महोत्तरी । होटल संघ पोखराले हरेक वर्ष मधेस प्रदेशमा पर्यटन प्रवद्र्धन गर्ने गरी अभियान चलाएको छ । होटल व्यवसायीहरूले मधेसका हरेक जिल्लामा अन्तक्र्रिया गर्दै प्राकृतिक र कृत्रिम रूपमा विकास भएका पर्यटकीय गन्तव्यहरूको प्रचारप्रसार गर्ने गरेका छन् ।
तर, धार्मिक, सांस्कृतिक र पुरातात्विक हिसाबले पर्यटनको प्रचुर सम्भावना बोकेका मधेसका पर्यटकीय गन्तव्यहरूको न प्रचारप्रसार हुन सकेको छ, न त कुनै सरकारी नीति नै छ । अन्यत्रका व्यवसायीहरूले सम्भावना देखाइदिनुपर्ने अवस्था छ ।
यस्तै देखियो– बुधबार बर्दिवासस्थित गौतम होटलमा भएको एक कार्यक्रममा । होटल संघ पोखराले ‘जाउँ है पोखरा’ भन्ने अभियान लिएर अन्तक्र्रिया गरिरहँदा महोत्तरीका पर्यटन व्यवसायीहरूले भने आफ्ना ठाउँको प्रचारप्रसार गर्ने प्लेटफर्मका रूपमा उपयोग गरे । पर्यटनका विषयमा विरलै कार्यक्रम हुने मधेसमा बरु पोखराका पर्यटन व्यवसायीहरूको अन्तक्र्रियामा पटक–पटक सहभागी भइसकेको बताउने होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीका अध्यक्ष गुञ्ज कार्कीले आफूहरूले खासै केही गर्न नसकेको स्वीकार गरे ।
पोखराबाट आएका पर्यटन व्यवसायीहरूले भने आफूहरूले मधेसमा भरत ताल र जानकी मन्दिरको विषयमा मात्र थाहा पाएको बताए । ‘भरत तालको विषयमा पोखरेलीहरूले निकै चासो देखाएका छन्,’ संघका अध्यक्ष लक्ष्मण सुवेदीले भने, ‘हामी यहाँका पर्यटकीय गन्तव्यहरूको विषयमा सन्देश बोकेर जानेछौँ ।’ पर्यटन उद्योगकै आडमा पोखरामा २१४० वटा होटल चलिरहेको र १५ हजार जनाले रोजगारी पाएको होटल संघ पोखराले जनाएको छ । पोखराले अहिले नेचर, कल्चर, एडभेन्चर नै बिकाइरहेको उनीहरूको भनाइ छ ।
महोत्तरीमा के छन् सम्भावना ?
मधेस प्रदेशकै मध्यविन्दुमा रहेको महोत्तरीको बर्दिवासमा साना र ठुला गरी १५ सयभन्दा बढी होटल छन् । प्रदेशकै होटल हबका रूपमा विकास भएको बर्दिवासमा बाहिरवाट आउने मानिसको बाक्लै उपस्थिति देखिए पनि उनीहरूको बसाइ लम्ब्याउन नसकिएको स्वयं व्यवसायीहरूको गुनासो छ ।
त्यसो भए प्रश्न उठ्छ– बर्दिवासमा पर्यटनको केही सम्भावना छैन त ? होटल संघ महोत्तरीका अध्यक्ष कार्कीले स्वीकार गरेजस्तो प्रचारप्रसारमा कमी र योजना, नीति निर्माणमा फितलोपनका कारणले पर्यटकीय क्षेत्रहरू ओझेलमा परेका छन् ।
मध्यपाषाण युगको मानव सभ्यता बर्दिवासमा नै रहेको तथ्यहरू फेला परेका छन्, जुन बर्दिवासका लागि महत्वपूर्ण पर्यटकीय आधार बन्न सक्छ । सन् १९८५ को दशकमा जर्मन नागरिक गुड्रन कार्भिन्सले १० वर्ष लगाएर पत्ता लगाएको बर्दिवासको पाटु क्षेत्र सधैँ चर्चामा रहने गर्छ ।
१० हजारदेखि १२ हजार वर्ष पुरानो मानव सभ्यताका अवशेषहरू वैज्ञानिक पुष्टि भएसँगै यसको संरक्षण र प्रवद्र्धनमा नगर संस्कृति तथा पर्यटन प्रवद्र्धन समितिले केही योजना अघि बढाएको छ । कार्भिन्सले आफ्नो किताब (प्रिहिस्टोरिक कल्चर्स इन नेपाल भोलुम १, पृष्ठ २३९, सन् २००७) मा अहिलेको पाटु र रातु नदी वरपरको मानव सभ्यता १० हजार वर्ष पुरानो भएको उल्लेख गरेकी थिइन् ।
