सरकारको नीति तथा कार्यक्रमलाई समर्थन गर्ने कांग्रेसको निर्णय

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई समर्थन गर्ने निर्णय गरेको छ । शनिबार बसेको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको पार्टीका प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए ।

‘हिजो प्रस्तुत भएको नीति तथा कार्यक्रमको विषयमा छलफल भयो, त्यसमा धेरै कुराहरू समेटिएका छन्, जुन राष्ट्रिय आवश्यकता हुन्,’ उनले भने, ‘हामीले पनि चाहेका कुरा भएकाले समर्थन गर्ने, रचनात्मक र सकारात्मक सुझावसहित त्यसको पक्षमा बोल्ने र समर्थन गर्ने निर्णय भएको छ ।’

त्यस्तै, नीति तथा कार्यक्रमलाई कार्यान्वयनमा लैजान सम्बोधन हुने गरी बजेट तर्जुमा गर्न पनि कांग्रेसले ध्यानाकर्षण गरेको छ ।
प्रमुख सचेतक घिमिरेले संसदमा विधेयक निर्माणको कामले गति लिन नसकेको पार्टीले निष्कर्ष निकालेको बताए ।

‘विधेयक निर्माणको गति सुस्त भएको महसुस भएको छ । त्यसले पारेको प्रभाव धेरै भए । त्यसलाई तीव्र बनाउनका लागि कांग्रेसले देखिनेगरी भूमिका खेल्नुपर्छ भन्ने कुरा निष्कर्ष निकालेको छ,’ संसदीय दलको बैठकपछि घिमिरेले भने । बैठकले पार्टीका सांसदहरुलाई नीति तथा कार्यक्रममा सकारात्मक र रचनात्मक सुझाव दिँदै पक्षमा बोल्न पनि निर्देशन दिएको उनले बताए ।

विधेयक पारित गर्न ढिला भएको कुरालाई आत्मसात गर्दै समिति र संसदमा पार्टीले प्रभावकारी भूमिका खेल्नुपर्ने निष्कर्ष बैठकले निकालेको उनले बताए ।

प्रतिक्रिया