यी नेताहरूको विकल्प तपाईँ–हामी नै हौँ

प्रधानमन्त्री केपी ओलीलाई धेरै युवाले आइ लब यु भन्ने गरेका छन् । उनी बुढा भएर पनि, तानाशाही भएर पनि आफ्ना पार्टीमा प्रिय छन् । युवाले मात्र होइन, युवतीहरूले, अझ अरूका श्रीमतीहरू समेत उनलाई आइ लब यु भन्न उत्सुक हुन्छन् । उमेरले म जेठो हुँला, तर म चै खुश्बु ओलीजस्ता युवालाई आइ लब यु भन्न रुचाउँछु । जबकी अबको दुनियाँलाई युवाले मात्र बुझ्न सक्छन् । नयाँपुस्ताको भविष्य काँधमा बोकेर सुनौलो सपना देखाउने तपाईंहरू अग्रगतिशील क्रान्तिकारी युवा नै हो । बुढाहरूले गरेका अपराधहरूको सजाय अब युवाले दिनुपर्छ । त्यसैले खुश्बु लगायतका युवाहरूलाई आय लब यु !

माक्र्सले भनेजस्तै हरेक कम्युनिस्टहरू यथास्थितिको आलोचक हुनुपर्दछ, उनीहरूमा विद्रोहको चेतना हुनुपर्छ । खुश्बु ओलीहरूमा यथास्थितिप्रति आलोचना छ, विद्रोहको चेतना छ, अनि मैदानमा छाती थाप्न सक्ने आँट पनि छ, जनताका पीडाहरू प्रस्तुति गर्नसक्ने नेतृत्वकला पनि छ । त्यसैले खासमा तपाईं खुश्बुहरू नै सच्चा माक्र्सवादी कम्युनिस्ट हुनुहुन्छ । तर जो कम्युनिस्ट बनेर कमाइरहेका–जमाइरहेका छन् ती खासमा कम्युनिस्ट नभएर जसरी पनि कमाउनमा मात्र निष्ठा बोकेका कमाउनिस्टहरू हुन् । ती कमाउनिस्टहरूको जालझेलमा जनता बाँधिएका छन्, तिनकै बन्धनमा देश छ । त्यसलाई तोड्न तपाईंजस्ता युवाले जुन आँट गर्दै हुनुहुन्छ त्यसका लागि व्यक्तिगतरूपमा मेरो आइ लब यु छ ।

तपाईंमा महिला उत्पीडन, युवा र समाजको बेथितिका विषयमा स्पष्ट धारणा रहेछ, यसले पनि तपाईंको व्यक्तित्वले जननेताको छनक दिन्छ । तर ओलीज्यू, यो युग लोकतन्त्रको युग हो, समावेशी युग हो । विभिन्न सांस्कृतिक पहिचानहरूको पनि युग हो । किनकी तपाईंहरूका राजाका पितापुर्खाले भनेजस्तै यो ४ वर्ण ३६ जातिको फूलबारी हो । यो फूलबारीमा सबैको समान हक स्थापित हुनैपर्छ । हो, तपाईंहरूमा देशको चिन्ता छ । वर्तमान नेताहरूप्रति आक्रोश छ । देशको बेथितिप्रति पीडा छ ।

एउटा राजाको स्थानमा सयौँ राजाहरू यत्रतत्र देख्दा तिनीहरूलाई भोग्दा, तिनीहरूको रवैया देख्दा हामी सबैलाई भाउन्न छुट्छ । हामीलाई पनि यही देशको चिन्ता छ, देशको माऊ नीति राजनीतिलाई नै नकचरो बनाइरहेका यी निर्लज्ज नेताहरूदेखि वाक्कदिक्क लागेको छ । तर यी नेताहरूको विकल्प तपार्इंहरूले भनेजस्तो राजा होइन, तपाईंले माग गरेजस्तो हिन्दुधर्म पनि होइन । तपार्इंले भनेजस्तो व्यवस्था त हुँदै होइन । लोकतन्त्रको विकल्प लोकतन्त्रै हो, उन्नत लोकतन्त्र, जनसापेक्ष लोकतन्त्र । केपी, देउवा, प्रचण्डका विकल्प ज्ञानेन्द्र शाह हुन सक्दैनन् । यी नेताहरूको विकल्प तपाईं–हामीहरू नै हो । विभिन्न जाति, समुदाय तथा धर्मसप्रदाय र पहिचानहरूको विकल्प हिन्दुधर्म पनि होइन ।

