रौतहट । नेकपा एकीकृत समाजवादी पार्टी जिल्ला कार्य समिति रौतहटले जिल्लामा देखिएका समस्या समाधान गर्नुपर्नेलगायतका विभिन्न १९ बुँदे माग राख्दै शुक्रबार जिल्ला प्रशासन कार्यालय रौतहटमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।
एकीकृत समाजवादी रौतहटले शिक्षा, स्वास्थ्य, पूर्वाधार विकासमा रहेको समस्याको समाधानका लागि १९ बुँदे माग राख्दै ज्ञापनपत्र बुझाएको हो । जिल्ला अध्यक्ष कमल यादवको नेतृत्वमा गएका एकीकृत समाजवादीका कार्यकर्ताहरुको टोलीले प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्कालाई ज्ञापनपत्र बुझाएका हुन् ।
उक्त ज्ञापनपत्रमा बागमती र लालबकैया नदीमा रहेको आफ्नै जग्गामा रहेको माटो आफ्नो घरमा प्रयोगका लागि ल्याउँदा लगाइएको विभिन्न कर हटाउनुपर्ने, बन्द रहेको चिनी मिल सूचारु गरी उखु किसानको रकम भुक्तानी दिनुपर्नेलगायतको माग गरिएको छ ।
विगत १४ वर्षदेखि बागमती नदीको बडहरबा नजिक अलपत्र अवस्थामा रहेको पुल छिटो सुचारु गर्नुपर्ने, टिकुलिया घाटमा अधुरो रहेको पुलको निर्माण अविलम्ब निर्माण सम्पन्न गराउनुपर्ने माग उल्लेख गरिएको छ ।
बागमती नदी र लालबकैया नदीको बेड लेबलमाथि आएको कारण वर्षेनि डुबान हुँदै आएकोमा माटो खनी बेड लेबल व्यवस्थापन, बालबालिकालाई विद्यालयको पहुँच पालिकालाई लिने व्यवस्था गर्नुपर्ने, मिटर ब्याजी, कालो बजारी, जातीय विभेद्, छुवाछुत र भ्रष्टाचारविरुद्ध प्रभावकारी कदम चाल्नुपर्ने, जनताले पाउनुपर्ने सेवासुविधा तोकिएको समयमा पाउनुपर्ने व्यवस्था गर्नुपर्ने माग गरिएको छ ।
मल, कृषिका लागि बिउ, ऋण, पानी, बिमा, भण्डारण, प्राविधिक सेवे, कृषि औजार जस्ता सबै क्षेत्रको व्यवस्थापनको स्थानीय तहको नेतृत्वमा कृषि तथा कृषिसम्बन्धी सहकारीलाई दिनुपर्ने, जिल्लालाई औद्योगिककरण गर्न उपयुक्त मूल्यमा जमिन, सस्तो विद्युत, न्यूनतम कर र सहज प्रशासनिक प्रक्रियाको व्यवस्था हुनुपर्ने उल्लेख गरिएको छ ।
नेकपा एकीकृतका नेता एवं गौर नगरपालिकाका प्रमुख शम्भु साहले सुशासन र रोजगारी समाजवादको तयारी भन्ने मूल नाराका साथ जिल्लामा रहेका समस्याको पहिचान गरी समाधानको लागि ज्ञापनपत्र बुझाइएको बताए । ज्ञापनपत्र बुझाउन नेकपा एसका जिल्लास्तरीय नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।
रौतहट
प्रतिक्रिया