काठमाडौँ । राजसंस्था र हिन्दु राष्ट्र पुनस्र्थापनाका लागि एकीकृत आन्दोलनको तयारी गरिरहेका राजावादीहरूले छुट्टाछुट्टै रूपमा आन्दोलनको घोषणा गरेका छन् । संवैधानिक राजसंस्था पुनस्र्थापना, सनातन हिन्दु अधिराज्य पुनस्र्थापना, संघीयता खारेजी र भ्रष्टाचार नियन्त्रण तथा सुशासनको एजेन्डामा मोर्चाबन्दी गरिए पनि आ–आफ्नो समूह केन्द्रित आन्दोलनमा सक्रिय भएका हुन् ।
‘राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ मा आबद्ध घटकहरूले छुट्टाछुट्टै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेसँगै यसको औचित्य र प्रभावमाथि नै प्रश्न उठेको छ । पूर्वराजा ज्ञानेन्द्र शाहकै पहल र सक्रियतामा गठन भएको भनिएको मोर्चाको नेतृत्व सर्वस्वीकार्य हुन नसक्दा राजावादी अन्दोलन एकढिक्का हुन सकेको छैन ।
गत ४ चैतमा पूर्वराजा ज्ञानेन्द्र शाहको रोजाइमा परेका पञ्चायतकालीन नेता नवराज सुवेदीको संयोजकत्वमा ११ सदस्यीय संयुक्त जनआन्दोलन समिति गठन भएको थियो । जसलाई निर्देशक समिति भनिएको छ । सोही निर्देशक समितिको मातहतमा रहने गरी राप्रपा महामन्त्री धवलशमशेर जबराको नेतृत्वमा आन्दोलन परिचालन समिति समेत गठन भएको थियो । तर, सो समितिले हालसम्म कुनै पनि आन्दोलनको घोषणा गर्न नसकेपछि घटक समूहले गरेको आन्दोलनको स्वामित्व लिनुपर्ने अवस्था आइपुगेको छ ।
नेतृत्व होडबाजीले बरालिँदै आन्दोलन !
समिति गठनकै दिन राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा र केशरबहादुर विष्टलगायतले समितिमा नबस्ने घोषणा गरेपछि मोर्चाबन्दीको पहिलो प्रयासमै धक्का लागेको थियो । त्यसयता समितिले हालसम्म पूर्णता पाउन सकेको छैन भने एकीकृत संघर्षको कार्यक्रम पनि सार्वजनिक गर्न सकेको छैन । बरु समिति अन्य घटक समूहले गर्ने कार्यक्रमको स्वामित्व लिन अघि सरेको छ ।
निर्देशक समितिको सदस्य समेत रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँले सञ्चालन गरिरहेको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔँ महाअभियानले १५ चैतमा काठमाडौँमा प्रदर्शनको घोषणा गरेको छ । गणतन्त्र पक्षधर समाजवादी मोर्चाको शक्ति प्रदर्शनकै दिन प्रसाईंले पनि प्रदर्शन घोषणा गरेका हुन् । उनले घोषणा गरेको प्रदर्शनलाई सुवेदी नेतृत्वको समितिले स्वामित्व लिने भएको छ ।
समितिले आन्दोलन गर्ने औपचारिक निर्णय गरेर जनपरिचालन गरेको छैन । तर, संयोजक सुवेदीले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै राजसंस्था पुनस्र्थापनाका लागि राजधानी केन्द्रित हुने आन्दोलन तथा प्रदर्शनमा समितिको पूर्ण साथ सहयोग रहने बताएका छन् । उनले प्रदर्शनमा आउन अपिलसमेत गरेका छन् ।
यता, निर्देशक समितिअन्तर्गत नै रहने आन्दोलन परिचालन समितिको संयोजक राप्रपा महामन्त्री धवलशमशेर राणा छन् । राप्रपाको आन्दोलन परिचालन समितिमा रहेका उनी ४ चैतमा जनआन्दोलन समितिको समेत आन्दोलन परिचालन समिति संयोजक बनेपछि राप्रपाले उनको जिम्मेवारी खोस्यो । ५ चैतमा बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आन्दोलन परिचालनको नेतृत्व अध्यक्ष राजेन्द्र लिङ्देन स्वयंलाई दियो । सुवेदी नेतृत्वको समितिको आन्दोलन परिचालनको जिम्मेवारी पाएका राणाले पनि ८ चैतमा बैठक राखी आन्दोलन परिचालन समिति गठन भएको घोषणा गरे । तर, यो समितिले आन्दोलन कहिले र कसरी गर्ने भन्ने कुनै घोषणा गर्न सकेको छैन । यसरी व्यक्तिपिच्छेको आन्दोलन समिति घोषणार आन्दोलन तयारीले मोर्चाले एकीकृत स्वरुप गठन गर्न नसकेको हो । सर्वस्वीकार्य नेतृत्व नहुँदा कसैले कसैको कुरा नसुनी आन्दोलनमा जाने अवस्था देखिएको छ ।
