काठमाडौँ । यही जेठमा ‘राष्ट्रिय दोहोरी गीत आइडल २०८२’ आयोजना हुने भएको छ । सांस्कृतिक समाज नेपालको आयोजनामा आगामी जेठ २६, २७ र २८ गते अन्तर दोहोरी साँझ स्तरीय राष्ट्रिय लोक दोहोरीगीत आइडल २०८२ को आयोजना गर्न लागिएको आइडलका संयोजक चन्द्र शर्माले जानकारी दिए । राष्ट्रिय लोक दोहोरीगीत आइडलमा मिडिया पार्टनरको रूपमा राष्ट्रिय लोक सञ्चारकर्मी नेपाल रहेको पनि उनले बताए । उक्त आइडलका संयोजक शर्मा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पूर्वअध्यक्षसमेत हुन् । शर्माका अनुसार यस प्रतियोगीतामा दोहोरी साँझमा आबद्ध कलाकारहरूले सहभागिता जनाउन पाउनेछन् ।
आइडलका संयोजक चन्द्र शर्माले देशैभरी छरिएका दोहोरी साँझहरूबाट कलाकारहरूले सहभागिता जनाउन सक्ने बताए । उनले भौगोलिक हिसाबमा जहाँसुकैबाट भाग लिन सकिने तर दोहोरी साँझको प्रतिनिधित्व गरेको हुनुपर्ने बताए । प्रतियोगीतामा भाग लिनका लागी प्रवेश शुल्क १ हजार रुपैयाँ लाग्नेछ भने उत्कृष्ट हुने विजेता टिमले एउटा मोटरसाइकल र ३३ हजार ३३३ रुपैयाँ नगद प्राप्त गर्नेछन् । यस्तै दोस्रो हुने टिमले एउटा स्कुटरसहित २२ हजार २२२ रुपैयाँ नगद पुरस्कार पाउनेछन् । बिबिटिएम फाउन्डेसन मुख्य प्रायोजक रहेको यस प्रतियोगीताको फाइनल भने नगरकोटको बताडे डाँडामा सम्पन्न हुने संयोजक शर्माले जानकारी दिए ।
यस्तै यस दोहोरी आइडल यसै वर्ष आयोजना हुन गइरहेको दोहोरी गीत प्रतियोगिता प्रिमियर लिगको पहिलो चरणको कार्यक्रमसमेत भएको व्यवस्थापक अमृत खातीले जानकारी दिए । कार्यक्रमका सभापति सांस्कृतिक समाज नेपालका अध्यक्ष रामप्रसाद अवस्थीले सांस्कृतिक समाज नेपालले यसअघि पनि दोहोरी क्षेत्र विशेष धेरै कार्यक्रम गरेको र यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने बताए । प्रतियोगीताका सल्लाहकार वरिष्ठ देउडा गायक नन्दकृष्ण जोशीले यस्ता प्रतियोगिताले लोकदोहोरी क्षेत्रलाई फराकिलो बनाउने बताए ।
प्रतिक्रिया