नेपालको राजनीतिमा पृथक परिचय जननेता मदन भण्डारीको आयामलाई लिन सकिन्छ । कम्युनिस्ट आन्दोलनलाई नयाँ दिशाबोध दिने जनताको बहुदलीय जनवादका प्रणेताका रूपमा राजनीतिक वृत्तमा मदन भण्डारी परिचित नाम हो । कम्युनिस्ट आन्दोलन र त्यसका सैद्धान्तिक पाटाका समचीनि विश्लेषक र सिद्धान्तकार नेता भण्डारी हुनुहुन्थ्यो । भण्डारी कुशल संगठक, सिद्धान्तनिष्ठ र व्यावहारिक नेताका रूपमा लौकिक जीवनकालमा परिचित हुनुभयो । उहाँको असामयिक, स्तव्धकारी र अकल्पनीय निधनले तात्कालिक नेपालको राजनीतिमा अपुरणीय क्षति पुर्यायो ।
मदन भण्डारीको जन्म पिता देविप्रसाद भण्डारी र माता चन्द्रकुमारी भण्डारीको माइलो पुत्रका रूपमा २००९ असार १४ मा ताप्लेजुङको ढुंगेसाँघुमा भएको थियो । २०१५ सालमा गाउँको स्थानीय हिउँदे पाठशालाबाट औपचारिक शिक्षा आरम्भ गर्नुभएका जननेता भण्डारी सानैदेखि तीष्ण बुद्धिका हुनुहुन्थ्यो । राजनीति र सामाजिक रूपान्तरणमा गहिरो रुचि रहेका जननेता भण्डारी कम्युनिस्ट चरित्र र माक्र्सवादको द्वन्द्वात्मक भौतिकवादी विचारबाट निकै प्रभावित भई तात्कालिक नेकपा मालेका उच्च नेताका रूपमा स्थापित हुनुभयो ।
जनआन्दोलन २०४६ सालमा बाममोर्चाबाट सक्रिय जननेता भण्डारी बहुदलीय व्यवस्थाको पुनस्र्थापनापश्चात तात्कालिक नेकपा माले र मनमोहन अधिकारीको नेतृत्वको नेकपा माक्र्सवादीको एकता पश्चात गठन भएको नेकपा एमालेको शक्तिशाली महासचिव हुनुभयो । लेनिनद्वारा स्थापित पहिलो माक्र्सवादी सिद्धान्तमा आधारित सोभियत कम्युनिस्ट व्यवस्था असफल भएपछिको कम्युनिस्ट आन्दोलनको रक्षात्मक अवस्थामा नेपालमा कम्युनिस्ट आन्दोलनको सिर्जनात्मक प्रयोगधर्मी र समकालिक विचारक जननेता भण्डारी हुनुभयो । मदन भण्डारीले जनताको बहुदलीय जनवादको आधारशीलामा बहुलवादी राजनीतिक प्रतिस्पर्धाका राजनीतिक र सैद्धान्तिक वैचारिक मान्यता स्थापित गर्नुभयो ।
प्रजातन्त्र पुनस्र्थापनाका लागि भएको जनआन्दोलन २०४६ पश्चात बहुदलीय शासन व्यवस्थाको स्थापना भयो । नेपाल अधिराज्यको संविधान २०४७ नेपाली जनताले प्राप्त गरेपश्चात सम्पन्न भएको व्यवस्थापिका संसद्को पहिलो निर्वाचनमा विजयी भई संसद् सदस्यका रूपमा जननेता भण्डारीको संसदीय अभ्यासमा शालीन, गर्विलो र ओजश्वी उपस्थितिले नेपालको संसदीय परम्परामा छुट्टै छाप छोडेको छ । खरिलो कम्युनिस्ट नेता भएर पनि संसदीय अभ्यास र परम्परामा प्रमुख विपक्षी दलको समन्वयकारी नेताका रूपमा उदाहरणीय रहन सक्नु आफैँमा महत्वको थियो । र वैचारिक मान्यतालाई संसदीय बहसका पाटामा निकै तार्किक तथा वस्तुपरकरूपमा जनताका आवाजलाई मुखरित गर्ने मान्यतालाई उहाँले स्थापित गर्नुभयो ।
