुरालीको–श्रीमतीको कब्जामा परेका रहेछन् । श्रीमतीले नेपाल जानै दिइनछन्, त्यहाँका आफ्ना आफन्तसित उनको कहिल्यै भेट भएन । ससुरालीको आश्रयमा बस्नुपयो । पिताम्बर गौतमको पूर्वजन्ममा यी यावत् कुरा आफ्ना गुरुबाट ज्ञान पाएको पनि बताए । पिताम्बर गौतमले हाम्रो परिवारलाई असाध्यै माया गर्थे – मानौ यसै जन्ममा जोडिएको मावलीघर हो । उनको आर्थिक अवस्था राम्रो थिएन, हामीले पनि भेट हुँदा धेरथोर आर्थिक खाँचो टारिदिने गथ्र्यौं । पूर्वजन्मको शुभाशुभ कर्म, प्रारब्धका कुरा अध्यात्म बुझेकाले मात्र विश्वास गर्ने हुन् । पिताम्बर गौतम आफ्नो कुरामा विश्वस्त थिए दृढ थिए । उनले आफ्ना यी वृतान्त सुनाइरहँदा हाम्रा मित्र वेदप्रसाद घिमिरे पनि सँगै हुनुहुन्थ्यो ।
गर्मी महिनामा पनि गंगोत्रीमा राती निकै चिसो हुने रहेछ । धर्मशालाका सञ्चालकले थप ओढ्नी उपलब्ध गराएकाले रात सुबिस्तैसित बित्यो । गंगोत्रीको उचाइ १० हजार २० फिट रहेछ । प्रातकाल तातोपानीले स्नान गरियो । बाल्टिनअनुसार तोकिएको पैसा तिरेर विशेष अनुरोधपछि तातो पानी उपलब्ध हुन सकेको थियो । घाम लागेर अलि तातेपछि हामी गंगाकिनारमा गएर बस्यौँ । ज्वाइँ सुनीलले लोटाले शरीरमा गंगाको पानी खन्याउँदै स्नान गर्नुभयो । त्यस्तो चिसो पानीमा नुहाउने आँट गर्नु पूण्यफलकै कुरा हो जस्तो लाग्यो । हामीले पवित्र जल शिरमा सेचन गरेर चित्त बुझायौँ । तीर्थमा गर्नुपर्ने कर्मकाण्ड राम्रो जानेका पिताम्बर गौतम साथमा भएकाले केकसो गर्ने भनेर अल्मलिनु परेन ।
अलि बढी नै नेपालवादी भइएछ कि क्या हो गंगाको मन्दिर दर्शन हुने बित्तिकै अमरसिंह थापाको सम्झना भयो । मन्त्र–तन्त्र–यन्त्र विज्ञान अक्टुबर १९८३ को अंकमा गंगामन्दिरबारे छापिएको विवरण (नेपाली रूपान्तरण) यस्तो छ :
‘गंगोत्रीको यात्रा त अधिकतर यात्रीले गर्छन् नै परन्तु जो वास्तवमै यात्री हुन् जसको प्रकृतिसित नैसर्गिक प्रेम छ, तिनले अवश्य नै गोमुख यात्रा गरुन् । किनभने यात्रा नगरी गंगाको मूल उद्गमलाई बुझ्न सकिँदैन । हामीले गंगोत्रीमा गंगा मन्दिरको दर्शन ग¥यौँ । यो मन्दिर गोरखा जनरल अमरसिंह थापाले बनाएका थिए ।
मन्दिरको नजिकै गंगाको पातलो धारा बगिरहन्छ । भनिन्छ महाभारत युद्धपछि पाँचपाण्डव यहाँ आएर प्रायश्चित्त गरेका थिए र यसै स्थानमा प्रायश्चितस्वरूप यज्ञ गरी दोष निवृत्त भएका थिए ।
गंगोत्रीबाट गंगा केही उत्तरतिर बग्छिन् । यसैकारण यसको नाम गंगोत्री (गंगा उत्तरी) रह्यो । अधिकतर नदी उत्तरबाट दक्षिणतिर बग्दछ । परन्तु यहाँ पहिलोपल्ट गंगा पुनः उत्तरतिर बग्न थाल्छिन् । यहाँको पूरा बाटो निरन्तर उकालोतिर जान्छ, जोसँग आँट छ उसले नै गोमुखको यात्रा सम्पन्न गर्न सक्तछ । गंगोत्तरीबाट नौ कोस जति हिँडेपछि गोमुख पुगिन्छ । गोमुखको यात्रा कठिन छ, नसिबमा लिएर आएकाहरू मात्रै गंगाको उद्गमस्थल गोमुख पुग्न सक्छन् । शास्त्रमा भनिएको छः
गंगोद्भेदं गोमुखे समासाद्य त्रिरात्रीपोषिता नरः ।
