सांसद गौतमद्वारा स्वास्थ्यलाई शान्ति र न्यायको आधारशीला बनाउन विश्वव्यापी आह्वान

काठमाडौं । प्रतिनिधिसभाकी सांसद सदस्य सोबिता गौतमले स्वास्थ्यलाई शान्ति र न्यायको आधारशीला बनाउन विश्वव्यापी आह्वान गरेकी छन् । जेनेभामा बुधबार आयोजित विश्व स्वास्थ्य संगठन सभाको संसदीय संवाद कार्यक्रममा उनले स्वास्थ्यलाई शान्ति र न्यायको आधारशीला बनाउन दृढताका साथ कानुन निर्माण गरी आवश्यक लगानी गर्नुपर्नेमा जोड दिइन् ।

अन्तर–संसदीय संघ (आइपियू) स्वास्थ्य समितिको सदस्यसमेत रहेकी सांसद गौतमले कानुन निर्माण र आवश्यक लगानीका क्षेत्रमा विश्वभरका सांसदहरूलाई एकजुट भई सहकार्य र समन्वय गर्न आह्वान गरिन् ।

‘दृढताका साथ कानुन बनाऔँ, निर्भयतापूर्वक आवश्यक लगानी गरौँं र स्वास्थ्यलाई शान्ति र न्यायको आधारशीलाका रूपमा संरक्षण गरौंँ’, उनले भनिन्, ‘सांसदहरू अब परिवेक्षक मात्र होइन, हामी उत्तरदायित्वको रक्षा, समताका पक्षधर र दूरगामी विकासका नेतृत्वकर्ता हौँ ।’

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र अन्तर–संसदीय संघ (आइपियू) को सहकार्यमा आयोजित उक्त संवाद कार्यक्रममा उनले हालै पारित भएको डब्लुएचओको महामारी सम्झौताका सन्दर्भमा सांसदहरूको निर्णायक भूमिका रहेको स्पष्ट पारिन् ।

‘यो सम्झौताले महत्त्वपूर्ण कामको सुरुआत गरेको संकेत गर्दछ’, उनले भनिन्, ‘आगामी दिनमा महामारीको सम्भावना भएमा जैविक सामग्री र सम्बन्धित जानकारीको द्रुत, व्यवस्थित र समयमा आदानप्रदान गर्नेदेखि न्यायोचित पहुँच सुनिश्चित गर्न पहुँच र लाभ साझेदारी प्रणालीमा संवाद र वार्ता गर्नुपर्नेछ ।’ त्यसका लागि विश्वव्यापी वित्तीय संयन्त्रमा बहस गर्नुपर्ने उनको भनाइ छ ।

सांसद गौतमले सबै राष्ट्रहरूका संसद्बाट यो अनुमोदन हुनु आवश्यक रहेको बताइन् । उनले दातृ निकायहरूले विदेशी सहायता कटौती गर्ने संकेत दिएकोप्रति चिन्तासमेत व्यक्त गरिन् । ‘नेपाल जस्तो निम्न आय भएका देशमा यसको गम्भीर असर पर्छ, भाइरसले सिमाना चिन्दैन, रोगले वर्ग हेर्दैन, जबसम्म हरेक राष्ट्र सुरक्षित हुँदैन, तबसम्म कुनै पनि राष्ट्र सुरक्षित हुँदैन’, उनले भनिन् ।

सांसद गौतमले संसद् कार्यपालिकालाई जवाफदेही बनाउने मुख्य अंग भएको भन्दै संसद्को सक्रियताबिना कुनै पनि प्रतिबद्धता प्रभावकारी नहुने बताइन् । उनले यस प्रकारको कार्यक्रमले संसद्लाई स्वास्थ्य नीति निर्माणमा औपचारिक स्थान दिन थालेको महसुस भएको धारणा व्यक्त गरिन् ।

प्रतिक्रिया