उहाँले लौकिक जीवनको असामयिक मृत्युवरण अघिका २ वर्ष संसद् सदस्य हुनुबाहेक अरू सार्वजनिक पद लिनुभएन । जसका कारण उहाँलाई बाहिरी दुनियाँले कमै चिनेको सन्दर्भमा सन् १९९१ मा विश्व प्रसिद्ध अमेरिकी पत्रिका न्युजविकले उहाँका विरलै आउने अन्तर्वार्ता मध्येमा त्यो पत्रिकामा उहाँको अन्तर्वार्ता प्रकाशित भयो । जसले मदन भण्डारीका विचार, माक्र्सवादको सामयिक प्रयोग, नेपालको कम्युनिस्ट आन्दोलनका विविध आयाममा उहाँका सारपूर्ण विचार सम्प्रेषित भयो । त्यो ऐतिहासिक अन्तर्वार्ताको शीर्षक ‘नेपालमा कार्ल माक्र्स बस्नुहुन्छ’ भन्ने शीर्षकमा सम्प्रेषण भएको थियो । निधनको केही समयअघि भारतको कोलकातामा सन् १९९३ मा सम्पन्न भएको विश्वका २४ देशका कम्युनिस्ट पार्टीको कंग्रेसमा भण्डारीको माक्र्सवादी चिन्तन र दृष्टिकोण सम्बन्धमा सारपूर्ण कार्यपत्र प्रस्तुत भएको थियो । जननेता भण्डारीको विचार २१औँ शताब्दीको कम्युनिस्ट आन्दोलन र माक्र्सवादको सामयिक र व्यावहारिक धरातलमा उभिएको राजनीतिक सिद्धान्त र दर्शनका रूपमा स्थापित भयो । जनताको बहुदलीय जनवाद जसले संक्षिप्तमा जबजका रूपमा आमबुझाइको मान्यता बोकेको छ नेकपा एमालेको राजनीतिक तथा वैचारिक सिद्धान्तका रूपमा पछिल्लो समयमा स्विकार्यतालाई स्थापित गरेको छ ।
उहाँको जनताको बहुदलीय जनवाद (जबज)को विचारलाई नेकपा एमालेको पाँचौँ राष्ट्रिय अधिवेशनले अनुमोदन गरेपश्चात त्यस पार्टीको आधिकारिक वैचारिक तथा सैद्धान्तिक विचारधाराका रूपमा निरन्तर नेकपा एमालेले ग्रहण गरी आएको छ । नेपालको कम्युनिस्ट आन्दोलनमा जबजको विचार एक महत्वपूर्ण सापेक्षक विचार र राजनीतिक सिद्धान्तका रूपमा स्थापित भयो । जबज विचार भूराजनीतिक अवस्था तथा माक्र्सवादको समचीनी व्याख्यात्मकको सार हो । उपयोगका आधारमा माक्र्सवादी सिद्धान्तको आधार सिद्धान्तसमेत रहन सक्यो । माक्र्सवादी विचार गत्यात्मक र गतिशील विचार हो ।
वर्गीय विश्लेषणका द्वन्द्वात्मक मान्यता र निरन्तरको गतिशीलता नै माक्र्सवाद हो । होइन भने त्यो निकै हदसम्म जडशूत्रवादको प्रतिछाया मात्र रहन्छ । गतिशीलता र समग्र परिवर्तनका आयामलाई वैज्ञानिक विचारले राजनीतिक नीति र सिद्धान्तमा रूपान्तरण गर्नु नै माक्र्सवादी वैचारिक धरातल हो । यस मानेमा मदन भण्डारीको जबजले निकैहदसम्म न्याय गरेको छ । २०४६ सालको ऐतिहासिक जनआन्दोलनका अघिपछिका राजनीतिक घटनाका विकासक्रमसँगै संयुक्त जनआन्दोलनका सफलतापश्चात नेपालमा ३० वर्षीय निरंकुश पञ्चायती व्यवस्थाको अवसान र खुल्ला राजनीतिक परिवेशमा बहुदलीय व्यवस्थाको पुनस्र्थापनाले नयाँ युगको थालनी भयो ।
