मन्त्री यादवलाई योजना बेचेको आरोप

महोत्तरी । यतिबेला नेकपा एमाले संसदीय दलका नेता तथा मधेस प्रदेशका भौतिक पूर्वाधार मन्त्री गृह जिल्ला महोत्तरीको विभिन्न पालिकाहरूमा भौतिक पूर्वाधारको शिलान्यास गर्दै हिँडेका छन् ।

तर, सदनदेखि सडकसम्म मन्त्री यादवले योजनाहरू बेचेको आरोप लागिरहेको छ । यता शिलान्यास गर्दै हिँडेका योजनाहरूमा नै जनताले किन अपनत्व लिन सकेका छैनन् भन्ने मधेसको राजनीतिवृत्तमा चर्चा र आशंकाहरू पनि त्यतिकै छन् ।

गत ९ गते बसेको प्रदेशसभा बैठकमा त मन्त्री यादवलाई लक्षित गर्दै योजनाहरू बेचेर मोटो रकम लिइरहेको संसदहरूले आरोप लगाए । यसै क्रममा माओवादी र जसपाका संसदहरूले बैठक नै बहिष्कार गरेका थिए । सभामुख रामचन्द्र मण्डलको अनुरोधमा १० मिनेटपछि पुनः बैठक सुचारु भयो ।

माओवादी केन्द्र संसदीय दलका नेता तथा पूर्वमन्त्री भरतप्रसाद साहले भ्रष्टाचारी विरोधी अभियान प्रारम्भ भएको सदनबाट नै घोषणा गर्दै भौतिक पूर्वाधार मन्त्रालयमा चलखेल भइरहेको जिकिर गरे । पालिकाहरूमा कमिसन लिनैका लागि मन्त्रालयले प्रदेशका कर्मचारीहरूलाई निरुत्साहित गरेको र संघका कर्मचारीहरूलाई जिम्मेवारी दिइरहेकोप्रति उनले खेद प्रकट गरे । विपक्षी दलका नेताहरूले विकासको नाममा कार्यकर्ताहरूलाई खुसी बनाउन मन्त्री यादवले बजेट दिने र सोही बजेटवापत निश्चित प्रतिशत आफ्नै नाममा राख्ने धन्दा नै चलाएको दाबी गर्दै आएका छन् ।

यसै क्रममा मन्त्री यादवले योजनाहरू बेच्ने गरेको अडानसहित विपक्षी दलहरूले छानबिन समितिको मागसमेत राखेका छन् । उपभोक्ता समिति नक्कली बनाएर वास्तविक उपभोक्ताहरूमाथि अन्याय गरेको, विचौलियाको माध्यमबाट रकम असुल्ने गरेको र विकासका कामहरू जनताको हितमा नगरेको उनीमाथि आरोप लाग्ने गरेको छ ।

मन्त्री यादवले बदमासी नै गरिरहेको उनकै पार्टीका केही नेताहरूले पनि असन्तुष्टि व्यक्त गर्न लागेका छन् । ‘यो लामो समयसम्म जान सक्दैन, पार्टीलाई सिध्याउने र क्षणिकरूपमा आर्थिक लाभ लिनेबाहेक अन्य केही नभएको स्पष्ट देखिन्छ ।’ एमाले मधेस प्रदेशस्तरीय एक नेताले भने, ‘मन्त्री यादवको दादागिरी बढी नै भएको छ ।’

आममानिसहरूले यस्तै असन्तुष्टिहरू व्यक्त गर्न थालेपछि जिल्ला समन्वय समिति महोत्तरीले उपभोक्ता समितिको नाममा विचौलिया हावी भएको भन्दै विकासका आयोजना र सुशासनको सम्बन्धमा ध्यानाकर्षण जनाएको छ ।

बुधबार जिल्ला समन्वय समितिका प्रमुख सुमनलाल कर्णले एक प्रेस विज्ञप्ति जारी गर्दै आयोजनाहरूको गुणस्तरमा सर्वत्र गुनासो बढीरहेको र उपभोक्ता समितिवाट विकृत अभ्यासहरू भइरहेकोप्रति ध्यानाकर्षण जनाएका छन् ।

जिल्लामा सञ्चालित विकास कार्यक्रमहरूबाट लक्षित प्रतिफल प्राप्त हुनेगरी प्रचलित कानुन बमोजिम कार्यसम्पादन गर्नुपर्ने भए तापनि विकासको लाभ जनस्तरसम्म पुग्न नसकेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

