महोत्तरी । भिरालो जमिन, चारैतिर पहाडले घेरिएको र पातलो बस्ती । झट्ट सुन्दै विकट पहाडी ठाउँको झल्को आउँछ । अझ कर्णालीकै झल्को दिने गरी सामान्य स्वास्थ्योपचारका लागि सुगम सहर खोज्दै हिँड्नुपर्ने, नुन–तेल तथा खाद्य सामग्री किन्न दिनभरि हैरानी बेहोर्नुपर्ने दयनीय अवस्थाले त त्यस ठाउँको भौगोलिक विकटताको गतिलो परिचय दिन्छ नै ।
आर्थिक रूपमा पछाडि भए पनि भौगोलिक रूपमा सुगम मानिने मधेसमै यस्तै विकटताका कथाहरू छन् भन्दा अपत्यारिलो लाग्न सक्छ । तर, महोत्तरीको उत्तरी क्षेत्र चुरे पहाडमा यस्ता कथा सर्वसाधारणहरूको दैनिकी हो ।
बर्दिबास नगरपालिका–१० र ११ मा रहेका उपल्ला क्षेत्रहरू भांग्रे, झ्याउरे, छोड्के, चनौटे, गर्दी खोला, काली खोला, पिपलदहलगायत ठाउँ वर्षौंदेखि यस्तै कथाहरू बोकेर उभिएका छन् । झट्ट सुन्दा देशकै सुगम नगरपालिका भनेर चिनिने बर्दिबासका बासिन्दाले अझै पनि आधुनिकताको अनुहारसमेत देखेका छैनन् ।
यहाँका बासिन्दा घरेलु सामान किनमेल गर्न सिंगो दिन माया मार्नुपर्छ । सबै घरका व्यक्ति दिन माया मारेर बजार जान नसक्ने भएकाले बजार जान तयार भएको व्यक्तिले छिमेकीका घर–घर पुगेर ‘के ल्याउनुपर्छ ?’ भनेर सोध्ने गर्छन् । चारैतिर चुरे पहाडले घेरिएको यो ठाउँसम्म आवतजावत गर्ने मोटरबाटो छैन । वर्षा नहुँदा कहिलेकाहीँ खोलाबाटै ट्र्याक्टर जाने भए पनि अन्य बेला टापुजस्तै बन्छ ।
गाउँमा अचानक कोही बिरामी परे उद्धार गर्नसमेत नसकिने स्थानीयको भनाइ छ । यहाँका कुनै पनि गाउँमा एम्बुलेन्स छैनन्, न त स्वास्थ्य चौकी नै छन् । विकट कर्णाली भनेर चिनिने यी गाउँमा चट्टान र चुरेका कारण वैकल्पिक सडक बनाउनसमेत कठिन छ ।
गाउँको बीचमा एउटा विद्यालय छ । लक्ष्मी भांग्रे, झ्याउरे माध्यमिक विद्यालय नामको यो विद्यालयमा २०० जना बालबालिका अध्ययनरत छन् । तर, खोलाको बाटो हुँदै आवतजावत गर्नुपर्ने हुँदा बर्खाका २ महिना विद्यालयमा विद्यार्थी नै भेटिँदैनन् । विद्यार्थी मात्र होइन, आवतजावतको समस्याले शिक्षकहरूसमेत नियमित विद्यालय पुग्न नसक्ने शिक्षक तीर्थराज गोले बताउँछन् ।
१ वर्षअघिसम्म यी गाउँहरू सूचना र सञ्चारबाट समेत वञ्चित थिए । केही दिनअघि चुरे पहाडको उच्च ठाउँ चनौटेमा राखिएको नेपाल टेलिकमको टावरले सेवा प्रवाह गर्न थालेपछि सञ्चार सुविधा भने पुगेको छ । ‘सहरमा रहेका छोराछोरीलाई फोन गर्नसमेत २ घन्टा हिँडेर बजार जानुपथ्र्यो । बल्ल मुक्ति पाएका छौँ,’ छोड्केका वीरबहादुर लामाले भने, ‘भोटका लागि नेताहरूले सपना देखाउँछन् । तर, अवस्था जस्ताको तस्तै नै छ ।’
महोत्तरीका यी गाउँमा पर्यटकीय सम्भावना भने प्रचुर छ । चट्टान नै चट्टानको यो पहाडमा पुगेपछि यहाँको हरियाली जंगल र प्राचीन बस्तीहरूले मन प्रफुल्ल हुने बर्दिबास–१ का सुदर्शन काफ्लेले बताए । यी गाउँहरूलाई तत्कालीन माओवादीले ‘जनयुद्ध’ हुर्काउने र मलजल गर्ने मुख्य थलो बनाएका थिए । भूमिगत माओवादी नेता÷कार्यकर्तालाई संगठन विस्तारदेखि गोप्य छलफलका लागि समेत यी गाउँ महत्वपूर्ण ‘सेल्टर’ बनेको स्थानीय बताउँछन् । अहिले पनि खयरमारा माओवादी केन्द्रको आधार क्षेत्र नै मानिन्छ ।
गहुँ, मकै, तोरी तथा पशुपालनबाट जीविकोपार्जन गर्दै आएका यहाँका स्थानीय सिँचाइ अभावका कारण धान खेती कमैले मात्र गर्छन् । पशुपालन गरे पनि उत्पादन बिक्री नहुँदा समस्या हुने गरेको स्थानीयको भनाइ छ । ‘दूध बेच्न बजारसम्म लैजान सम्भव छैन, गाउँमा बिक्री हुँदैन,’ स्थानीय युवा इशारा लामाले भने,’ पहिलेको तुलनामा केही सुगम अनुभव भने गर्न सकिन्छ ।’
यी गाउँमा बसोबास गर्नेमध्ये ९५ प्रतिशत हिस्सा जनजातिको छ । विशेष गरी लामा, तामाङहरूको बाहुल्य छ । अझ अचम्मलाग्दो त के छ भने बर्खायाममा खोलाको बहाव घटबढ भइरहने हुँदा यहाँका बासिन्दा बजारबाट फर्किने क्रममा जंगलमा नै बास बस्नुपर्ने हुन्छ । ‘खोला कम हुन्छ अनि बिहानै घर जाने गर्छौं,’ स्थानीय शान्तिमायाले भनिन्, ‘के गर्नु बाँच्नैपरेको छ ।’
विकटताबीच पनि अनगन्ती अवसर !
