हिन्दु राष्ट्र र संघीयताको विषयमा अनिर्णीत कांग्रेस

गणतन्त्रप्रति प्रतिबद्धता भन्दै गोलमटोल निर्णय, राजावादीलाई भाउ नदिने

काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसले हिन्दु राष्ट्र कायम गराउनुपर्ने र संघीयता खारेजीको विषयमा आफ्नो ‘कित्ता क्लियर’ गर्न सकेको छैन । कांग्रेसभित्र पछिल्लो समय सनातन हिन्दु राष्ट्र कायम गराउनुपर्ने र संघीयता खारेजीको पक्षमा उभिनुपर्ने मत बढ्दै गएको सन्दर्भमा कांग्रेसले छिट्टै औपचारिक धारणा बाहिर ल्याउने अपेक्षा गरिएको थियो ।

राजतन्त्रवादीहरूले समेत सक्रियता बढाइरहेको सन्दर्भमा नेपाली कांग्रेसको पछिल्लो बैठकले हिन्दु राष्ट्र कायम र संघीयता खारेजीलगायत दीर्घकालीन र राष्ट्रिय महत्वका विषयमा दृष्टिकोण सार्वजनिक गर्ने नेता कार्यकर्ताहरूले अपेक्षा गरेका थिए । तर, आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कार्यसम्पादन समिति बैठकले सो विषय अन्योलमा राख्दै गोलमटोल निर्णय गरेको छ ।

कांग्रेसले केही समयअघि संविधान संशोधनका लागि एजेन्डा तय गर्न भन्दै सातै प्रदेशमा ‘संविधान संशोधन ः आवश्यकता र चुनौती’ विषयक अन्तक्र्रिया कार्यक्रम गरेको थियो । पार्टीको पेसागत तथा बुद्धिजीवी विभागले गरेको अन्तक्र्रियाको निष्कर्ष प्रतिवेदन विभाग प्रमुख डा. डिला संग्रौलाले गत बुधबार सभापति शेरबहादुर देउवालाई हस्तान्तरण गरेकी थिइन् । सो प्रतिवेदनमा पनि कांग्रेस हिन्दु राष्ट्रको पक्षमा उभिनुपर्ने सुझाव दिइएको थियो । संघीयताको विषयमा प्रशासनिक खर्च कटौती गर्ने गरी संशोधन गर्नुपर्ने सुझाव थियो । यद्यपि कांग्रेसका कतिपय नेताहरूले संघीयताको विरुद्धमा अभिव्यक्ति दिँदै आएका छन् । ती सबै व्यक्तिगत धारणा भएकाले र संग्रौलाले बुझाएको प्रतिवेदनको बारेमा कांग्रेसले कित्ता क्लियर गर्ने अपेक्षा गरिए पनि बैठकमा यस विषयले प्रवेश नै पाएन ।

राजावादी मुभमेन्टको काउन्टरमा नजाने

कांग्रेस कार्यसम्पादन समिति बैठकले हाल देशमा चलिरहेको राजावादी शक्तिको ‘मुभमेन्ट’लाई भने नजरअन्दाज गरेको छ । बैठकमा बोल्ने नेताहरूले मलुककै ठुलो र लोकतन्त्रका निम्ति लडेको कांग्रेसले पूर्वराजा ज्ञानेन्द्र शाह र राजावादी संघसंगठनले गरिरहेका कार्यक्रमहरूलाई भाउ दिनु नहुने धारणा राखेका थिए । सोही अनुरुप कांग्रेसले औपचारिक रूपमा उनीहरूको कार्यक्रम तथा प्रदर्शनको सन्दर्भमा औपचारिक रूपमा कुनै टिप्पणी गरेको छैन ।

सौर्य दैनिकसँग कुरा गर्दै बैठकमा सहभागी एक पदाधिकारीले कांग्रेसले पूर्वराजा र राजावादी शक्तिका गतिविधिलाई औपचारिक मञ्चमा महत्व नदिने कुरा भएको जानकारी दिए । कांग्रेसले संघीय लोकतान्त्रिक गणतन्त्रप्रति भने पार्टी प्रतिबद्ध रहेको स्पष्ट पारेको छ । बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले बैठकले कांग्रेस गणतन्त्रिक व्यवस्थाप्रति पूर्ण प्रतिबद्ध रहने निर्णय गरेको बताए ।

‘नेपाली जनतामा निहित सार्वभौमसत्ताको प्रयोग गर्दै जनताले चुनेका प्रतिनिधिहरूको प्रत्यक्ष सहभागितामा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान निर्माण भएको हो,’ विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेस यो संविधान र संविधानमा आधारित संघीय लोकतान्त्रिक गणतन्त्रप्रति निरन्तर र पूर्ण प्रतिबद्ध रहेको र रहिरहने दृढता व्यक्त गर्दछ ।’ संविधानको संरक्षण, संवद्र्धन र कार्यान्वयनमार्फत् मुलुकलाई भ्रष्टाचारमुक्त र सुशासनयुक्त, सामाजिक विकृति र विसंगतिबाट मुक्त बनाउन सकिने कांग्रेसको विश्वास छ । यसरी नै जनताको निरन्तर प्रगतिको अपेक्षा र आवश्यकता सम्बोधन गर्न सकिने पनि विश्वास व्यक्त गरेको छ । कांग्रेसले सोही विश्वासका साथ अघि बढ्नु अहिलेको मुख्य राष्ट्रिय जिम्मेवारी भएको भन्दै यसका निम्ति आवश्यक अग्रसरता लिने निर्णय पनि गरेको छ ।

सडकमा आएका राजावादीहरूलाई टक्कर दिन शक्ति प्रदर्शनको प्रतिस्पर्धामा कांग्रेस नभएको प्रवक्ता महतले बताए । वर्तमान संविधानको पक्षमा सबै जनता उभिएको भन्दै शक्ति प्रदर्शन आवश्यक नभएको उनले बताए । उनले भने, ‘कांग्रेस तत्काल सडकमा उत्रिएर आफ्नो कुरा राख्नुपर्ने ठान्दैन । हामीले यो संविधानलाई दृढताका साथ समर्थन गर्ने क्रममा पार्टी पंक्तिलाई भने सुसूचित गर्छौं ।’

यसैबीच, बैठकले पार्टीको महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य निर्वाचित हुनका लागि पार्टीको क्रियाशील सदस्य हुन अनिवार्य गरेको छ । त्यस्तै, जनसम्पर्क समितिको अध्यक्ष स्वतः महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य हुने व्यवस्था पनि हटाएको छ । बैठकले सिरहा जिल्लास्थित औरही गाउँपालिका–५ मा विष्णु महायज्ञ आयोजना गर्न भन्दै दलित समुदायका दीपक मरिकको घर भत्काएको घटनाप्रति भत्र्सना गर्दै दोषीमाथि कारबाहीको माग गरेको छ । देशैभर जातीय भेदभाव र छुवाछूतजन्य कार्यका विरुद्ध सामाजिक अभियान सञ्चालनमा लाग्न पनि कांग्रेसले पार्टी पंक्तिलाई आह्वान गरेको छ ।

प्रतिक्रिया