कानुनले तोकेको जिम्मेवारी र जवाफदेहिता पालन नगरी राज्यको सम्पत्तिको हानि–नोक्सानीको विषयमा सूचना प्राप्त भएमा वा अनुगमन गर्दा कैफियत देखिएमा सम्बन्धित निकाय र उपभोक्ता समिति नै जवाफदेही हुने व्यवस्था भएको हुनाले सबैलाई गम्भीर बन्न ध्यानाकर्षण गराइएको छ ।

मन्त्री यादवलाई विपक्षी बनाएर स्थानीय उपभोक्ताहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासमा उजुरी दर्तासमेत गरेका छन् भने आयोगले पारम्भिक छानबिन प्रक्रियाअगाडि बढाएको जनाएको छ । यसै क्रममा मधेस प्रदेशका ८ वटै पूर्वाधार कार्यालयहरूमा आयोगले कागजातको मागसमेत गरिसकेको छ ।

तर मन्त्री निकट कार्यकर्ताहरूले विपक्षीहरूले विकासको लहर देखेर अतालिएको प्रतिक्रिया दिएका छन् । उनी पनि विपक्षीहरूले खुट्टा तान्ने प्रपञ्च मात्र भएको दाबी गर्छन् । कमिसनको हो–हल्ला गरेर आफ्नो चरित्र हत्या गर्न खोजेको र यदि त्यस्तो प्रमाणित भए जस्तोसुकै सजाय भोग्न तयार रहेको मन्त्री यादवको भनाइ छ ।

योजनाकै नाममा मन्त्री यादवले केही दिनअगाडि पत्रकारहरूले समेत धम्की दिने गरेको बताएका थिए । प्रेस सम्बद्व संगठनहरूले उन्को भनाइप्रति आपत्ति जनाउँदै प्रेस विज्ञप्ति नै जारी गरेपछि सबै पत्रकारहरूले नभई जनकपुर टुडेका सम्पादक वृजकुमार यादवले धम्क्याएको आरोप लगाएका थिए ।

उनले आफूलाई विभिन्न ढंगले सफाइ पेस गरे तापनि पार्टीभित्र नै असन्तुष्टिहरू बढ्दै गएको देखिएको छ । अहिले नेकपा एमालेमा नै स्पष्ट २ गुट देखिन्छ, यादव र यादव इतरको समूह । मन्त्री यादवले युवा कार्यकर्ताहरूलाई हातमा लिएर आफू बलियो बन्ने अस्त्र बनाएका छन् भने इतर समूहका नेताहरू पुराना र राजनीतिक पृष्ठभूमिका छन् । नेता यादवले महोत्तरी जिल्ला नेतृत्व निर्वाचन गर्ने क्रममा नै आफूलाई प्रमाणित गरिसकेका छन् भने मधेसका अन्य जिल्लामा समेत बलियो पकड उनकै छ ।

मन्त्री यादवमाथि योजना बेचेको, उपभोक्ता समितिको नाममा विचौलिया खडा गरेको बाक्लै आरोप लागिरहेको बेला यसको बलियो प्रष्टीकरण पनि युवा नेता, कार्यकर्ताहरू नै बनेका छन् । युवा नेता निरज अधिकारी नेता यादवको बढ्दो लोकप्रियतालाई आक्रमण गर्न मात्र खोजेको बताउँछन् । महोत्तरी एमालेको सान मात्र नभएर मधेस प्रदेशकै ऊर्जावान नेता भएको हुनाले उनलाई ब्रेक लगाउन विपक्षी र पार्टीभित्रैवाट षड्यन्त्र बुनिरहेको र त्यो सफल नहुने उनले दाबी गरे ।

तर, विवाद नै विवादका बीचमा झेलिएका यादवलाई दैनिक प्रष्टीकरण दिन नै खर्चिनु परेको छ । पार्टीभित्रबाट नै असन्तुष्टिको कारक बनिरहेका नेता यादवले युवा नेता, कार्यकर्ताको बुई चढेर राजनीति भविष्यलाई कतिको अगाडि बढाउलान् भन्ने आममानिसका आफ्नै अड्कलबाजी बग्रेल्ती देखिन्छन् ।

प्रतिक्रिया