बुद्धको शिक्षामा परिश्रम गर्नु, अभ्यास गर्नुको विकल्प छैन । शील, समाधि र प्रज्ञाको अभ्यास गर्नुको विकल्प छैन । शीलको पालना र ध्यानको नियमित अभ्यास गरौँ । आफ्नो शरण आफैँ बनाैँ, आफ्नो दीप आफैँ बनौँ ।
‘भिक्षुहरू हो, पहिले पनि र अहिले पनि म यही सिकाउँछु कि दुःख छ र दुःखको सम्पूर्ण अन्त्य पनि छ ।’
–भगवान् बुद्ध
वैशाख पूर्णिमा बौद्धधर्माबलम्बीहरूका लागि सबैभन्दा महत्वपूर्ण दिन मानिन्छ । त्यसै दिन लुम्बिनीमा बोधिसत्व सिद्धार्थको जन्म भएको थियो, त्यसै दिन भारतको बोधगयामा उहाँलाई बुद्धत्व प्राप्त भएको थियो र उहाँको महापरिनिर्वाण पनि त्यसै दिन भएको थियो । वैशाख पूर्णिमाको त्यस रात भारतको बोधगयामा उहाँलाई त्यस्तो के प्राप्त भयो त्यसपछि उहाँले आफूलाई बुद्धत्व प्राप्त भएको दावी गर्नुभयो र सबैले उहाँलाई बुद्ध भन्न थाले ? भनिन्छ, वैशाख पूर्णिमाको त्यस रातको पहिलो प्रहरमा उहाँलाई दिव्यचक्षु (मरेका प्राणीहरू आआफ्नो कर्मानुसार विभिन्न लोकहरूमा उत्पन्न भएको देख्ने ज्ञान) प्राप्त भयो । दोस्रो प्रहरमा उहाँलाई पुब्बेनिवास अथवा पूर्वजन्महरूबारे जान्ने ज्ञान र रातको अन्तिम प्रहरमा उहाँलाई आश्रवक्षय (मनको सबै मैला नाश भयो भन्ने) ज्ञानको साथै चतुआर्यसत्य अवबोध भयो । त्यसपछि मात्र उहाँले आफूलाई बुद्ध भनेर भन्नुभयो । अथवा वैशाख पूर्णिमाको त्यस रात बुद्धत्व प्राप्ति सँगसँगै चतुर्आर्यसत्यको पनि उदय भएको थियो ।
धर्मचक्रपवत्तनसूत्रमा भगवान बुद्ध भन्नुहुन्छ, ‘भिक्षुहरू हो ! जबसम्म मलाई ४ आर्यसत्य प्रत्येकको ३ आकार र १२ प्रकारबाट उपयुक्त रूपले यथार्थ अत्यन्तै परिशुद्ध ज्ञान दर्शन भएको थिएन तबसम्म मैले यो देव, मार, ब्रह्मा, श्रमण, ब्राह्मणसहित यस लोकमा मलाई अनन्त सम्येक सम्बोधि प्राप्त भयो भनेर भनिनँ ।’
भगवान् बुद्धको यस भनाइबाट थाहा हुन्छ कि चतुर्आर्यसत्य नै बुद्धधर्मको सार हो । जातक कथाहरूको अध्ययन गर्दा पनि थाहा हुन्छ कि उहाँमा साधारण ऋद्धिसिद्धि त बोधिसत्व हुँदाको समयमा पनि थियो । सुमेध ऋषि हुँदाकै समयमा पनि उहाँ आकाश मार्गबाट यात्रा गर्न सक्नुहुन्थ्यो । तर उहाँलाई चतुर्आर्यसत्यको यथार्थ बोध त्यसै वैशाख पूर्णिमाको रातमा भयो र त्यसपछि मात्र उहाँले आफूलाई बुद्ध भनेर दावी गर्नुभयो । यसबाट बुझ्न सकिन्छ कि बुद्धधर्ममा चतुर्आर्यसत्यको स्थान कति उच्च छ ?
