मधेसमा सत्ता–प्रतिपक्षबीच आरोप प्रत्यारोप, मन्त्रीहरूद्वारा पत्रकारमाथि लाञ्छना

जनकपुरधाम । मधेस प्रदेशमा सत्तारूढ र विपक्षी दलहरूको बीचमा आरोप प्रत्यारोप मात्रै होइन मन्त्री र पत्रकारबीच जुहारी चल्न थालेको छ । एकातिर, प्रदेश सरकारले भ्रष्टाचार र अनियमितता गरेको आरोप विपक्षी दलहरूले सदनमै उठाइरहेका छन् भने अर्कातर्फ मुख्यमन्त्रीदेखि लिएर मन्त्रीहरूले पत्रकारहरूमाथि विभिन्न लाञ्छना लगाएका छन् ।

मधेस प्रदेशमा विपक्षी दलहरू जसपा नेपाल, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले मुख्यमन्त्री सतिशकुमार सिंह नेतृत्वको सरकारमाथि गम्भीर आरोप लगाएका छन् । आइतबार बसेको प्रदेश सभा बैठकको सुरुमै माओवादी संसदीय दलका नेता भरतप्रसाद साहले मुख्यमन्त्री सिंहले कूटनीतिक मर्यादा उल्लंघन गर्दै विदेश भ्रमण गरेको, गणतन्त्र विरोधी गतिविधिमा संलग्न भएको र भौतिक पूर्वाधार मन्त्रालयमा संघका कर्मचारीहरूसँग मिलेर पैसाको लेनदेनको आधारमा योजनाहरू बिक्री गरेको आरोप लगाएका थिए । साहले प्रदेश सरकारको अनियमितता र भ्रष्टाचारमाथि संसदीय छानबिन समिति गठन गर्न मागसमेत गरे ।

संसदमा जसपा नेपालका संसदीय दलका नेता सरोजकुमार यादवले पनि सरकारमाथि योजनाहरू सचिवालयबाट सिधा मन्त्रीहरूका सचिवालयमा वितरण गर्ने गरेको आरोप लगाए । सांसदहरूले ५ करोडसम्मको योजना पाएको विषयमा छानबिनको माग राख्दै यादवले भने, ‘योजनाहरू मन्त्रीहरूकै कार्यालयबाट बाँडफाँड हुने गरेको छ । यसबारे छानबिन हुनैपर्छ ।’
विपक्षी दलहरू प्रदेश सरकारमाथि योजना बिक्री र अनियमितताको आरोप लगाइरहेका बेला प्रदेश सरकारका मन्त्रीहरू भने पत्रकारहरूमाथि लाञ्छना लगाएर आफूलाई चोख्याउने प्रयासमा छन् । भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादव, मुख्यमन्त्री सतिशकुमार सिंह र गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले पत्रकारहरूको आलोचना गर्दै विभिन्न आरोप लगाएका छन् ।

सोमबार आयोजित पत्रकार आचारसंहितासम्बन्धी कार्यक्रममा बोल्दै मन्त्री लेखीले भने, ‘धनुषामा २०० भन्दा बढी पत्रकारहरू छन् । तर, ४५ जना मात्रै कार्यक्रममा आए । तीमध्ये पनि १३–१४ जना मात्रै लेख्न र बोल्न सक्षम छन् ।’ भौतिक पूर्वाधार मन्त्री सरोजकुमार यादवले यसअघि पत्रकारहरूकै कारण आफू डिप्रेसनमा परेको भनेर टिप्पणी गरेका थिए । उनले पत्रकारहरूले विज्ञापन माग गरेको तर नदिँदा चरित्र हत्या गर्ने किसिमको समाचार छापेर हैरान पारेको बताएका थिए । त्यसैगरी मुख्यमन्त्री सतिशकुमार सिंहले पत्रकारहरूले चरित्र हत्या गर्ने किसिमका सामाचार बनाएर हैरान पारेको बताएका थिए । उनले एक कार्यक्रममा अनलाइन मिडिया र युट्युबबाट पाठक तथा श्रोतामा भ्रम सृजना हुने समाचार सम्प्रेषण भएकोमा चिन्ता व्यक्त गरेका थिए ।

मन्त्रीहरूका बेला बेला आइरहने यस्ता टिप्पणीप्रति प्रतिक्रिया दिँदै नेपाल पत्रकार महासंघ धनुषाका पूर्वअध्यक्ष अनिल मिश्रले सरकारका मन्त्रीहरूले आफ्ना असफलता ढाकछोप गर्न पत्रकारहरूमाथि आरोप लगाएको बताए । ‘प्रदेश सरकारले गरेका भ्रष्टाचार र अनियमितता ढाक्न मन्त्रीहरूले पत्रकारहरूलाई दोषारोपण गरिरहेका छन्’, मिश्रले भने ।


त्यस्तै नेपाल पत्रकार महासंघ मधेस प्रदेश समितिका सल्लाहकार अवधेश झाले प्रदेश सरकारले प्रेस स्वतन्त्रतामाथि आक्रमण गर्न खोजिरहेको आरोप लगाउँदै भने, ‘प्रेस स्वतन्त्रतामा आक्रमण गरेर भ्रष्टाचारको वास्तविकता छोप्न खोजिएको छ । यो लोकतन्त्रको अपमान हो ।’ पत्रकार महासंघका पूर्वमहासचिव किरण कर्णले पत्रकारमाथि लगाएको आक्षेप असफलता ढाकछोप गर्ने प्रयत्न मात्र भएको बताए ।

प्रतिक्रिया