यतिवेला कम्युनिस्टहरूको भ्रमपूर्ण चरित्र र कांग्रेसको लुटको व्यवहारबाट मुलुकलाई जोगाउने र उन्नत मुलुकहरूको प्रतिस्पर्धामा यो देशलाई उठाउने दायित्व युवा पुस्ताकै हो । तर भ्रष्टाचार, बेथिति र लुटतन्त्रका विरुद्ध लागिरहँदा तपाईंहरू हिजोका तिनै खुइलिएका तानाशाह, लुटेरा र अपराधीहरूका काँधमा बन्दुक बोकेर नयाँ विकल्प खोजिरहनुभएको छ । त्यो सही राजनीतिक बाटो र वैज्ञानिक विचार कदापि होइन । केही उदण्ड प्रवृत्ति र प्रकृतिका युवाहरूको झुन्ड बोकेर राजतन्त्रलाई पुनस्र्थापित गर्ने र हिन्दु अधिनस्थ राज्य स्थापनाको जुन नेतृत्व गर्दै हुनुहुन्छ, ती सवै ब्यर्थ र तपाईंहरूमा भएको देश बदल्ने ऊर्जा खेर जाने प्रयास मात्र हुन् । जबकी तपाईंहरूले फर्काउने भनेको राजामा पुनः राजा हुने न आँट छ, न देश चलाउने क्षमता, न त विश्व परिवेशअनुसार जनचाहनालाई सम्वोधन गर्ने कला छ । अतः दुर्गन्धित भएर बाहिरिएका ज्ञानेन्द्र शाहजस्तै देशमा खुश्बु फैलाउने तपाईंको नाम अनुसारको काम बदनाम हुने मात्र हो ।

ज्ञानेन्द्र शाह, जो शाहकालीन इतिहासकै कलंकित पात्र हुन् । पद्यकन्या कलेजका विद्यार्थी अपहरणदेखि नमिता–सुमिता काण्ड, मूर्तिचोरी, दरबार हत्याकाण्डको नेतृत्व गरेको उनको तितोपिरो इतिहास साक्षी छ । अझ दरबार हत्याकाण्ड भएपछि एउटा हिन्दु गुरुपुरोहितले १२ पापको बदला १२ बजे राती बाह्रै मानवभोग दिनुपर्ने सल्लाह दिएअनुसार नगरकोटको कालिदेवी मन्दिरमा २०६२ मंसिर २८ गते रातको १२ बजे १ सेनासहित १२ जना सिधासाधा जनजातिको हत्याको खातासमेत तत्कालीन दरबारकै नाममा चढेको छ । मुलुकमा कसैले व्यक्तिगत लगानीमा उद्योग सुरु गर्दा ५० प्रतिशत विनालगानी उनलाई सेयर दिनैपर्ने दरबारिया शोषण त धेरै व्यवसायीहरूले भोगिरहेका छन् । त्यहीबेलादेखि नै यहाँ भारतबाट काला धनहरू भित्रिएर ठुल्ठुला कम्पनीहरू आए । यहीँबाट हाम्रो अर्थतन्त्र बिग्रिन सुरु भएको हो ।

२०५८ जेठ १९ गते शाहवंशीय विरासत मासिने गरी नरसंहार भयो । सबै दाजुभाइ, दिदीबहिनी, ज्वाईंचेलाहरू एकैठाउँमा बसेर गुडफ्राइडे मनाइरहँदा दाजुभाइका खलक सबै समाप्त हुने, अनि ज्ञानेन्द्र खलकको चैँ रौँ पनि नहल्लने भन्ने हुन्छ ? त्यसपछि पनि बचेखुचेकी धीरेन्द्रकी श्रीमती रारातालको सतहमा तैरिनु, त्यो भित्रका सवारहरू चैँ बेपत्ता हुनु कुनै पनि विज्ञानविधिसँग मिल्दैन । वस्तुविज्ञानको नियमअनुसार ठोस वस्तु पानीको तल जान्छ, अक्सिजन सकिएपछि मानव शरीरहरू पानीमाथि आउँछन् प्रिय ओलीज्यू ! यसो त कि दैवीशक्ति जागेको वा गोरखाका गुरु गोरखनाथ नै आएर विज्ञानले बनाएको बन्दुक चलाएको हुनुपर्छ । जुुन कदापि सम्भव छैन ।

