सक्रीय राजनीतिमा फर्के रवि

काठमाडौँ । साढे ५ महिनापछि रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीको बागडोर सम्हालेका छन् । सोमबार बसेको पार्टीको केन्द्रीय बैठकमार्फत् पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्रीसमेत रहेका लामिछाने पार्टीको औपचारिक जिम्मेवारीमा फर्किएका हुन् । सहकारीको रकम अपचलन अभियोगमा गत कात्तिक २ गते पार्टी कार्यालयबाटै गिरफ्तार भएपछि उनले पार्टीको नेतृत्वका लागि उपसभापति डिपी अर्यालले कार्यबाहक र संसद्मा बिराजभक्त श्रेष्ठलाई दलको नेताको जिम्मेवारी दिएका थिए ।

कात्तिक २ मा पक्राउ परेका लामिछाने २५ पुसमा जिल्ला अदालत कास्कीबाट धरौटीमा रिहा भएका थिए । त्यसपछि काठमाडौँ, चितवन, बुटवलको न्यायीक हिरासतमा बसी धरौटीमा रिहा भए । संसद् सचिवालयले उनलाई निलम्बन गरेका कारण उनको संसद् प्रवेश भने तत्कालका लागि रोकीएको छ । निलम्बन फुकुवाका उनले गत माघ १८ मा सभामुख देवराज घिमिरेलाई निवेदन दिए छन् । सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा चलाइएकाले उनलाई सांसद पदबाट निलम्बन गरिएको हो ।

केन्द्रीय समिति बैठकअघि पत्रकार सम्मेलन गर्दै लामिछानेले दुई तिहाइको सरकाले आफूलाई जिउँदो छोड्नु नै खुशीको कुरा भएको बताए । त्यस्तै, बलियो सरकार बनाउने सम्भावना कांग्रेस र एमालेले समाप्त गरेको तथा आफूहरु जोगिनका लागि यी २ दल मिलेको आरोप उनको छ । सभापति लामिछानेले भने, ‘सरकारको षड्यन्त्रको सिलसिला सकिएको छैन । दुई तिहाइको सरकारले जिउँदै छोडेको छ यही मेरो जित हो ।’

उनले जनताका असन्तुष्टी सम्बोधन गर्न शान्तिपूर्ण अभियानका लागि तयार रहन आह्वानसमेत गरेका छन् । लामिछानेले भने ‘जनतामा रहेको आक्रोशलाई सम्बोधन गर्न हामी तयार हुनुपर्छ, कसैलाई गाली गरेर, होच्याएर केही हुनेवाला छैन, शान्तिपूर्ण अभियान मर्न दिनुहुँदैन ।’

प्रतिक्रिया