अस्पतालमा आएका बिरामीलाई निजी क्लिनिकमा रिफर !

रोकिएन बर्दिबास अस्पतालको विकृति

महोत्तरी । अस्पताल भन्नेबित्तिकै आमनागरिकको भरोसाको केन्द्र हो । तर, त्यही भरोसाको केन्द्रमा नागरिकको स्वास्थ्यमा खेलबाड गर्दै कमाउ धन्दा सञ्चालन हुन्छ भन्ने सुन्दा बिस्तारै भरोसा टुट्दै जान्छ । त्यस्तै भएको छ– महोत्तरीको बर्दिबास नगर अस्पतालमा । यस अस्पतालमा कार्यरत कर्मचारी र चिकित्सकको बद्मासी एकपछि अर्को गर्दै उजागर हुँदै गएका छन् ।

निजी अस्पतालमा महँगो शुल्क तिरेर उपचार गराउन असमर्थ हुँदै सरकारी अस्पताल पुगेका स्थानीयलाई त्यही सरकारी अस्पतालकै कर्मचारी र चिकित्सकले ठगी गरेको पाइएको छ । अस्पताल परिसर बाहिर खुलेका बग्रेल्ती निजी मेडिकल हलबाट मोटो रकम कमिसन आउने भएपछि चिकित्सकहरूले बिरामीलाई बाहिर पठाउने गरेको खुलेको हो ।

सुगरको लक्षण देखिएपछि जाँच गर्न गत २० चैतमा बर्दिबास अस्पताल पुगेका बर्दिबास–८ का कलेश्वर ठाकुरको सुगरको मात्रा बढी देखियो । डा. रीतेश घिमिरेले उनलाई भर्ना भएर उपचार गर्नुपर्ने सुझाए । रोग पालेर बस्नुभन्दा भर्ना भएर उपचार गराउन उनी राजी भए । तर, उनी तब छाँगाबाट खसेझैँ भए, जब उनलाई अस्पतालमा होइन, नजिकै रहेको खुसी मेडिकलमा भर्ना गरेर उपचार गर्ने बताए । डाक्टरले नै भनेपछि उनी भर्ना हुन बाध्य भए ।

उनले एक पटक सोधे पनि– ‘किन बाहिर जाने ?’ भनेर । तर, डा. घिमिरेले ‘भनेको मान्नुस् न’ भनेपछि उनी बाध्य भए । उनी भर्ना भएर बेडमा सुतिरहेका थिए । केही समयपछि उनै डाक्टर पुगेर उनको थप उपचार गरे । यो घटनाले सरकारी अस्पतालप्रति आमनागरिकको विश्वास कसरी गुम्दै छ भन्ने प्रष्ट हुन्छ । ‘पर्याप्त जनशक्ति, प्रयोगशाला सबै हुँदा पनि डा. घिमिरेले निजी मेडिकलमा भर्ना गर्न दबाब दिनुमा बिरामीलाई लुट्ने नीति प्रष्ट छ,’ ठाकुरले भने, ‘तर, के गर्नु बाँच्नका लागि ऋणपान गरेर भए पनि उपचार गर्नैपर्यो ।’

ठाकुरलाई अस्पतालमा निःशुल्क पाइने औषधि लिन जान पनि दिइएन । ‘सबै औषधि खुसी मेडिकलबाटै दिइयो,’ बिरामीका आफन्तले भने, ‘बर्दिबास अस्पताल बिचौलियाको दलदलमा फसेको रहेछ ।’ झन्डै २४ घन्टा खुसी मेडिकलमा भर्ना भएका ठाकुरलाई हेर्न डा. घिमिरे पटक–पटक पुगेको र बर्दिबास अस्पतालको भन्दा राम्रो व्यवहार गरेको बिरामी ठाकुर बताउँछन् । डा. घिमिरेले उक्त मेडिकलको स्लिपमा एनएमसी नं. २२४६५ नम्म्बरको स्टाम्पसहित हस्ताक्षरसमेत गरेको पाइएको छ ।
चिकित्सकले ड्युटी समयभन्दा अन्य समयमा अन्य क्लिनिकमा काम गर्न पाइने भए पनि अस्पतालमा आएको बिरामीलाई उपचार नै नगरी क्लिनिकमा भर्ना गराउनु अपराध भएको बर्दिबास–३ की सविता भण्डारी बताउँछिन् । ‘एक्सरे मेसिन छ, एक्सरे हुँदैन । फार्मेसीमा औषधि छैन भनिन्छ,’ उनले भनिन् ।