चतुआर्यसत्य निम्नानुसार छन् :
१. दुःख सत्य : संसार दुःखमय छ ।
२. दुःख समुदय सत्य : दुःखको कारण पनि छ र त्यो तृष्णा हो ।
३. दुःख निरोध सत्य : दुःखबाट पूर्ण मुक्त हुन सकिन्छ ।
४. दुःख निरोध गामिनी मार्ग सत्य : दुःखबाट पूर्ण मुक्त हुने बाटो पनि छ र त्यो आर्यअष्टांगिक मार्ग हो ।
धेरै मानिसहरू दुःख सत्यको यथार्थ स्वीकार्न चाहँदैनन् । उनीहरू भन्छन्– जीवन सुःखमय छ, रंगीन छ । हुन पनि कति मानिसहरूको जीवन विलासीपूर्ण हुन्छ । सफलता नै सफलतामा जीवन बिताइरहेकाहरूले दुःख सत्यको यथार्थलाई सत्य ठान्दैनन् । विशेषतः युवाअवस्थामा धेरैले जीवनलाई रंगीन र सुखमय ठान्नु स्वाभाविक हुन्छ । म जीवनमा सफल कसैलाई सम्झन पर्यो भने नेपोलियनलाई सम्झने गर्छु । १६ वर्षको उमेरमा सैनिक अधिकृतको रूपमा आफ्नो पेसागत जीवन सुरु गरेर उनी ३५ वर्षकै उमेरमा फ्रान्सको सम्राट बनेका थिए । तर, नेपोलियनजस्ता सफल सम्राटको पनि जीवनको अन्तिम क्षणहरू कति दुःखपूर्ण थियो ? एउटा निर्जन टापुको जेलमा उनले आफ्नो अन्तिम क्षण बिताउनु परेको थियो । नेपोलियन बोनापार्टको जीवनीलाई नियाल्दा के बुझ्न सकिन्छ भने घाटमा नपुगेसम्म हाम्रो जीवनमा कहिले, कहाँ के हुन्छ भन्न सकिँदैन । यसबाट भगवान् बुद्धले प्रतिपादन गर्नुभएको दुःख सत्यको यथार्थलाई बुझ्न सकिन्छ ।
चतुर्आर्यसत्यको महत्व
चतुर्आर्यसत्यको महत्वबारे लेखिरहँदा एउटा बुद्धकालीन घटना यहाँ स्मरण गर्न लायक छ । एक समय भगवान् कौसाम्बीमा सिसौको जंगलमा भिक्षुहरूसँग हुनुहुन्थ्यो । उहाँले एकमुठी सिसौका पात हातमा लिएर सोध्नुभयो, ‘भिक्षुहरू, मेरो मुठीमा पात धेरै छ कि यो जंगलमा ?’
भिक्षुहरूले जवाफ दिए, ‘भगवान् ! यस जंगलमा भएका पातहरूको तुलनामा भगवान्को मुठीमा त थारै मात्र पात छन् ।’
भगवान्ले अगाडि भन्नुभयो – भिक्षुहरू, जंगलमा भएको पातजस्तै मैले प्रत्यक्ष ज्ञानबाट थाहा पाएर, जानेर सिकाएका कुराहरूको तुलनामा मैले जानेका तर नसिकाएका कुराहरू धेरै छन् । किनभने ती कुराहरूले वैराग्य उत्पन्न गराउँदैनन्, न तिनले अर्थ सिद्ध नै गराउँछन्, न दुःखको अन्त्य नै गराउँछन्, न त निर्वाण नै प्राप्त गराउँछन् ।
भिक्षुहरू ! मैले त यति मात्र सिकाएको छु कि, यो दुःख हो, यो दुःखको कारण हो, दुःखको सम्पूर्ण अन्त्य गर्न सकिन्छ र दुःखको सम्पूर्ण अन्त्य गर्ने बाटो पनि छ । किनभने यही ४ सत्यको ज्ञानले वैराग्य उत्पन्न गराउँछ, यसले दुःखको अन्त्य गराउँछ र निर्वाण प्राप्त गराउँछ ।