वाजपेयमवाप्नोति ब्रह्मभूतो भवेद् सदा ।। –महाभारत वनपर्व (४/६५)
गंगोत्रीलाई गंगोद्भेद पनि भनिन्छ । त्यहाँ पुगेर जप ध्यान उपवास तर्पण आदि गर्नाले ठुलो पूण्य मिल्ने शास्त्रले वताएको छ । गंगाको किनारमा बसेर आँखा चिम्लियो भने कहाँ हराइन्छ कहाँ पत्तै हुँदैन । अध्यात्ममा कोरा भावुकता पनि राम्रो मानिँदैन । पारि नजिकै पाखामा धूपी र देवदारुको अग्ला रुखहरू देखिन्छन् । राता नीला छाना भएका भवनहरू छन् । यहाँको मनोहर आकर्षक केन्द्रचाहिँ गंगा मन्दिर र भगीरथशिला नै हो । यही भगीरथशिलामा बसेर तीर्थालुहरू तर्पण–पिण्डदान आदि पितृकार्य गर्छन् ।
भगीरथको नाम थाहा नपाएका, पृथ्वीमा गंगाको अवतरणको कथा नसुनेका, नपढेका नेपालीको मुखबाट भगीरथ प्रयत्न भन्ने शब्द बराबर निस्कने गर्दछ । ज्यादै कठिन संघर्ष, परिश्रम र प्रयत्नबाट पार लगाइएको, सफलता मिलेको कामका प्रसंगमा भगीरथ प्रयत्न प्रयोग गर्ने चलन छ । श्रीमद्भागवतमा उल्लेख भएको गंगोत्तरी माहात्म्य यस्तो छ :
धातुः कमण्डलु जलं तदरुक्रमस्य।
पादावनेजन पवित्र तया नरेन्द्र ।।
स्वर्धुन्यभून्नभसि सा पतती निमाष्टि ।
लोकत्रयं भगवतो विशदेव कीर्ति ।।
गंगोत्तरीबाट झिसमिसेमै हिँडियो । त्यसै दिन बेलुका श्रीनगर पुगेर बस्ने कार्यक्रम थियो । समयमै बासमा पुग्नुपर्ने अन्दाज गरेर होला बिहान चाँडै गाडी हिँडाए । फर्कंदा केदारगंगा संगमनेर शिवलिंगमाथि अविरल जलप्रपातद्वारा गरेको अभिशेषकको अपूर्व दृश्य दर्शन भयो । प्रकृतिको मनोरम छटाबीच शिवलिंगको दर्शन फल थियो । जाँदा रात झमक्क परेपछि झन्डै २ घण्टा बसमा गंगामाईकै कृपाको उकालो लागेको यो बाटोबाट कसरी पार भइयो पत्तै भएन । सडक एकदमै साँगुरो रहेछ, गंगा डाँडाको खाँचबाट तलतिर बगेकी, भिरको भित्तैभित्ता बस गुडिरहेको, झ्यालबाट तलहेर्दा कहाली लाग्ने, मनै भरंग हुने । कसरी आइयो होला जस्तो लाग्यो । भिरालो डाँडा सकिएर तेर्सो लागेपछि चियापसल आयो । ७ बजेतिर होला बसेर चिया खाइयो । हामी उत्तराखण्डको मनोरम दृश्यबाट लोभिँदै बेलुका ७ बजे श्रीनगर पुग्यौँ । बाटोमा पर्ने टिहिरीमा गंगालाई थुनेर बनाइएको जलाशय देखेपछि तीर्थालुको मनलाई खिस्रिक्क बनाउँछ ।
यसपटक श्रीनगरबाट बिहान ६ बजे नै प्रस्थान गरिएकोले उज्यालो छँदै बदरीकाश्रम (बद्रीनाथ) पुगियो । ७ वर्षअघि समयको व्यवस्थापन गर्न ढंग नपुग्दा जोशीमठ नपुग्दै चमौलीमा बास बस्नुपरेको थियो । यस पटकको बदरीनाथ यात्रामा बास बसपार्क नजिकैको धर्मशालामा थियो । चिसोमा ओढ्नी–ओछ्याउनीको व्यवस्था राम्रै थियो । बाल्टिनअनुसार पैसातिरेपछि तातोपानी उपलब्ध हुन्थ्यो । वैशाख–जेठको महिना भए पनि बद्रीनाथ धामको मौसम छिनछिनमा अदलीबदली भइरहने टन्टलापुर घामलाई बादलले ढाकेर कुनबेला हिउँ–पानी पर्छ अन्दाज नै गर्न सकिँदैन । घामले नतातिकन बाहिर निस्कने कुरा थिएन । ३ तलामाथि बदरीनाथतिरै फर्केको कोठामा बास परेकोले प्रातः धर्मशालामै बसेर मानसि स्तवन – वन्दन गर्न पाइयो ।
