सरकार र निजी क्षेत्रबीचको सहकार्यमा जोड

उद्योग वाणिज्य महासंघको ५९औँ साधारणसभा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र निजी क्षेत्रबीचको सहकार्य नमुनाका रूपमा अघि बढिरहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको ५९औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले भने, ‘हामी सबै मिलेर हाम्रो देश आफैँ बनाउनु पर्छ । तीव्र गतिमा विकास गर्नुपर्छ । स्वदेशी वस्तुको प्रयोगमा गर्व गर्न सिक्नुपर्छ ।’ उनले निजी क्षेत्र विकासका लागि आत्मविश्वासकासाथ अघि बढेकाले सरकार पनि सघाउन तयार रहेको स्पष्ट पारे ।

प्रधानमन्त्री ओलीले भने, ‘सरकार र निजी क्षेत्रबीचको सहकार्य नमुनाका रूपमा अघि बढिरहेको छ । हामी सबै मिलेर हाम्रो देश आफैँ बनाउनु पर्छ । तीव्र गतिमा विकास गर्नुपर्छ । स्वदेशी वस्तुको प्रयोगमा गर्व गर्न सिक्नुपर्छ ।’ प्रधानमन्त्रीले अहिलेको सरकारले जनतालाई सेवा र सुविधा दिनका लागि विद्यमान प्रणालीलाई बलियो बनाउँदै उत्पादन र उत्पादकत्व वृद्धि गर्न क्रियाशील रहेको जनाए । साथै, निजी क्षेत्रबाट प्राप्त सुझावका आधारमा नीति तथा कानुन निर्माण भइरहेको पनि उनले स्पष्ट पारे ।

अब वैदेशिक ऋण अनुदान कम आउनेछ : परराष्ट्रमन्त्री राणा

कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले अन्तर्राष्ट्रिय स्तरबाट आउने गरेका अनुदानहरू संकुचित हुँदै गएको बताइन् । उनले अन्तर्राष्ट्रिय स्तरबाट आउने अनुदान संकुचित हुँदै गएको र यो भूराजनीतिक कारणले अझै घट्ने सम्भावना रहेको बताइन् ।

‘सबै नेपाली आर्थिक विकास र प्रगतिको आकाक्षी छौँ । ती आकांक्षाहरू निजी क्षेत्रको सक्रियता र सहभागिताबाट मात्रै हासिल गर्न सकिनेछ । अधिकतम विकास, विकासशील राष्ट्रमा उक्लिन नेपालले दिगो विकासका लक्ष्यहरू हासिल गर्नुपर्नेछ’, उनले भनिन्, ‘द्रुत आर्थिक वृद्धि एवं विकासको आकांक्षा हामीलाई पूरा गर्नुछ । अब वैदेशिक ऋण अनुदान पहिलाभन्दा कम आउनेछ ।’

उनका अनुसार २०४६ सालमा २० अर्बको बजेट हुँदा ५० प्रतिशत वैदेशिक ऋण र २०८१ सालमा अनुदानको हिस्सा १८ खर्बको बजेटमा १४ दशमलव ४ प्रतिशत थियो । उनले पुँजीगत खर्च बढाउन जरुरी रहेको र त्यसका लागि सरकार कटिवद्ध रहेको समेत बताइन् ।

भूराजनीतिका कारण अर्थतन्त्र दबाबमै छ : उद्योगमन्त्री

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले कोभिड–१९ र भूराजनीतिका कारण अर्थतन्त्रमा दबाबको सिर्जना भएको बताए । उनले उद्योग क्षेत्रको विकास सरकारको उच्च प्राथमिकतामा रहेको बताउँदै स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने, आयात प्रतिस्थापन, निर्यात प्रवद्र्धन गर्ने सरकारको नीति नै रहेको बताए । लगानीमैत्री वातारण सिर्जनाका लागि सरकारले कानुनहरू संशोधन गरेको उनको भनाइ छ ।

आर्थिक समृद्धि र विकासको नेतृत्व निजी क्षेत्रले गर्नुपर्छ : चन्द्र ढकाल

कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आर्थिक समृद्धि र विकासको नेतृत्व निजी क्षेत्रले गर्नुपर्ने बताए । उनले सरकारले अघि सारेको समृद्धिको लक्ष्य पूरा गर्न निजी क्षेत्रले निर्वाध रूपमा काम गर्न पाउने विषय पहिलो प्राथमिकता हुनुपर्ने बताए ।

अर्थतन्त्र, विकास र समृद्धिमा राजनीतिक दलहरूको साझा धारणा बनाउनुपर्नेमा अध्यक्ष ढकालको जोड थियो । उनले भने, ‘अर्थतन्त्रलाई कुनै पनि वादले बिथोल्नु हुँदैन । यसलाई सबैभन्दा माथि राख्नुपर्छ । मुलुकमा समृद्धि आउनु भनेको सबैले अवसर पाउनु हो । त्यसका लागि पैसा, बुद्धि, विवेक र सीपको लगानी गर्नुपर्छ । त्यो भन्दा पनि पहिले पैसाको लगानी हुनु आवश्यक छ । जसले पछि उत्पादन गर्दा श्रम र सीपको माग गर्नेछ ।’

विगतमा सरकारले चाहिनेभन्दा बढी सतर्कता अपनाउँदा अर्थतन्त्र संकुचन भएको उल्लेख गर्दै उनले त्यतिबेला बजारको माग नियन्त्रण गर्न अपनाइएका ती नीतिगत निर्णयले बजारलाई अझैसम्म चलायमान हुन नदिएको धारणा राखे । प्रतिकूलतामा अनुकूलता खोज्दै देशमा केही गर्ने वातावरण सिर्जना गर्नेतर्फ सरकार र निजी क्षेत्र लाग्नुपर्नेमा अध्यक्ष ढकालको जोड थियो ।

पछिल्लो २ वर्षमा भारत, चीन र युएईमा सम्पन्न ४ वटा सम्मेलनको अनुभवबाट विदेशी लगानीकर्ता नेपाल आउन इच्छुक रहेको उल्लेख गर्दै अध्यक्ष ढकालले सार्थक प्रयास गर्ने हो भने विदेशी लगानी बढाउन सकिने बताए ।

प्रतिक्रिया