भिक्षुहरू ! तिमीहरूले यही सिक्नुपर्छ कि यो दुःख हो, यो दुःखको कारण हो, दुःखको सम्पूर्ण अन्त्य गर्न सकिन्छ र आर्यअष्टांगिक मार्ग, दुःखको अन्त्य गर्ने बाटो हो । किनभने यही ४ आर्यसत्यको अभ्यासले वैराग्य उत्पन्न गराउँछ, जसको अभ्यास सम्पूर्ण दुःख निरोधका लागि हुन्छ, निर्वाण प्राप्तिको लागि हुन्छ । (सिम्सापा सूत्त, संयूक्त निकाय ६५.३१)
भिक्षुहरू ! दुःखलाई यथार्थ रूपमा नजानी, दुःखको कारणलाई यथार्थ रूपमा नजानी, दुःखको सम्पूर्ण अन्त्य (दुःख निरोध)लाई नजानी, दुःख निरोध (अन्त्य)को बाटोबारे नजानी दुःखको सम्पूर्ण अन्त्य गर्न सम्भव छैन ।
भगवान्ले भन्नुभएझैँ हामीले पनि बुझ्नुपर्ने कुरा के हो भने यही ४ सत्य (चतुर्आर्यसत्य) नै बुद्धधर्मको सार हो र यसैलाई नबुझी, अभ्यास नगरी दुःखको अन्त्य गर्न सम्भव छैन । यसबाट बुझ्न सकिन्छ कि बुद्धधर्ममा चतुर्आर्यसत्य बुद्धधर्मको सार हो ।
भगवान् भन्नुहुन्छ,
भिक्षुहरू ! जुन धर्ममा चतुआर्यसत्य छैन त्यो धर्मबाट प्रथम श्रमण श्रोतापन्न उत्पन्न हुन सक्दैन ।
भिक्षुहरू ! जुन धर्ममा चतुआर्यसत्य छैन त्यो धर्मबाट द्वितिय श्रमण उत्पन्न हुन सक्दैन ।
भिक्षुहरू ! जुन धर्ममा चतुर्आर्यसत्य छैन त्यो धर्मबाट तृतीय श्रमण उत्पन्न हुन सक्दैन ।
भिक्षुहरू ! जुन धर्ममा चतुआर्यसत्य छैन त्यो धर्मबाट चतुर्थ श्रमण उत्पन्न हुन सक्दैन ।
दुःखको सम्पूर्ण अन्त्य गर्ने एउटा मात्र बाटो भएकोले दुःखको अन्त्य गर्ने बाटो (आर्यअष्टांगिक मार्ग)लाई ‘एकाएनो अयं मग्गो’ (एउटा मात्र सर्वश्रेष्ठ मार्ग) भनेर भनिन्छ । आर्यअष्टागिंक मार्गको अभ्यास नगरी कसैले पनि दुःखको सम्पूर्ण अन्त्य गर्न सक्तैन ।
आर्यअष्टागिंक मार्ग निम्नानुसार छन्ः
सम्येक दृष्टि (Right Vision)
सम्येक संकल्प (Right Determination)
सम्येक वाचा (Right Speech)
सम्येक कम्मन्तो (Right Action)
सम्येक आजिवो (Right Livelihood)
सम्येक व्यायाम (Right Effort)
सम्येक स्मृति (Right Mildfulness)
सम्येक समाधि (Right Concentration)
आर्यअष्टांगिक मार्गलाई बुझ्न र यसको अभ्यासलाई सरल बनाउन शील, समाधि र प्रज्ञा भनेर ३ समूहमा विभाजन गरिएको छ । आर्यअष्टांगिक मार्गको पहिलो २ वटा (सम्येक दृष्टि र सम्येक संकल्प) प्रज्ञा हुन्, बीचका ३ वटा (सम्येक वाचा, सम्येक कम्मन्तो र सम्येक आजिवो) शील हुन्, र अन्तिम ३ वटा (सम्येक व्यायाम, सम्येक स्मृति र सम्येक समाधि) लमई समाधिको समूहमा पर्दछन् । यही शील, समाधि र प्रज्ञाको अभ्यास नै निर्वाण