सौर्य दैनिकसँग कुरा गर्दै निर्देशक समिति सदस्य अस्मिता भण्डारीले समिति र पार्टीले गर्ने कार्यक्रम फरक–फरक भएको बताइन् । उनले नेतृत्वमा कुनै समस्या नभएको बताउँदै भनिन्, ‘पार्टीले गर्ने काम पार्टीले गर्छन् । समितिले सबैलाई समेटेर गर्छ । उहाँ (नवराज सुवेदी)को नेतृत्व अस्वीकार गरेको होइन । पार्टीले नेतृत्व गरेर आन्दोलनमा जाने काम छदैँ छ । राप्रपाले समितिलाई सहयोग गरेर अघि बढ्छ र समितिले पनि राप्रपालाई सहयोग गरेर अघि बढ्छ ।’
२६ चैतमा शक्ति प्रदर्शन गर्दै राप्रपा
यता, राजा फर्काउने अभियानमा रहेको राप्रपाले छुट्टै कार्यक्रम घोषणा गरेको छ । मंगलबार अध्यक्ष लिङ्देनको अध्यक्षतामा बसेको मूल आन्दोलन समिति बैठकले २६ चैतमा प्रदर्शन गर्ने निर्णय गरेको हो । २६ गते काठमाडौँमा बागमती प्रदेशस्तरीय प्रदर्शन तथा सभा आयोजना गर्न लागिएको राप्रपाले जनाएको छ । त्यस्तै, २०८२ वैशाख ७ गतेबाट राजधानी केन्द्रित कार्यक्रम निरन्तर गर्ने पनि निर्णय भएको छ ।
सौर्य दैनिकसँग कुरा गर्दै राप्रपा उपाध्यक्ष बुद्धिमान तामाङले अन्य समूहहरूले पनि आन्दोलनका निम्ति सहयोग मागेमा सहयोग गर्ने निर्णय भएको बताए । उनले छुट्टाछुट्टै आन्दोलन गर्दा पनि राजावादी आन्दोलनलाई सहयोग पुग्ने प्रतिक्रिया दिए । ‘सबैले आन्दोलन गर्दा झनै उद्देश्य प्राप्तिमा सहज नै हुन्छ नि ! यसको कुनै बेफाइदा छैन,’ उनले भने ।
सुवेदी नेतृत्वको समितिको छैन योजना
संयुक्त जनआन्दोलन समितिले तत्कालै नयाँ योजना नल्याउने जनाइएको छ । हाललाई १५ चैतमा हुने प्रदर्शनमै केन्द्रित भएको भण्डारीले बताइन् । दुर्गा प्रसाई निर्देशक समितिकै सदस्य भएको र पूर्वनिर्धारित सो कार्यक्रमको प्रकृति समितिको भावनाअनकूल भएकोले नै समितिले स्वामित्व लिएको उनको भनाइ छ । आगामी दिनमा बैठक राखेर आगामी कार्यक्रमबारे छलफल हुने उनले बताइन् ।
पूर्वराजालाई अग्रसरता लिन आग्रह !
पूर्वराजा र स्वयं राजावादी शक्तिहरूले समेत चाहेजस्तो सर्वस्वीकार्य मोर्चा बन्न नसकेपछि नेताहरूले पूर्वराजा शाहलाई यसबारे ब्रिफिङ गरेका छन् । सौर्य दैनिकलाई स्रोतले बताएअनुसार यसरी आन्दोलन अघि बढाउन नसकिने भन्दै सबै राजावादी शक्तिहरूलाई एकताबद्ध गराउने काममा अग्रसरता लिइदिन शाहलाई आग्रह गरिएको छ । एकले अर्कोलाई नस्वीकार्ने अवस्थाले आन्दोलनले सफलता प्राप्त नगर्ने भन्दै कुनै न कुनै रूपमा यो आन्दोलनको नेतृत्व अब पूर्वराजा शाहमै केन्द्रित हुनुपर्नेमा नेताहरूले जोड दिएका छन् । यद्यपि पूर्वराजा शाहले यस सन्दर्भमा कुनै प्रतिक्रिया दिइसकेका छैनन् । निर्देशक समितिले पनि औपचारिक रूपमा पूर्वराजालाई भेट्ने तयारी गरिरहेको छ ।
सौर्य दैनिकसँग कुरा गर्दै समिति सदस्य भण्डारीले भने यस प्रकारको आन्दोलनको नेतृत्व पूर्वराजा शाहले नगर्ने बताइन् । उनले सबै मिलेर अघि बढ्ने भन्दै पूर्वराजालाई अग्रसरता लिन आग्रह गरिएको भन्ने कुरा हावादारी र कपोलकल्पित भएको बताइन् । ‘राजा नेताभन्दा माथि हो । त्यसकारण राजा हो । राजा सबैको साझा हो, अभिभावक हो,’ उनले भनिन्, ‘राजाले नेतृत्व लिने भन्ने कुरा हावादारी र कपोलकल्पित हो ।’
प्रतिक्रिया