पूर्वराजा शाहलाई प्रचण्डको चेतावनी– तिमी पनि गणतन्त्रको भिलेन हौ, ठूलो मूल्य चुकाउनुपर्ला

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वराजा ज्ञानेन्द्र शाह तथा राजावादीहरुलाई लक्षित गर्दै ठूलो मूल्य चुकाउनुपर्ला भन्दै चेतावनी दिएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित २७औँ सांस्कृतिक प्रतिरोध दिवस, सहिद परिवार अभिनन्दन तथा जनसांस्कृतिक राष्ट्रिय सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले यस्तो चेतावनी दिएका हुन् ।

अध्यक्ष दाहालले भने, ‘फेरि अर्को मुर्खता नगरियोस्, नत्र त्यसले निकै ठूलो मूल्य चुकाउनुपर्ने हुन्छ, अहिले जुन डिबेट सुरु भएको छ, यसले नेपाली जनतालाई अझै बढी चेतनशील बनाउन, नयाँ विचार र सिद्धान्तको खोजी गर्ने अवसर हुन सक्छ, राजतन्त्र पुनः स्थापना त असम्भव छ, तर यसले बहसले समाजवादको यात्रा फराकिलो बनाउँछ भन्ने मेरो बुझाइ छ ।’

उनले पूर्वराजा शाहलाई लक्षित गर्दै संयमित भएर बस्न आग्रह गरे । ‘संययमित रुपले बस्नुको सट्टा सक्रिय भएको छ, यसको परिणाम ठूलो चुकाउनुपर्नेछ’, उनले भने । प्रचण्डले अहिलेको गणतन्त्र स्थापना गर्न पूर्वराजा ज्ञानेन्द्रको भिलेनको भूमिका महत्वपूर्ण भएको बताए ।

अध्यक्ष दाहालले भने, ‘मैले शान्ति सम्झौतामा हस्ताक्षर गर्दा त्यतिबेला तत्कालिन राजा ज्ञानेन्द्र, अहिले त पूर्वराजा भन्ने गरिएको छ । हामीले जनयुद्ध र जनक्रान्तिमार्फत गणतन्त्रको निम्ति आधार तयार पार्यौँ । ज्ञानेन्द्रले आफ्नो मुर्खतामार्फत पनि हामीलाई सहयोग गरेकै हो, उनले धेरै मुर्खता नगरेको भए सात राजनीतिक दलमाथि दमन नगरेको भए, नेताहरुलाई उनैको पछि लाग्छु भनेर आत्मसमर्पण गर्दा लात्ताले नहानिदिएको भए सायद केही वर्ष टिक्न पनि सक्थ्यो । भिलेनको रुपमा ज्ञानेन्द्रको भूमिका पनि महत्त्वपूर्ण भूमिका छ ।’

पछिल्लो समय देशमा पूर्वराजा ज्ञानेन्द्रसहित सम्पूर्ण राजावादीहरुको सक्रियताले नेकपा माओवादीसहित विभिन्न राजनीतिक दलहरु तरंगित भएका छन् ।

प्रतिक्रिया