डा. घिमिरे त सरकारी अस्पतालको सेवा–सुविधा लिएर अस्पताल कसरी धराशायी बनाइन्छ भन्ने एक प्रतिनिधि पात्र मात्र हुन् । यहाँका हरेक चिकित्सकले अस्पताललाई कमाउने अखडा बनाएको कैयौँ उदाहरण छन् । गत २४ वैशाखमा सुगर जाँचकै लागि अस्पताल पुगेका राजेन्द्रप्रसाद यादव पनि ठगिए । तर, उनलाई भने अस्पतालमै भर्ना गरियो । तर, थप जाँचका लागि भने सोही मेडिकलमा पठाइयो ।

यो घटनामा भने अर्का चिकित्सक डा. आशिष दाहाल जोडिएका छन् । सुगर रिपोर्ट लिएर डा. दाहालकहाँ पुगेपछि थप जाँचका लागि भन्दै लामो लिस्ट थमाइयो र सोही खुसी मेडिकल पठाइयो । बिरामीले अर्कै ठाउँमा गएर जाँच गराउने बताए पनि डाक्टरले आफूले भनेको मान्नैपर्ने बताए । उनीहरूबीच केहीछिन विवाद भयो । डाक्टरले पुर्जामा ‘लामा’ लेखिदिए । लामा भनेको मेडिकल भाषामा चिकित्सकको सल्लाहविरुद्व जानेलाई भनिन्छ । उपचार नै नहुने भएपछि उनी डाक्टरले सुझाएकै मेडिकल गएर ५ हजार तिरेर जाँच रिपोर्ट लिएर आए ।

अस्पतालमा सुगर परीक्षणका लागि मेसिन छ । तर, केमिकल हुँदैन । ‘केमिकल अभाव सिर्जना गरेर मेसिनहरू प्रयोगविहीन बनाइन्छ,’ नाम नखुलाउने सर्तमा अस्पतालकै एक कर्मचारीले भने, ‘हामीलाई त अचम्म लाग्छ, सेवाग्राहीलाई के नलागोस् ।’ यति मात्र होइन, भिटामिन बि१२ को जाँच गराउन सामान्यतयाः ८०० रुपैयाँ लाग्छ । तर, बाहिर गएर जाँच गराउन बिरामी बाध्य छन् । बाहिर कम्तीमा १५ सय रुपैयाँ तिर्नुपर्ने सेवाग्राही बताउँछन् ।

विभिन्न सेवासुविधा भएको प्रचार गर्ने, तर सामान्य जाँचका लागि पनि बाहिर पठाउने समस्या रहेको सेवाग्राहीहरू गुनासो गर्छन् । सामान्य सिबिसी गराउन पनि एभिजीको नाममा खुसी मेडिकल नै पठाउने गरेको पाइएको छ । सामान्यतयाः ८०० रुपैयाँ लाग्ने एभिजी गरेको शुल्क खुसी मेडिकलले २५ सयसम्म लिने गरेको देखिएको छ ।

पछिल्लो समय बर्दिबास अस्पतालमा ठगी धन्दा संस्कार नै बनेको स्थानीय युवा निरज अधिकारी बताउँछन् । ‘मेयरले त्यही अस्पताल देखाएर राजनीति गर्छन् । चिकित्सक र कर्मचारीले कमाइखाने भाँडो बनाएका छन्,’ स्थानीय शंकर फुयाल भन्छन्, ‘यो बेथिति कसरी हट्ला र !’

यसअघि सौर्य दैनिकले ल्याब र फार्मेसीमा कार्यरत कर्मचारीहरूको बद्मासी उजागार गरेपछि नगरपालिकाले छानबिन समिति बनाएको थियो । समितिको प्रतिवेदनमा समेत कर्मचारीहरूले बाहिर व्यवसाय सञ्चालन गरेर अस्पतालको सेवा कमजोर बनाएको निष्कर्ष निकालिएको थियो ।

प्रतिक्रिया