संविधान नबनेको फाइदा उठाउदै कटुवाल

गुल्मी, १५ चैत । सूचना प्रविधिको विकासपछि फुर्सदिला बनेका कटुवालका दिन फर्किएका छन् । सशस्त्र माओवादी जनयुद्धका समयमा कटुवालले राज्य तथा माओवादी पक्षबाट हुने ज्यादतीका घटनालाई जस्ताको त्यस्तै गीतमा उतारेर सुनाउँथे । तर, विस्तारै उनीहरूको यो पेसा ओझेलमा परेको थियो । फुर्सदिला बनेका सन्देशबाहकका रूपमा लिइने कटुवालको अस्तित्व संकटमा पर्न थालेका बेला गुल्मीमा भने मतदाता शिक्षामा कटुवाललाई परिचालन गरिएको छ ।

प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वमा चुनावी सरकार गठन भएपछि जिल्ला निर्वाचन कार्यालयले मतदाता शिक्षा कार्यक्रम सुरु गरेको हो । चैतको पहिलो साताबाट सुरु भएको मतदाता शिक्षा कार्यक्रममा निर्वाचन शिक्षा कार्यकर्तासँगै कटुवाल पनि खटाइएको जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ । मतदातालाई शिक्षित बनाउन पत्रपत्रिका, एफएम रेडियोलगायत सञ्चारमाध्यमबाट विभिन्न सामग्री प्रकाशन/प्रसारण गरिए पनि ग्रामीण क्षेत्रमा सूचना प्रवाहमा कटुवाल नै उपयुक्त हुने भएकाले कटुवाल परिचालन गरिएको जिल्ला निर्वाचन अधिकारी डिल्लीराज बेल्वासेले बताए । ‘ग्रामीण क्षेत्रमा सूचना फैलाउने राम्रो माध्यम कटुवाल रहेछन्,’ बेल्वासेले भने, ‘पत्रपत्रिका तथा रेडियोको पहुँच नपुग्ने ठाउँमा कुटवालले राम्रोसँग सूचना पुर्‍याउन सक्छन् ।’
दोस्रोपटक हुने संविधानसभाको निर्वाचनले पनि संविधान बनाउने सुनिश्चित नभएको भन्दै कतिपय मतदाता निर्वाचनमा सहभागी नहुने बताउँछन् । यस्तो निराश अवस्थामा रहेका मतदातालाई विभिन्न प्रकारका उत्प्रेरणाजन्य क्रियाकलाप सञ्चालन गरी मताधिकार प्रयोग गर्न आग्रह गरिने बेल्वासेले बताए । ‘राजनीतिप्रति धेरैको वितृष्णा छ, भोट दिएर पनि के हुन्छ, पहिला पनि दिएकै हो भन्दै धेरै मतदाता निराश छन्,’ बेल्वासेले भने, ‘मतदाता नामावलीमा नाम दर्ता गर्न झन्डै आधा छुटेका छन् ।’
मतदान अधिकार तथा महत्त्व आमसर्वसाधरणलाई बुझाई मतदान अधिकार सुनिश्चितता गर्न मतदाता शिक्षा मार्फत शिक्षित गरिएको निर्वाचन कार्यालयले जनाएको छ । ०६४ मै संविधान निर्माणका लागि संविधानसभा निर्वाचन भए पनि संविधान बन्न नसक्दा मतदाता निराश भएका छन् । उनले निराश बनेका मतदातालाई टोलटोलमै पुगेर निर्वाचन शिक्षा कार्यक्रम सञ्चालन गरिएको बताए । निर्वाचन कार्यालयले प्रत्येक गाविसमा एकजना निर्वाचन शिक्षा कार्यकर्ताको व्यवस्था गरेको छ । निर्वाचन शिक्षकको एक्लो प्रयासले मात्रै मतदातालाई शिक्षित बनाउन सम्भव नभएकाले यसमा सबैले सहयोग गर्न निर्वाचन कार्यालयले अनुरोध गरेको छ ।
रेडियो तथा फोनको पहुँच नपुगेका गाउँमा केही वर्षअघि कटुवालले टोलटोलमा सूचना पुर्‍याउने गर्थे । गाउँमा हुने सभा, सम्मेलन, बैठकको सूचना गाउँको अग्लो ठाउँबाट मुखले चिच्याएर सबैलाई सुचित गर्थे । गुल्मीको इस्मा, धुर्कोट, पुर्कोट, वडागाउँ, मुसीकोट, पौँदीअमराई, नेटा, दर्लिङलगायत दर्जन बढी गाविसमा अहिले पनि कटुवालले नै सूचना पुर्‍याउने गरेका छन् ।
जिल्लामा ७ चैतदेखि चरणबद्ध मतदाता नामावली अध्यावधिक तथा मतदाता शिक्षा कार्यक्रम सञ्चालन भएको छ । २ लाख ८० हजार १ सय ६६ जनसंख्या रहेको जिल्लामा अहिलेसम्म १ लाख ३१ हजार ८ सय ५ ले नाम दर्ता गराएका छन् । यो ०६४ को मतदाता संख्याको ५० प्रतिशत मात्रै हो ।

प्रतिक्रिया