काठमाडौँ । राष्ट्रिय सभाका सांसद रेणु चन्दले हुम्लाको लिमी उपत्यकामा गएको पहिरोका बारेमा सरकार बेखबर भएको टिप्पणी गर्दै सो पहिरोबाट विस्थापित भएका नागरिकको यथाशीघ्र सुरक्षित स्थानमा पुनःस्थापना गर्न माग गरेकी छन् ।
बुधबारको बैठकको विशेष समयमा बोल्दै उनले पीडित जनतालाई तत्काल राहत उपलब्ध गराउन र सुरक्षित स्थानमा बसोबासको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराइन् । ‘हुम्लाको नाम्खा गाउँपालिका–६ स्थित तिलगाउँमा हिमपहिरोले सिंगो बस्ती जोखिममा छ, १८ परिवार घर छाडेर पालमुनि बसेका छन्, सरकार अहिलेसम्म पुगेको छैन । सरकारको उपस्थिति र राहत प्राप्त गर्नलाई काठमाडौँमै बाढीपहिरो आउनुपर्ने हो ?’, उनको प्रश्न थियो ।
सांसद चन्दले विपद् व्यवस्थापनको कार्यक्रम, पूर्वतयारी तथा बजेटलगायत बारेमा सदनलाई जानकारी गराउन मागसमेत गरिन् । मनसुन आउन लागेकाले समयमै विपद् पूर्वतयारीमा ध्यान दिन उनको सुझाव छ ।
सांसद भगवती न्यौपानेले यही जेठ पहिलो साता राजधानीमा आयोजित सगरमाथा संवादबाट नेपालले अन्तर्राष्ट्रियस्तरमा आफ्नो छवि उँचो बनाएको जनाउँदै आगामी दिनमा पनि यसखालका संवादलाई निरन्तरता दिनुपर्नेमा जोड दिइन् ।
सांसद पूजा चौधरीले वैदेशिक रोजगारीबाट फर्केका युवालाई उद्यमशील बनाउन उचित वातावरण बनाउनुपर्नेमा जोड दिइन् । हुलाकी राजमार्गमा अलपत्र परेको पुलको निर्माण र बाढी पहिरोले क्षतिग्रस्त भौतिक पूर्वाधार निर्माण गर्न उनको सुझाव थियो ।
सांसद गंगाकुमारी बेल्वासेले राष्ट्रिय अर्थतन्त्रको सबलीकरणका लागि कृषि र पर्यटनमा उच्च प्राथमिकता दिन आग्रह गर्दै गाँजा खेतीलाई प्रवद्र्धन गर्न सरकारलाई सुझाव दिइन् । सांसद विष्णुदेवी पुडासैनीले स्वास्थ्य, शिक्षालगायत मौलिक हकको सुनिश्चितता गर्न सरकारको ध्यानाकर्षण गराइन् ।
प्रतिक्रिया