बर्दिबास–११ मा पर्ने खयरमाराबाट ४ किलोमिटर मात्र माथि उक्लेपछि चनौटे डाँडा पुगिन्छ । जुनार र सुन्तला पाइने यस ठाउँमा पहाडी हावापानी छ । प्रचण्ड गर्मी छल्ने उपयुक्त पर्यटकीय गन्तव्य बनाउन सकिने गतिलो आधार भए पनि प्रचारप्रसार अभावमा गुमनाम देखिएको चनौटे डाँडा अथाह पर्यटकीय सम्भावना बोकेर बसेको विविधतायुक्त विशेषताहरूले नै प्रमाणित गर्छ ।
मधेसका मानिसहरू चिसो हावापानीको खोजीमा पहाडी र हिमाली जिल्लाहरूमा जाने क्रम बढेको छ भने नजिकै सिमाना जोडिएको भारतको बिहारका मानिसहरू गर्मी छल्न केही दिनका लागि भए पनि सिन्धुली, रामेछाप, दोलखा जस्ता जिल्ला जाने गरेका छन् ।
औपचारिक मापन हुन नसके पनि स्थानीय यो ठाउँ मधेसकै सर्वोच्च चुरे पहाड भएको दाबी गर्छन् । १० बर्से जनयुद्ध हुर्काउन उर्बर भूमिका रूपमा प्रयोग भएको यो ठाउँलाई माओवादीका पूर्वलडाकूहरूले अहिले पनि निकै श्रद्धाका साथ लिने गर्छन् । यसकारण यो ठाउँमा सहिद पार्कको प्रारम्भिक शिलान्यास गरिएको थियो । जसलाई तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वयं पुगेर शिलान्यास गरेका थिए ।
स्थानीयका अनुसार विकटताका कारण निर्माण सामग्री पु¥याउन नसक्दा केही योजना अधुरै रहे । ‘मधेसको रुकुम, रोल्पा भनेर चिनिने यो ठाउँ जति मनोरम छ, त्यति नै ऐतिहासिक विरासतसमेत बोकेको छ,’ स्थानीय विष्णु भण्डारीले भने, ‘मधेसबाट छोटो दुरीमा पाइने यो हावापानी वास्तवमै प्राकृतिक वरदान हो ।’
भौगोलिक भू–धरातल र फुसका घरहरूले निकै विकट लाग्ने यो ठाउँबाट पूरै तराई नियाल्न सकिन्छ । समुद्री सतहबाट झन्डै ७०० मिटर मात्रै उचाइमा रहेको यो ठाउँलाई कतिपयले प्राकृतिक भ्युटावर पनि भन्ने गर्छन् । स्थानीयका अनुसार २ दशकअघिसम्म यहाँ घना बस्ती थियो । विकटताकै कारण मानिसहरू बसाइँ सरेर कतिपय बर्दिबास पुगे भने कतिपय खयरमारा बजारतिर आएर बसे ।
यहाँबाट गौरीशंकर हिमालदेखि प्रदेशको राजधानी जनकपुरधामसम्म देख्न सकिन्छ भने चुरे शृंखलाको स्पष्ट दृश्यावलोकन गर्न सकिन्छ । सिन्धुलीगढी समेत देख्न सकिने यो ठाउँलाई कतिपयले दोस्रो गढीका रूपमा समेत व्याख्या गर्ने गरेका छन् । त्यस्तै, यहाँको भालुजोहरा झरना पनि विशेष छ । उपल्लो पहाडबाट झरेको यो झरनालाई व्यवस्थित र प्रवद्र्धन गर्न सके आन्तरिक र बाह्य पर्यटक उल्लेख्य वृद्वि हुने अनुमान गरिएको छ ।
प्रतिक्रिया