बाजुरामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु, एक जनाको भिरबाट लडेर मृत्यु

बाजुरा । जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बूढीगंगा नगरपालिका–४ खोडालबाडाका अन्दाजी ३३ वर्षीय ट्याक्टर चालक पदमबहादुर रावत रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

खप्तड छेडेदह गाउँपालिकाबाट बूढीगंगा नगरपालिका आउँदै गरेको भे २ त १५८८ नम्बरको ट्याक्टर गएराति ओरालो सडकमा अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी नायब उपरीक्षक जनक बोहराले जानकारी दिए ।

उनका अनुसार ट्याक्टरमा सवार रहेका चार जनामध्ये चालक रावतका छोरा सञ्जय रावतलाई सामान्य चोट लागेको छ । घाइते बालकको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको निमित्त प्रहरी नायब उपरीक्षक बोहराले बताए ।

अन्य तीन जना सकुशल रहेको, ट्याक्टरको अगाडिको भाग करिब २५० मिटर तल सडकमा खसेको र ट्राली ५० मिटर तल खसेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको छ ।

भिरबाट लडेर एकको मृत्यु

जिल्लाको पूर्वी उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकामा आइतबार भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्वामीकार्तिक खापर– २ फयालगाउँ बस्ने अन्दाजी ४२ वर्षीय पुसे भण्डारी रहेको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी नायब उपरीक्षक जनक बोहराले जानकारी दिए ।

उनले दिएको जानकारी अनुसार आइतबार बेलुकी कर्णाली नदीमा माछा मार्न जाने क्रममा नदी नजिकै रहेको हाँडेको भिरबाट लडेर मृत्यु भएको हो ।

स्थानीयले भण्डारी भिरबाट लडेर घाइते भएको प्रहरीलाई जानकारी आएपछि घटनास्थल पुग्दा मृत्यु भइसकेको निमित्त प्रहरी नायब उपरीक्षक बोहराले बताए । शव निकाल्नका लागि इलाका प्रहरी कार्यालय कोल्टीबाट प्रहरी निरीक्षकको टोली घटनास्थलमा गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया