काठमाडौं । मनकुमारी बुढा उमेरले ३७ वर्षकी भइन् । आजभन्दा ८ वर्ष अगाडि रोल्पाबाट काठमाडौं पसेकी उनी राम्रो काम र कमाई हुने काम नपाएपछि ७ वर्षदेखि धुनिबेशीको एक इटा भट्टामा काम गर्दै छिन् ।
११ वर्ष अगाडि श्रीमानले अर्की श्रीमती ल्याएपछि घर धान्ने जिम्मेवारी उनको काँधमा आयो र दैनिक जीविकोपार्जनका लागि पनि उनी र उनको छोरीले इटा भट्टामा इटा बोक्ने काम गर्न थाले ।
एक पटकमा ४० देखि ४५ वटासम्म इटा बोक्ने उनीहरुको कमाई कति पटक इटा बोक्यो भन्ने कुराले निर्धारण गर्ने गर्दछ । जति पटक इटा बोक्यो त्यति पटक काजगमा छाप लगाउने र पछि हिसाब गरी दैनिक कमाई निर्धारण गर्ने गरिन्छ । ‘कहिलेकाहीँ शारीरिक अस्वस्थका कारण काम गर्न सकिँदैन् त्यो दिन त कमाई नै हुँदैन्’, मनकुमारीले सुनाइन् ।
इटा भट्टामा काम उनीहरु त एउटा उदाहरण मात्र हुन्, चरण बाल श्रमको प्रयोग गरिने इटा भट्टामा ११, १२ वर्षका बालकहरु खच्चर धपाउने काम गर्ने गर्दछन् । धुलो धुवाँमा न्युन ज्यालामा काम गर्ने उनीहरुले श्रम शोषण भोग्न बाध्य छन् ।
नेपालगञ्जबाट आएर इटा भट्टामा खच्चर धुपाउन ११ वर्षीय राजु, १२ वर्षीय गोलु आफ्नो उमेरभन्दा ठूलो काम गर्दछन् भट्टामा । उनीहरुको काम काँचो इटा बोक्ने खच्चर धपाउने हो । एक पटक काँचो इटा बोकेको खच्चर धपाए बापत ३ रुपैँया कमाई हुने भएकाले जति धेरै काम गर्न सक्यो त्यति नै राम्रो कमाई हुने भएकाले उनीहरुको दौडधुप निकै देखिन्थ्यो ।
धुलो–धुवाँ, शारीरिक रुपमा धेरै बल लगाउन पर्ने काम भएकाले इटा भट्टामा बाल श्रमको प्रयोग गर्न नहुने भएता पनि घरको गरिबी, शैक्षिक अवस्थालगायताको विभिन्न कारणले बालबालिकाहरू इटा भट्टामा काम गर्न बाध्य छन् । न्युन ज्यालामा दैनिक मजदुरी गर्ने उनीहरुलाई सरकारको सामाजिक सुरक्षा कोष जस्ता कल्याणकारी कोषहरुले समेट्न सकेको छैन ।
प्रतिक्रिया