प्राप्तिको एउटा मात्र बाटो हो भन्ने बुझेर हामीले अभ्यास गर्नु पर्दछ । साधारण त नियमित रूपमा पञ्चशील (प्राणी हिंसा नगर्ने, चोरी नगर्ने, आफ्नो श्रीमान्, श्रीमतीबाहेक अरू कसैसँग शारीरिक सम्बन्ध नराख्ने, झुट नबोल्ने, मादक पदार्थको सेवन नगर्ने) नियमहरूको पालना गर्नु र बिहान बेलुका नियमित रूपमा ध्यान अभ्यास गर्नु नै शील, समाधि र प्रज्ञाको अभ्यासको सुरुआत गर्नु हो । शील, समाधि र प्रज्ञाको अभ्यास गर्ने अवसर मनुष्य जीवनमा मात्र प्राप्त हुन्छ । अपाय भूमि (पशु, प्रेत, असुर र नर्क), देवलोक, ब्रम्हलोकहरूमा धर्म अभ्यास गर्ने अवसर हँुदैन । हामी भाग्यमानी छौँ र दुर्लभ भनिएको मनुष्य जीवन पाएका छौँ । हामीले बुद्धको जन्मभूमिमा जन्मने, बुद्ध, धर्म र संघबारेमा सुन्ने र बुझ्ने सौभाग्य पाएका छौँ । त्यसैले अप्रमादी (जागरुक ) भएर अल्छी नगरी पञ्चशीलको नियमित पालना गरौँ, बिहान बेलुका नियमित रूपमा ध्यान अभ्यास गरौँ । प्रत्येक दिनको सुरुआत पनि ध्यान अभ्यासबाट गरौँ र बेलुकी सुत्न अगाडि पनि ध्यान गरौँ । मनुष्य जीवन बारबार पाइँदैन । मनुष्य जीवन अमूल्य छ यसलाई खेर नफालौँ ।
भिक्षु धम्मवंश महास्थबिर बारम्बार भन्ने गर्नुहुन्थ्यो ‘आगे चेते चेते नाही पिछे चेते होते नाही’ । उहाँले भनेझैँ उमेर छँदै शीलको पालना र ध्यान अभ्यास गरेनौँ भने बुढेसकालमा पछुताएर केही फायदा हुँदैन । शीलको पालना र ध्यानको अभ्यास हामी आफैँले गर्नुपर्छ, अरूले गरिदिएर हुँदैन । बुद्धको पूजा गरेर, भजन गाएर हाम्रो दुःखको अन्त्य हुँदैन । बुद्धले बरदान दिने गर्नु भएको छैन । उहाँले त मात्र बाटो देखाउनुभएको छ । बाटोचाहिँ हामी आफैँले हिँड्नु पर्छ । हिँड्दै नहिँडी गन्तव्यमा पुग्न सकिँदैन । त्यसैले भगवान् बुद्ध भन्नुहुन्छ, ‘अत्त दीपा अत्तशरणा, धम्म दीपा धम्मशरणा, अनन्य शरणा (आफ्नै शरणमा जाआंँ, आफ्नो उज्यालो आफैँ बनौँ । धर्म नै उज्यालो हो धर्मको शरणमा जाऔँ । आफ्नो शरण, धर्मको शरण नै अनन्त शरण हो ।
‘हिँड्यो भने सानो कमिलाले पनि डाँडा काट्छ, उडेन भने विशाल पंक्षी मयुर पनि जहाँको त्यही रहन्छ’ । यो नेपाली उखानले भनेझैँ बुद्धको शिक्षामा परिश्रम गर्नु, अभ्यास गर्नुको विकल्प छैन । शील, समाधि र प्रज्ञाको अभ्यास गर्नुको विकल्प छैन । शीलको पालना र ध्यानको नियमित अभ्यास गरौँ । आफ्नो शरण आफैँ बनौँ, आफ्नो दीप आफैँ बनौँ ।
भवतु सब्ब मंगलम् !!!
(शाक्य लुम्बिनी विश्वविद्यालयबाट बुद्ध दर्शनमा विद्यावारिधि गर्दैछन्)
प्रतिक्रिया