पुरातात्विक पर्यटन केन्द्र बनाउन सकिने यो महत्वपूर्ण आधारसँगै बर्दिवास–११ को उपल्लो क्षेत्रमा रहेको चनौटे डाँडा पर्यटनको अनेकौँ सम्भावना लिएर उभिएको छ । जसलाई मधेसको पहाड पनि भनिन्छ । पहाडको जस्तै हावापानी पाइने यस ठाउँमा जुनार, सुन्तलासमेत उत्पादन हुने स्थानीय बताउँछन् । सदाबहार चिसो मौसम भएको यस ठाउँलाई गर्मी छल्ने उपयुक्त गन्तव्यका रूपमा विकास गर्न सकिने आधार देखिएका छन् ।
छिमेकी मुलुक भारतका युपी, बिहारसँगै नेपालको मधेस प्रदेशका लागि दुरीका हिसाबले समेत नजिक रहेको यो ठाउँलाई पोखरेलीहरूले चिसोको प्रवद्र्धन गरेजस्तै प्रवद्र्धन गर्न सकिने संस्कृति तथा पर्यटन प्रवद्र्धन समितिका अध्यक्ष हिरा गौतम बताउँछन् ।
पोखरामा पनि धेरैजसो धार्मिक पर्यटक आउने गर्छन् । महोत्तरीमा धेरैजसो प्राचीन मन्दिर छन्, जसलाई धार्मिक पर्यटन हब नै बनाउन सकिने देखिएको छ । नेपालकै प्रसिद्ध टुटेश्वर महादेव मन्दिरको प्राचीन महत्व छ । महाभारतको युद्धमा विजय हासिल गर्न अर्जुन मिथिलाको यही भूमिमा पुगेको बताइन्छ । बृहत् ज्ञान कोषको २५औँ संस्करणअनुसार टुटेश्वरधाममा उनले घोर तपस्या गरेका थिए । भगवान शिवबाट उनले शक्तिका लागि त्रिशूल र जितका लागि ज्ञान प्राप्त गरेको खोज अनुसन्धानमा भेटिन्छ । ४ हजार वर्षअघि नै टुटेश्वरनाथ महादेव मन्दिर अस्तित्वमा आएको मानिन्छ ।
यता परौलथान, जलेश्वर महादेव मन्दिर, सोनामाई, बर्दिवासकै माईस्थान पञ्चधुरा जस्ता मन्दिरहरू धार्मिक पर्यटकको पर्खाइमा छन् । तर, योजना र नीति एकादेशको कथा बनेको छ । जसको परिणाम पोखरेलीहरू आफ्ना गन्तव्यहरूको विषयमा सुनाउँछन्, तर मधेसको विषयमा अनभिज्ञ छन् ।
उठ्दै छ पर्यटन क्षेत्र
ढिलै भए पनि पर्यटन व्यवसायीहरू तातेपछि स्थानीय सरकार र प्रदेश सरकारले ध्यानाकर्षण भएको जनाएका छन् । आफ्नै ठाउँको प्रचारप्रसार गर्नुपर्ने अभियानसहित होटल तथा पर्यटन व्यवसायी महासंघ मधेस प्रदेशको ‘घुमौँ मधेस, बुझौँ मधेस’लाई प्रदेश सरकारले स्वामित्व लिएको छ भने महोत्तरीको चुरे क्षेत्रमा समेत केही काम अघि बढेका छन् ।
संघीय सरकारबाट विनियोजन भएको ४५ लाख रुपैयाँ बजेटले मध्यपाषाण युगको हतियार कारखानाको प्रवद्र्धन र संरक्षणको प्रारम्भिक कार्य अघि बढिसकेको छ भने पुरातात्विक विभागबाट ठाउँ पहिचान गर्ने, घेराबारा गर्ने प्रक्रिया सुरु भएको नगर संस्कृति तथा पर्यटन प्रवद्र्धन समितिका सदस्यसचिव दीपेश काफ्लेले बताए ।
विश्वबाट लोपोन्मुख अवस्थामा रहेको गिद्ध संरक्षण र पर्यापर्यटनको विकासमा समेत केही प्रक्रिया अघि बढेको छ । बर्दिवास–३ स्थित राईमण्डल क्षेत्रमा फेला परेको गिद्धहरूको ठुलो बासस्थानलाई संरक्षण गरेर पर्यटन विकासमा नगरले अर्को इँटा थप्ने प्रक्रिया अघि बढाएको छ ।
प्रतिक्रिया