काठमाडौँ । प्रधानमन्त्री एवं (त्रिवि) का कुलपति केपी शर्मा ओलीले बिहीबार उपकुलपति केशरजंग बरालको राजीनामा स्वीकृत गरेका छन् । राजीनामा बुझाएको १२ दिनपछि कुलपति ओलीले स्वीकृत गरेका हुन् ।
बरालले स्वास्थ्यको कारण उल्लेख गर्दै चैत १५ मा कुलपति कार्यालयमा सचिवालयका कर्मचारीमार्फत् राजीनामा बुझाएका थिए । प्रधानमन्त्रीको हस्तक्षेप र सरकारको असहयोगका कारण बराललाई राजीनामा दिन बाध्य पारिएको उनी निकटस्थ प्राध्यापकहरूको भनाइ छ । बरालले भने काम गर्ने वातावरण नभएकाले पद त्याग गरेको जनाउँदै आएका छन् । उनले राजीनामा स्वीकृतपछि थप कुरा खुलाउने बताउँदै आएका छन् ।
प्रधानमन्त्री ओलीका साथै सत्तारूढ एमाले र उसको भ्रातृ संगठनको हस्तक्षेप र असहयोगले उपकुलपति बराल राजीनामा गर्न बाध्य भएको जानकारहरूको भनाइ छ । गत असारमा ओली प्रधानमन्त्री भएदेखि नै बरालसँगको सम्बन्ध चिसिएको टिप्पणी भइरहेको थियो । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बराललाई १० फागुन, २०८० मा उपकुलपति नियुक्त गरेका थिए ।
पछिल्लो समय त्रिविमा भएको घटनाक्रमप्रति असन्तुष्ट रहेका उनी दबाब थेग्नै नसकेर राजीनामा दिन बाध्य भएको बताइएको छ । विद्यार्थीहरूले विभिन्न माग राख्दै उनलाई दबाब दिँदै आएका थिए ।
प्रतिक्रिया