महोत्तरी । यतिबेला महोत्तरीको उत्तरी क्षेत्र चुरेमा अवस्थित पाटु पुरातात्विक पर्यटकीय केन्द्रका रूपमा चर्चामा छ । चर्चाको कारण हो– रातु सभ्यता । यो क्षेत्रमा मध्यपाषाण युग अर्थात् १० हजारदेखि १२ हजार वर्षअघि मानव सभ्यताको अवशेष रहेको प्रमाणहरू भेटिएपछि तीनै तहका सरकारले संरक्षण र प्रवद्र्धनका लागि प्रक्रिया अघि बढाएका छन् ।
जर्मन नागरिक गुड्रन कार्भिन्सले १९८५ को दशकमा बर्दिबास–३ पाटु क्षेत्रमा १० वर्ष लामो अध्ययनपछि पत्ता लगाएको तत्कालीन समयको हतियार कारखानाको विषय वैज्ञानिक रूपमा प्रमाणित भएपछि थप खोजी अघि बढाइएको छ । कार्भिन्सले ‘प्रिहिस्टोरिक कल्चर्स इन नेपाल’ नामक पुस्तकमा अहिलेको पाटु र रातु नदी वरपरको मानव सभ्यता १० हजार वर्ष पुरानो भएको उल्लेख गरेकी थिइन् ।
रातो माटोले पुरिएको अवस्थामा भेटिएका हजारौँमध्ये पाषाण युगका हतियारहरू रहेको पुष्टि भएपछि यो नै सबैभन्दा पुरानो मानव सभ्यता भएको उनले आफ्नो किताबमा वर्णन गरिन् । मध्यपाषाण युग १० देखि १२ हजार वर्षअघिको अवधि र ६ देखि १० हजार वर्षअघिको नवपाषाणको अवधिलाई भनिन्छ । पहिले त कार्भिन्सले नेपालमा ढुंगे युगमा मानव चहलपहल थियो भन्ने तथ्य विश्वलाई बताएकी छिन् । कार्भिन्स पाटुमा नै किन आइन् ? भन्ने विषय अझै रहस्यमय छ । तर, १० वर्ष लगाएर गरिएको अनुसन्धानपछि उनले निकालेको निष्कर्षको विषयमा भने धेरै मानिस बेखबर छन् ।
शिवालिक पहाडको फेदीमा रहेको पाटु हतियार कारखानाको अवशेष जनवरी १९८५ मा पत्ता लगाएको उनले आफ्नो किताबमा उल्लेख गरेकी छिन् । कार्भिन्सले किताबमा उल्लेख गरेअनुसार ३० देखि ७० सेन्टिमिटर उत्खनन गर्दा नै ढुंगा, हड्डी र काठबाट एकातिरको भाग धारिलो बनाइएका साना हतियार, ढुंगाका टुक्राहरू हजारौँ संख्यामा भेटिएका थिए । अर्को रहस्य त के थियो भने हतियारहरूको स्वरूप भारतमा मध्यपाषाण युगमा पाइएका जस्ता थिएनन् । यिनीहरू भियतनाममा पाइएजस्ता भएकाले दक्षिणपूर्वतर्फबाट मानिस महोत्तरीमा आएका थिए भन्ने संकेत गर्ने पनि उल्लेख गरिएको छ ।
कार्भिन्स सबैभन्दा पहिला १९८१ मा नेपाल आएकी थिइन् । त्यसयता नेपालको प्रागऐतिहासिक जानकारी शून्य भइरहेका बेला उनले नै खोजको सुरुआत गरेकी हुन् । यसअघि पुरानो मानव सभ्यताको खोज अनुसन्धान गर्ने क्रममा उनले अफ्रिकी मुलुकमा दशकौँ बिताएकी थिइन् । अहिले पनि पाटु र राइमण्डलका स्थानीय पुराना ढुंगाका बन्चरा जस्ता आकार भएका वस्तु तथा मानव सभ्यताका अवशेष पाइने बताउँछन् ।
आफूहरू सानोमा गाईबस्तु चराउन जाँदा अनौठा आकारका वस्तुहरू फेला पार्ने गरेको पाटुका स्थानीय शंकर खड्का बताउँछन् । ‘ती वस्तुहरू हामी केटाकेटी हुँदा खेल्थ्यौँ अनि फ्याँकिदिन्थ्यौँ,’ उनले भने । अहिले पनि जंगलमा किताब पढेजस्ता विभिन्न वस्तु देख्न सकिने थापाको भनाइ छ । पाटुको विषयमा विश्वविद्यालयका प्रध्यापकहरूले समेत चासो राखेका छन् । केदार कोइरालाका अनुसार कतिपय प्रध्यापकले विद्यार्थीहरूलाई कार्भिन्सले खोजी गरेको हतियार कारखाना देखाउन ल्याए पनि ठाउँ एकिन गर्न नसक्दा अन्य ठाउँ पुग्ने गरेका छन् ।