९ बजेतिर हामी मन्दिर दर्शन गर्न निस्क्यौँ । ज्वाइँ र मैले केशमुण्डन गएकै दिन बेलुका गरिसकेकाले तप्तकुण्डको दर्शन गर्न त्यतै लागियो । यसपटक पितृकार्य सम्पन्न गराउने जिम्मा भान्जा पिताम्बर गौतमको थियो । ब्रह्मकपाली तीर्थ जानुअगाडि तप्तकुण्ड पुगेर स्नान–जलसेचन गर्ने चलन छ । कपालमोचन शिलामा पुगेर अरू तीर्थयात्रीहरूलेजस्तै पिण्डदान कार्य सम्पन्न गरियो । त्यसपछि पर्खालको सिँढी ओर्लेर अलकनन्दाको बगिरहेको जल सेचनका साथ स्तवन र नमन गर्दा बोझ बिसाएर विश्राम पाएजस्तो मनै हलुका भयो । हाम्रो शास्त्रअनुसार गंगा पाप–मोचनी, कल्मषहारिणी मानिन्छिन् । पिताम्बर गौतमले अलकानन्दको पवित्र जलबाट पितृतर्पण र अन्य कार्य गराए । ज्वाइँ र मैले भनेअनुसारका कार्य सम्पन्न ग¥यौँ । त्यसपछि मैले पितृको नाममा गायत्री मन्त्र र दीक्षामन्त्र यथासक्य जपेर अर्पण गरेँ । पितृसूक्त, गीता, गुरुगीता र विष्णुका स्तोत्रहरू पाठ गरेर पितृको उद्धार एवं मोक्षप्राप्तिका लागि भगवान् बदरीनाथ र अलकानन्दा माईसँग प्रार्थना गरेँ । मनले आफ्नै किसिमले तीर्थको उपासना गरिन् । ज्वाइँ सुनिलबाट पनि मन्त्र जपको कार्य सम्पन्न भयो । पुरोहितका हैसियतले पनि कार्य सम्पादन गराएका भान्जालाई दानदक्षिणा दिएर सन्तुष्ट पारियो । यति गर्दा साढे ११ बज्न आँटेछ– अलकानन्दको किनार छोड्न त मन थिएन तर आकाशमा बादल देखियो, हिउँपानीले ठटाउला भनेर हामी धर्मशाला फक्र्यौं । पुल तरेर केहीबेर उकालो चढेपछि मात्र तेर्सो बाटो आउँछ, श्वास बढ्ने र खुट्टा गल्ने हुनाले पुलको यत्ति उकालो हिँड्न पनि कठिन लाग्छ । १० हजार फिट माथिको उचाइमा अक्सिजनको कमी हुने हुँदा यस्तो कठिनाइ आउँछ नै । हतार हतार फर्के पनि हामीले सोचेजस्तो हिमपात वा वर्षात् भएन ।
धर्मशालाको पेटीमा बसेर २ जना साधु घाम तापिरहेको थिए । पिताम्बर कता लागे कुन्नि ज्वाइँसहित हामी ३ जना त्यही पेटीमा गएर बस्यौँ । यत्तिकैमा पश्चिमपट्टिको पहाडको भित्तातिर मनको आँखा गएछ । त्यहाँ उनलाई हिउँले बनेको ॐ को दर्शन भएछ, दृष्टिभ्रम हो कि भनेर मलाइ हेर्न भनिन् – पहाडको टाकुरामा हिउँले ढाकेको, बीचमा खाली पहाडको चट्टान देखिन्छ, त्यो भन्दा तल हिउँले बनेको प्रष्ट ॐ को दर्शन– चित्रकारको कुचीले कोरेर पहाडको भित्तामा टाँसिदिएजस्तो दृश्य अपूर्व र अतुलनीय थियो । नारायणको धाममा पाएको यो दृश्यदर्शनले राम र श्याम दुवैको सम्झना गरायो, हरि र हरमा भेद नभएको संकेत भनेर पनि हामीले बुझ्यौँ । ज्वाइँले पनि दर्शन गर्नुभयो र क्यामराबाट फोटो खिच्नुभयो । पेटीमा नजिकै बसेका साधु बाबाहरूले पनि ॐ नै देखे, उनीहरूले ॐ को अनुमोदन गर्दै भने, ‘यो हरि र हरको भेद नभएको पुष्टि हो ।’ उनीहरू पनि दंग परे, धर्मशालाको कोठामा रातभरजस्तै यही ॐ कै चर्चा गरेर बित्यो ।’
गंगोत्तरीको तट दिव्य धाम रहेछ कस्तो नयनाभिराम बद्री बसेमा मनभित्र हाम्रो हुँदैन कहिल्यै कतै नराम्रो ।
(लेखक ढकालको हालै प्रकाशित पुस्तक सुसंगतको यात्राबाट साभार)
प्रतिक्रिया