तात्कालिक नेकपा मालेबाट नेकपा एमाले हुँदै दलीय राजनीतिको अभ्यासले निखारिन माथा पच्चिसी गरिरहेको नेकपा एमालेका महासचिवजस्तो प्रभावशाली नेतृत्व संहालेका जननेता भण्डारीले कम्युनिस्ट विचारको वैचारिक धरातलमा पृथक राजनीतिक विचार जबजलाई नेकपा एमालेको विचार र मार्गदर्शका सिद्धान्तका रूपमा अघि सार्नुभयो । कम्युनिस्ट आन्दोलनको वैचारिक आयामको प्रायोगिकतालाई हालको नेकपा एमाले र एमालेबाट विभाजित नेकपा एकीकृत समाजवादीले पनि वैचारिक तथा सैद्धान्तिक आधारशीलाका बिउपुँजीका रूपमा लिई आएका छन् ।
चितवनको दासढुंगामा २०५० जेठ ३ मा जननेता भण्डारी तथा अर्का प्रभावशाली नेता जीवराज आश्रितको अकल्पनीय निधनले सिंगो मुलुक शोकविह्वल तथा स्तब्ध रह्यो । राजनीतिक वृत्त, मिडिया र जनमानसमा त्यो स्तब्धकारी घटनालाई कारुणिक परिदृष्यको दुर्घटनाका रूपमा लिइयो । त्यो क्षति सिंगो मुलुक र नेकपा एमाले पार्टी र कम्यनिुस्ट आन्दोलनका लागि थियो । अकल्पनीय निधनको घटना कसैका लागि पनि सहज थिएन । नेपाली राजनीतिको एक नायकको इहलीला समाप्त भयो तर उहाँका विचार, कम्युनिस्ट सिद्धान्त तथा मूल्यको वैचारिक राजनीतिका पाटामा चीरस्थायी रहला नै ।
विश्व कम्युनिष्ट आन्दोलनमा उहाँद्वारा प्रतिपादित जनताको बहुदलीय जनवादले फरक पहिचानसहित नयाँ उचाइ प्राप्त गर्यो । जनताको बहुदलीय जनवादको प्रतिपादकका रूपमा नेपाली जनता र विश्व कम्युनिस्ट आन्दोलनको क्षेत्रमा जननेता भण्डारी चीरस्मरणीय रहनु हुनेछ । माक्र्सवादी विचारको नवीनतम प्रयोग विचार र मूल्य, जनसंगठन र जनताका प्रतिनिधिमूलक संस्थाका माध्यमबाट अघि बढाउने मान्यताको प्रयोग उहाँले गर्नुभयो । त्यो माक्र्सवादको वैज्ञानिकता र गतिशीलताको अभ्यासको निरन्तरता थियो । माक्र्सवादलाई गतिशील तथा समयानुकूल प्रयोगको आयामका रूपमा जबजको सिद्धान्त रहन सक्यो ।
जनताको बहुदलीय जनवाद बहुलवाद र बहु विचारको पृष्ठभूमिमा अन्य विचार र सिद्धान्तलाई पनि प्रतिस्पर्धाको खुला राजनीतिमा बोध र स्वीकार्यता गरियो । २०४६ सालको ऐतिहासिक जनआन्दोलनपश्चात पुनस्र्थापित बहुदलीय व्यवस्था र संविधानमा व्यवस्था भएको जनताको प्रतिनिधिमूलक संस्था व्यवस्थापिका संसद् तथा तल्लोतहका स्थानीय निकायको प्रत्यक्ष निर्वाचनमा नेकपा एमाले सहभागी भयो । जबजको वैचारिक धरातलमा प्रतिस्पर्धात्मक निर्वाचनमा भाग लियो । जनताका निर्वाचित संस्थाका माध्यमबाट शासन र विकासमा सहभागिताको स्वस्थ अभ्यास तात्कालिक नेकपा एमालेले गर्यो । प्रतिनिधिसभा र स्थानीय निर्वाचनमा एमाले मुलुकको दोस्रो ठुलो दल राजनीतिको प्रमुख शक्तिका रूपमा स्थापित हुनसक्यो । उहाँको विचार र सिद्धान्तको जन स्वीकृतिका रूपमा लिन सकिन्छ ।
जननेता भण्डारी वैचारिक सिद्धान्तकार हुनुहुन्थ्यो नै । ‘सिद्धान्तका लागि जीवन होइन, जीवनका लागि सिद्धान्त हुनुपर्दछ’ भन्ने उहाँको मान्यता थियो । साथै ‘अनुशासनविनाको स्वतन्त्रता स्वेच्छाचारी हुन्छ र स्वतन्त्रताविनाको अनुशासन निरंकुशतन्त्र हुन्छ’ भन्ने मान्यतालाई उहाँले जोडदार रूपमा पैरबी गर्नुभयो । क्रान्ति यथास्थितिको मात्रात्मक विकल्प होइन त्यो गुणात्मकक पद्धती र राज्य सञ्चालनको उत्कृष्ट अभ्यास हुनुपर्छ भन्ने मान्यता स्थापित गर्नुभयो ।