गहिरो अध्ययनपछि ढुंगे युगमा पाटुमा देखिएको मानव चहलपहल कार्भिन्सले विश्वलाई बताए पनि महोत्तरीमै भने त्यसको खासै चर्चा हुन सकेको थिएन । कार्भिन्सले पत्ता लगाएको उक्त हतियार कारखानाको विषयमा केही लेखक तथा खोजकर्ताले चर्चा त गरे, तर उचित प्रचारप्रसार भने हुन सकेन ।
खोज, अनुसन्धान गर्नेहरूका लागि मात्रै नभई पर्यटकीय हिसाबले समेत यो ठाउँ उत्कृष्ट बन्ने भन्दै बर्दिबास नगरपालिकाको पर्यटन तथा सांस्कृतिक समिति आन्तरिक गृहकार्यमा जुटेको छ । कार्भिन्सले सन् २००७ मा आफ्नो किताबमा चर्चा गरेसँगै पाटुमा मध्यपाषाण युगको हतियार कारखाना रहेको तथ्य सार्वजनिक भयो । उनी थप सुधार गरेर उक्त किताब निकाल्न चाहन्थिन् । भारतीय नागरिकसँग विवाह भएका कारण कार्भिन्स महोत्तरीको पाटु र दाङ–देउखुरीमा १० वर्ष अध्ययन गरेपछि भारतको पुणे फर्किइन् । भारतमा समेत लामो समय यस्तै विषयमा अध्ययन गरेकी कार्भिन्सलाई गोली हानेर हत्या गरेको बताइन्छ । उनलाई किन मारियो भन्ने विषय अझै रहस्यमै छ । भारतीय सरकारले समेत उनको हत्यालाई गम्भीरतापूर्वक लिएन ।
कार्भिन्सपछि पनि इतिहासकार तथा अन्वेषकहरूले आफ्ना किताबमा कार्भिन्सले पत्ता लगाएको पाटुको विषयमा चर्चा गरेका छन् । सन २००७ मै प्रकाशित ‘महोत्तरीको इतिहास’ नामक राकेश चौधरीको किताबमा पनि हतियार कारखानाको विषय उल्लेख छ । यसैका आधारमा कतिपयले त बाक्लै लेखसमेत प्रकाशित गरे । लेखक तथा पत्रकार कमल मादेनले पनि पाटुको प्रागऐतिहासिक र मानव सभ्यताको विषयमा एउटा लेख प्रकाशन गरेका छन् ।
अझै रहस्य त के छ भने कार्भिन्सले ३८ वर्षअघि खोज र अनुसन्धान गर्दा स्थानीयको सहयोगसमेत नलिएको पाइएको छ । उनले पाल टागेर जंगलमा नै लामो समय अनुसन्धानमा जुटेको बताए पनि कार्भिन्स आएको सम्झनामा नरहेको स्थानीय बताउँछन् । पाटुस्थित जनजागृत माविका शिक्षकहरूसँग भने कार्भिन्सको त्यतिबेला सम्पर्क रहेको पाइएको छ । यही विषयमा लामो समयदेखि थप अनुसन्धानमा जुटेका केदार कोइराला कार्भिन्सको सम्पर्क प्राज्ञिक व्यक्तिहरूसँग मात्र रहेको बताउँछन् ।
मध्यपाषाण युगमा मानव सभ्यताको इतिहास बोकेको पाटुको विषयमा मधेस भने बेखवर छ । नेपाल खोज केन्द्रले समेत पाटुको विषयमा कार्भिन्सले गरेको खोजको केही निष्कर्ष निकाले पनि स्थलगत अध्ययनको अभावमा त्यो खासै प्रभावकारी हुन सकेन । कार्भिन्सको जीवनीमा आधारित एउटा लेखमा राष्ट्रिय अनुसन्धान केन्द्र छाउनीमा पाटुमा भेटिएका अवशेषहरू संगृहित गरिएको उल्लेख छ ।
कार्भिन्सले फेला पारेका हजारौँ हतियारहरू यत्रतत्र भेटिनुले तत्कालीन समयमा यहाँ बाक्लै मानव चहलपहल रहेको अनुमान लगाउन सकिन्छ । अब पाटुलाई सरोकारवालाहरूले थप खोजीको विषय बनाएर अन्तर्राष्ट्रिय स्तरको अध्ययन केन्द्र बनाउनुपर्नेमा स्थानीय बताउँछन् ।
यता, पुरातत्व विभागका अधिकृत भाष्कर ज्ञवालीले थप अध्ययनका लागि यही हप्ता बर्दिवास आउने तयारी गरेको बताए । यसका लागि बर्दिबास नगरपालिका, संस्कृति तथा पर्यटन प्रवद्र्धन समितिले १५ लाख रुपैयाँ बजेटसमेत विनियोजन गरेको छ ।
प्रतिक्रिया