अब विकासको कुरा गरौँ । शाहवंशीय राजतन्त्र भनेको तपाईं–हामीजस्ता सर्वसाधारणलाई गधाजस्तो भारी बोकाएर, गोरुजस्तो जोताएर उत्पादनहरू भएका सबै अन्नधनहरू खाने छोटा सामन्तदेखि बढाबढा सामन्तहरूको महासंघ थियो । मोज, भोज, ऐसआराम र भक्ति तिनीहरूको जीवनशैली थियो, नागरिकहरूको रित्तो भाँडा, नांगा शरीर, पसिनासँग उनीहरूको कुनै समवेदना थिएन । सँगसँगै स्वतन्त्र भएको भारतका कुनाकुनामा रेल पुगिसक्दा नेपालका केही सहरबाहेक कतै मोटरबाटो पुगेकै थिएन । ओलीहरूकै झापा जिल्लाको महेन्द्र राजमार्ग भित्रका धेरै पालिकाहरूमा खेतको आलीआली हिँडेर पुग्नुपर्दथ्यो ।

वीर, टिचिङ लगायतका केही बाहेक कहाँ थिए हस्पिटल ? एउटा सिटामोल किन्न ४ दिन दौडेर ल्याउनुपर्ने अवस्था थियो । अनि दरबारियाहरू पशुपतिनाथले कल्याण गरुन् भन्दै विदेशमा उपचार गर्न जान्थे, हामी नागरिकलाई भने ढ्यांग्रो ठोकेर, भाले पूजा गरेर उपचार खोज्नुपर्ने अवस्था थियो । पहाडमा मानिसलाई नुन–चामल खान कि तराई झर्नुपर्दथ्यो कि त ७ दिन ७ रात नांगा खुट्टा ढाकरेहरू र घोडाखच्चरमा बोकाएर मधेसबाट ढुवानी गराउनु पर्दथ्यो ।

तपाईंहरूका बाबुबाजेहरू समेत नुन–चामल खानैका लागि पहाडबाट झापा झरेका हुन् । तर आज कतै देख्नुभएको छ ती ढाकरेहरू ? कतै देख्नुभएको छ नुनचामल बोकेर उकालो चढ्दै गरेका घोडाखच्चहरू ? कुन पालिकामा आज मोटर पुगेको छैन ? आज उच्चशिक्षा अध्ययन गर्न सहर धाउन पर्दैन । केही अपवादवाहेक कसैले भोकै मर्नुपर्ने अवस्था छैन । घरघरैमा बोर्डिङ स्कुलको पहुँच छ । औषतरूपमा एउटा पालिकामा २ वटा महाविद्यालयहरू छन्, १४ वटा त विश्वविद्यालयहरू छन् । ती ढाकरे र घोडाखच्चर डोहो¥याउेहरूका छोराछोरीहरूले आज आइफोन र पल्सर लिएर गाउँदेखि सहरसम्म र हवाईजहाजमा देशविदेशसम्म सयर गर्ने मौका पाएका छन् ।

तपाईं–हामी शासकहरूका विरुद्ध खुलेआम बोल्न सक्छौँ, व्यवस्थाका विरुद्ध सडकमा उभिएर औँला ठड्याउन सक्छौँ । दरबारिया पहुँचका महिलाहरू बाहेक कसैले राजनीति गर्न नचिताए पनि हुन्थ्यो, महिलाहरू घरभित्रका सजावटका वस्तु वा कुनै ठोस सम्पत्तिको रूपमा मात्र लिइन्थ्यो । तर खुश्बु ओलीजस्ता होनहार महिलाहरू, पाए सत्ता सञ्चालन गरेर देखाउने हैसियतमा स्थापित हुनु हुँदै छ । यी सबै लोकतन्त्रकै उपलब्धिहरू हुन् । हो, यही लोकतन्त्रलाई बृहत् जनताको अपेक्षाअनुसार अझ सुदृढ बनाउने हो । विश्वपरिवेशमा समावेशी र प्रत्यक्ष डेमोक्रेसी भन्ने बहस चलेको छ ।

त्यसैअनुसार हामीले पनि लोकतन्त्र भित्रै सबै कुरा खोज्ने हो । जनतालाई जागरुक बनाउँदै भ्रष्ट, दलाल र लोकतन्त्रको नाममा तर मारिरहेकाहरूको विकल्प दिने हो । बदलाव आउनलाई केही समय लाग्छ । अतः फेरी अपराधै–अपराध बोकेको त्यो राजतन्त्र होइन, यत्रा जातजातिमाथि अधिपत्य जमाउने हिन्दूधर्म पनि होइन, यही ब्यवस्था र धर्मनिरपेक्षता भित्रै प्राप्त उपलब्धिहरूको रक्षा गर्दै नयाँ उपलब्धिहरू स्थापना गर्ने हो । त्यसको नेतृत्व तपाईं–हामीले गर्ने हो । यसो हुँदा मात्र अबको नेपाली दुनियाले तपाईंहरूजस्ता युवालाई आइ लब यु ! भन्ने छन् ।

प्रतिक्रिया