उहाँमा मास पोलिटिकल लिडरको गुण पनि कम थिएन । बहुदलीय व्यवस्थाको पुनस्र्थापना पछिको पहिलो व्यवस्थापिका संसद्को निर्वाचनका दौरानमा जननेता भण्डारीको मास पोलिटिकल लिडरको क्षमता आमनेपाली जनताले देखेकै हुन्, अनुभव गरेकै हुन् । समकालिक राजनीतिक वृत्तमा कुशल र प्रखरवक्ताको छवि वनाउन सक्नुभयो । कुशल संगठक भएरं पञ्चायती निर्दलीय (एक दलीय) व्यवस्थाको प्रतिकूल परिस्थितिमा पार्टी संगठन चलायमान गर्ने चुनौती थिए । राजनीतिक आयाम र परिस्थितिको मिहीन विश्लेषण क्षमताले तात्कालिक नेकपा माले र नेपाल कम्युनिस्ट पार्टी (माक्र्सवादी) बीच कम्युनिस्ट पार्टी एकीकरण सम्भव भयो । साथै एकीकृत पार्टी नेकपा एमालेको महासचिवको महत्वपूर्ण जिम्मेवारी मदन भण्डारीले कुशलतापूर्वक निर्वाह गर्नुभयो ।
जननेता भण्डारी समाजवादी आन्दोलनलाई नयाँ शिराबाट व्याख्या र विश्लेषण गर्ने कुशल भाष्यकारका रूपमा लिन सकिन्छ । विशेषतः पश्चिमा विश्वमा आएको उदारवाद तथा खुल्ला राजनीतिक प्रतिस्पर्धामा कम्युनिस्ट दर्शनको समाजवादी विचारलाई कसरी स्थापित गर्न सकिन्छ र तात्कालिक पूर्वी युरोपलगायत सोभियत संघको विघटन र अवसानपछि विश्व कम्युनिस्ट आन्दोलन नै अवसानको दुर्गतिबाट रोेक्नका लागि यो जबज विचार सञ्जीवनी भयो । पुनर्जागरणको टड्कारो प्रतिछायामा नविन वैचारिक सोपान जनताको बहुदलीय जनवाद थियो ।
जबजको प्रयोग र व्याख्याको व्यवहारिकता पुष्टि गर्न जननेता भण्डारी सफल हुनुभयो ।
कम्युनिस्टका प्रगतीशील अभियन्ताभन्दा कन्जुस्याईं नरहला । विचार स्वीकृत र अस्वीकृतका पाटा रहलान् । जनताको बहुदलीय जनवादको विचार नेपाली कम्युनिस्ट आन्दोलनमा अभ्यास र प्रयोगमा जीवन्त रहने प्रयास गर्ला । माक्र्सवादी चिन्तनले गतिशीलता र द्वन्द्वात्मकतालाई समेट्छ । विचार र सिद्धान्तको द्वन्द्वात्मकता, वर्गीय पहिचान माक्र्सवादको आधार हो । माक्र्सवादको प्रायोगिकताको धरातलमा जनताको बहुदलीय जनवादको व्याख्या र प्रयोग हुनुमा कसैको दुईमत नरहला । हिजो कार्ल माक्र्सले पनि हेगेलको द्वन्द्ववाद र फायरबाखका भौतिकवादी सिद्धान्त र विचारलाई संम्लेषण गर्दै माक्र्सवादी कम्युनिस्ट सिद्धान्त उजिल्याएका हुन् ।
नेपाली राजनीतिकका एक शिखर व्यक्तित्व मदन भण्डारीको जनताको बहुदलीय जनवादको प्रायोगिकता र माक्र्सवादको सान्दर्भिक उपयोगको आयामेली पाटो रहिरहला । जसले नेपाल र विश्व कम्युनिस्ट आन्दोलनमा स्पष्ट प्रभाव छोडेको छ । साथै नेपाली कम्युनिस्ट आन्दोलनमा जबज अघि बढ्नेमा दीर्घकालीन समचीनी विश्लेषणको पाटो रहला ।
प्रतिक्रिया