ओखलढुंगा । साइबर अपराध हुन नदिन विद्यार्थीमार्फत समुदायमा चेतना फैलाउन प्रहरीले यहाँका विद्यालयमा साइबर कानुनसम्बन्धी कक्षा सञ्चालन गरेको छ ।
सिद्धिचरण नगरपालिका–११ को जाल्पा माध्यमिक विद्यालयका कक्षा ९ देखि १२ सम्मका विद्यार्थीलाई कक्षा लिएर सुरु भएको साइबर अपराध न्यूनीकरणबारे सचेतना कार्यक्रम ओखलढुंगाका सबै पालिकाका विद्यालयमा सञ्चालन हुने जिल्लाका प्रहरी प्रमुख मदन केसीले बताए । बढ्दो इनटरनेटको पहुँच र सामाजिक सञ्जालको जथाभावी प्रयोगले साइबर अपराध बढ्दो छ । यसमा युवापुस्ता नजानेरै फस्ने क्रम बढेको सन्दर्भमा उनीहरूलाई सचेत गराउन विशेष भूमिका खेल्न सक्ने बताइएको छ ।
जाल्पा माध्यमिक विद्यालयका शिक्षक बेचन अधिकारीले अभियानबाट विद्यार्थीमा चेतना अभिवृद्धि हुनुका साथै समाजमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरे । यस्ता गतिविधिले ‘प्रहरी मेरो साथी’ भनाइलाई यस्ता अभियानले सार्थक बनाउने उनको भनाइ छ ।
यसैबीच, जिल्लाका दुर्गम क्षेत्रका विद्यालयमा पनि यस्तै कक्षा सञ्चालन हुनुपर्नेमा स्थानीयले जोड दिएका छन् । यसअघि पनि जिल्ला प्रहरी कार्यालयले जिल्लाका विभिन्न विद्यालयमा बालविवाह र लागुऔषधविरुद्ध कार्यक्रम सञ्चालन गरेको थियो ।
प्रतिक्रिया