काभ्रे । काभ्रेको पनौती नगरपालिका–५ सुब्बागाउँ नजिकैको ढलमले ठाडो खोलाले एक महिलालाई बगाएर बेपत्ता बनाएको छ । स्थानीय मेला सकेर घर फर्किंदै गरेकी ३३ वर्षीया रेनुका गिरी खोलाले बगाउँदा सोमबार साँझदेखि सम्पर्कविहीन भएकी हुन् ।
स्थानीय समय अनुसार मिति २०८२ साल वैशाख २९ गते साँझ करीब ६ बजेको समयमा बारिमा काम गरी घर फर्किंदै गरेकी गिरीलाई आकस्मिक रूपमा बढेको खोलाले बगाएको हो । उनी पनौती–५ स्थित बस्ने राजेश गिरीकी श्रीमती हुन् ।
लगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना तथा स्थानीय स्वयंसेवकहरूले घटनास्थलमा पुगेर खोजी तथा उद्धार कार्य सुरु गरेका थिए । खोलामा पानीको वहाव तीव्र भएको कारण खोजी कार्य थप चुनौतीपूर्ण बनेको उद्धारमा संलग्न सुरक्षाकर्मीहरूले जनाएका छन् ।
दिनभर प्रयास, तर अझैँ पत्ता लागेन अवस्था
घटनाको जानकारीपछि खोजी टोलीले विभिन्न सन्दिग्ध क्षेत्रमा केन्द्रित भएर खोजी विस्तार गरे पनि सोमबार दिनभरको प्रयासबाट बेपत्ता रेनुका गिरीको अवस्था थाहा पाउन सकिएको छैन् ।
सुरक्षाकर्मी, उद्धार टोली र स्थानीय बासिन्दाले सामूहिक प्रयास गरे पनि खोलाको बहाव उच्च भएकाले खोजीमा कठिनाइ भएको घटनास्थलमा रहेका एक प्रहरी अधिकृतले बताए ।
उद्धार टोलीले सोमबार साँझपखसम्म खोजी जारी राखेपनि अन्धकार, बहावको तीव्रता र जोखिमको कारण सोमबारको खोजी कार्य स्थगित गरिएको थियो । प्रहरी स्रोतका अनुसार आज बिहानदेखि पुनः थप तयारीसहित खोजी कार्य अघि बढाइएको छ ।
स्थानीय तनावमा
हरेक वर्ष वर्षात को समयमा कुनै न कुनै घटना व्यहोर्दै आएका स्थानिय हिजोको घटनापछि तनावमा छन्। आफन्तजन शोकमा डुबेका छन्, भने स्थानीयवासी उद्धारमा सक्रिय छन् । वर्षायाममा जोखिमयुक्त खोलानालामा आवश्यक पूर्वतयारी र सतर्कता नअपनाउँदाको पीडादायी उदाहरणको रूपमा यो घटना पुनः उजागर भएको स्थानीयले बताएका छन् ।
सामान्य बदली शुरू हुँदा नै स्थानीय मेला सकेर फर्किंदै गरेकी रेनुका गिरीको एकाएक यस्तो दुर्घटनामा परेर बेपत्ता हुनुले प्राकृतिक विपद्प्रति राज्य र समुदायको तयारी, पूर्वसूचना प्रणाली तथा सुरक्षाका संयन्त्रमाथि पनि गम्भीर प्रश्न उठाएको छ ।
प्रतिक्रिया