डेढ करोड जरिवाना तोकिएका फरार व्यापारी अग्रवाल पक्राउ

काठमाडौं । प्रहरीले अदालतबाट दोषी ठहर डेढ करोड जरिवाना तोकिएपछि फरार रहेका व्यापारी अमित अग्रवाललाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले उनलाई मंगलबार काठमाडौंको स्वयम्भूबाट पक्राउ गरेको जनाएको छ ।

जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी अपीलराज बोहराले उनलाई पक्राउ गरिएको जानकारी दिए । अग्रवाललाई जिल्ला अदालत काठमाडौंले बैंकिङ कसुर र चेक अनादरका दुई वटा मुद्दामा दोषी ठहर गर्दै कैद र जरिवानाको फैसला गरेको थियो ।

काठमाडौं महानगरपालिका ३० बस्ने ४७ वर्षका अग्रवाल अदालतबाट दोषि ठहर भएपछि फरार रहँदै आएका थिए । उनलाई पक्राउ गरेलगत्तै फैसला कार्यान्वयनका लागि अदालतमा उपस्थित गराइसकेको एसपी बोहराले बताए ।

२०८० जेठ २२ गते बैंकिङ कसुर मुद्दामा ३० दिन कैद र एक करोड ५० लाख रुपैयाँ जरिवाना हुने फैसला भएको थियो। २०८० असार २१ गते चेक अनादरको मुद्दामा ३ हजार जरिवाना र २०८० फागुन २४ गते चेक अनादरकै अर्को मुद्दामा ४ हजार जरिवानाको फैसला भएको थियो।

काठमाडौंमा ब्रान्डेड मदिराको व्यापार गर्ने ग्रिनलाइन सेन्टरका सञ्चालक अग्रवाललाई २०७८ फागुनमा पनि पक्राउ गरेर अनुसन्धान गरेको थियो । तर धरौटीमा रिहा भएका अग्रवाल फैसलापछि भने फरार रहँदै आएका थिए ।

प्रतिक्रिया