प्रधानमन्त्री ओली र जापानकी उपपरराष्ट्रमन्त्री इक्युनाको भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सगरमाथा संवादमा सहभागी हुने सिलसिलामा यहाँ रहेकी जापानकी उपपरराष्ट्रमन्त्री इक्युना आकिकोले आज शिष्टाचार भेटवार्ता गरेकी छन् ।

प्रधाननमन्त्री निवास, बालुवाटारमा आज शनिबार भएको भेटवार्तामा प्रधानमन्त्री ओलीले नेपाल र जापानबीच सुमधुर सम्बन्ध रहेको चर्चा गरे । उनले वर्तमानमा जलवायु परिवर्तनका कारण उत्पन्न समस्या सबैको चासोको विषय भएको बताउँदै सगरमाथा संवाद आयोजना गरिएको उल्लेख गरे ।

संवादमा जापान सरकारको नेतृत्व गरेर सहभागी भएकोमा उपमन्त्री इक्युनालाई धन्यवाद दिए । प्रधानमन्त्री ओलीले अनुकूल पूर्वाधार निर्माण, वातावरणीय दिगोपना र विपद् जोखिम न्यूनीकरणमा जापानी अनुभव नेपालका लागि उपयोगी हुने बताए ।

उपमन्त्री इक्युनाले आर्थिक विकास, शिक्षा, मानव संशाधन विकास र वातावरण एवं संस्कृति संरक्षणमा जापानका तर्फबाट सहयोग निरन्तर रहने बताइन् । त्यस अवसरमा नेपालका लागि जापानका राजदूत माइदा तोरु तथा परराष्ट्र मन्त्रालयका अधिकारीलगायत सहभागी थिए ।

प्रतिक्रिया