‘हनी ट्रयाप’मा पारेर काठमाडौंमा घर मागेको आरोपमा दुई जना युवती पक्राउ

काठमाडौं । प्रहरीले ‘हनी ट्रयाप’को आरोपमा दुई जना युवतीलाई बुधबार पक्राउ गरेको छ । काठमाडौं उपत्यका प्रहरी अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ परेका ती युवतीमाथि हनी ट्रयापमा पारेर काठमाडौंमा घरजग्गा माग्नको आरोप छ ।

पक्राउ पर्नेमा कैलालीको गोदावरी नगरपालिका–१० दमौरा घर भई काठमाडौंको कालोपुल बस्ने ३४ वर्षीया ममता तामाङ र भक्तपुर नगरपालिका–१७ सल्लाघारी घर भई हाल काठमाडौंको हाँडीगाउँ बस्ने ३४ वर्षकै आँचल श्रेष्ठ भन्ने आँचल चौगुठी रहेको प्रहरीले जनाएको छ ।

उनीहरूले पीडितसँग फेसबुकमार्फत चिनजान गरेको र सम्बन्ध बढाएको प्रहरीले जनाएको छ । त्यसपछि काठमाडौंको ठमेलस्थित एक होटलमा बोलाएर खाजा तथा मादक पदार्थ सेवन गराएको र अचेत अवस्थामा पीडितको अश्लील फोटो र भिडिओ बनाएको प्रहरी अनुसन्धानमा खुलेको छ ।

त्यसपछि ती फोटो र भिडिओ प्रयोग गरेर ब्ल्याकमेल गर्न थालेका थिए । सुरुमा उनीहरुले ‘काठमाडौंमा घर तथा ४ आना जग्गा दिनुपर्छ नत्र यौन शोषणको मुद्दा लगाइदिन्छु’ भनेर धम्की दिन थालेको प्रहरीले जनाएको छ ।

त्यसपछि उनीहरूले तत्काल पाँच लाखको चेक काट्न बाध्य पारेर लगेका थिए । यही सूचना प्रहरीले पाएपछि बुधबार काठमाडौंको हनुमानस्थानबाट दुवै जनालाई पक्राउ गरेको जनाएको छ ।

प्रहरीले उनीहरूबाट पीडितले आँचल चौगुठीको नाममा काटिदिएको प्राइम कमर्सियल बैंकको चेक पनि बरामत गरेको छ। जसमा पाँच लाख रुपैयाँ उल्लेख छ । यस्तै दुवैजनाको मोबाइल पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया