काठमाडौँ । नेपाल राष्ट्र बैँकको गभर्नर नियुक्तिको विषयमा सांसदहरूले सरकारमाथि प्रश्न उठाएका छन् । गभर्नर पद रिक्त भएको १ महिना पुग्दासमेत नयाँ गर्भनर नियुक्त गर्न नसकेको भन्दै बुधबारको प्रतिनिधिसभा बैठकमा सांसदहरूले प्रश्न उठाएका हुन् । सरकारले गभर्नर नियुक्ति राजनीतिक भागबन्डाको रूपमा लिँदा ढिलाइ गरेको भन्दै सांसदहरूले तत्काल नयाँ गभर्नर नियुक्ति गर्न माग गरेका छन् । अर्थतन्त्र शिथिल भएको अवस्थामा राष्ट्र बैंक जस्तो संवेदनशील स्थानमा गभर्नर नियुक्ति गर्न नसक्नु अर्थतन्त्र गतिशील बनाउने दिशाभन्दा पनि अर्थतन्त्र अप्ठ्यारोमा राख्ने काम गरेको आरोप सरकारलाई लगाएका छन् ।
गभर्नर नियुक्तिका विषयमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले सरकारले गभर्नर नियुक्तिमा लामो समय खर्च गरेको भन्दै असन्तुष्ट व्यक्त गरिन् । उनले अर्थतन्त्र चलायमान गर्नुपर्ने र प्रभावकारी काम गर्नुपर्ने समयमा सरकारले गभर्नर नियुक्तिमा समय खेर फालेको आरोप लगाइन् । उनले सरकारसँग जनताले काम खोजेको भन्दै भागबन्डा गरेर कसलाई कुन पद दिने भन्ने विषयमा अल्झिएर बसेको बताइन् ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीकै सांसद चन्दा कार्कीले सरकारले राष्ट्र बैंकको गभर्नर नियुक्ति नगरेको भन्दै असन्तुष्टि जनाइन् । ‘गभर्नरको कार्यकाल सकिएको १ महिनाभन्दा बढी भइसक्यो । तर, आजसम्म त्यो पद खाली छ । आजसम्म सरकार मौन र निर्णयविहीन भएर बसेको छ’, सांसद कार्कीले भनिन्, ‘यो एउटा पद खाली भएको विषय मात्रै होइन । देशको अर्थतन्त्र नेतृत्वविहीन भएको संकेत हो ।’ गभर्नर कसको भागमा पर्ने भन्ने सौदाबाजीको खेलमा लागेर देशको अर्थतन्त्रको भविष्य दाउमा लगाइरहेको उनको आरोप छ ।
गत २४ चैतमा तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको ५ वर्षे कार्यकाल पूरा गरेर बिदा भएका थिए । सोही दिनदेखि गभर्नर पद रिक्त छ, भने अर्थमन्त्री विष्णु पौडेलले वरिष्ठ डेपुटी गभर्नरको रूपमा निलम ढुंगानालाई कायममुकायम गभर्नरको जिम्मेवारी दिएका छन् ।
प्रतिक्रिया