काठमाडौँ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले आइतबार सम्पन्न ११औँ वार्षिक साधारणसभामा ११ बुँदे घोषणापत्र सार्वजनिक गरेको छ । जसलाई वार्षिक कार्ययोजनाको महत्वपूर्ण अंगका रूपमा कार्यान्वयन गरिने निर्णय महासंघको छ । निर्देशिका अभाव, त्रुटिपूर्ण गुणस्तर मापन, आयात–निर्यातको अव्यवस्था, तथा मनी लाउन्डरिङ कानुनको व्यावहारिकताको अभावजस्ता विषय घोषणापत्रमा उठाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो ।
सो अवसरमा सुनचाँदी तथा आभूषण व्यवसायमा आवश्यक पर्ने कानुनी तथा नीतिगत आधार समेटिएको ‘आभूषण व्यवसायमा कानुनी व्यवस्था’ नामक पुस्तकको प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरूको संयुक्त रूपमा लोकार्पण गरिएको थियो । कार्यक्रममा महासंघका सल्लाहकार, विज्ञ तथा देशभरिबाट आएका व्यवसायी प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
घोषणापत्रमार्फत निर्देशिकाको अभावमा गरगहना व्यवसाय थप अन्योलग्रस्त बन्दै गएकोले ‘सुनचाँदी, गरगहनाको उत्पादन, कारोबार तथा नियमन मापदण्ड सहितको निर्देशिका’ अविलम्ब जारी गर्न नेपाल सरकार समक्ष पुनः जोडदार आग्रह गसरिएको छ । त्यस्तै, आन्तरिक एवं अन्तर्राष्ट्रिय बजारमा स्वच्छ प्रतिस्पर्धात्मक वातावरणको विकास गर्नका लागि प्रतिस्पर्धा ऐनको प्रभावकारी कार्यान्वयन र उपभोक्ता संरक्षण ऐनमा समसामयिक सुधार गर्न माग गरिएको छ ।
महासंघले नेपालको भूगर्भमा रहेका रत्न तथा पत्थरहरूको उत्खनन् र प्रशोधन क्षेत्रमा लगानी प्रवद्र्धन गर्न सरकार र महासंघको संयुक्त पहलमा कार्ययोजना बनाई लागू गर्न नेपाल सरकारसमक्ष आग्रह गरेको छ । त्यस्तै, सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ मा अव्यावहारिक कानुनी व्यवस्थालाई संशोधन प्रस्ताव गरी संशोधनको पहल गर्न सरकारसँग अनुरोध गरेको छ ।
प्रतिक्रिया