काठमाडौँ । नेपाल राष्ट्र बैंकको गभर्नर आकर्षक नियुक्तिमध्ये मानिन्छ । प्रधानमन्त्री, अर्थमन्त्रीलगायत उच्च पदस्थहरूसँग नियमित छलफल, बजेट निर्माणदेखि मौद्रिक नीति तर्जुमासम्मको कार्यमा गभर्नर प्रत्यक्ष संलग्न हुन्छन् ।
अर्थतन्त्रको एउटा पूरै पाटो सम्हालेर बस्ने, नीतिगत हेरफेरमार्फत् आर्थिक स्थायित्वमा योगदान पु¥याउने र नियामकीय सुधारमार्फत् वित्तीय क्षेत्रसँगै अर्थतन्त्रमा टेवा पु¥याउन मिल्ने भएकाले पनि गभर्नर पदमा सबैको चासो देखिन्छ । त्यस्तै, नोटमा हस्ताक्षर गर्न पाउने भएकाले पनि यो पदको छुट्टै गरिमा छ ।
तत्कालीन नेकपा नेतृत्वको सरकार हुँदा प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गरेका गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल चैत अन्तिम साता सकिँदै छ । यसैबीच, नयाँ गभर्नर नियुक्तिका लागि सरकारले प्रक्रिया सुरु गरेको छ । मन्त्रिपरिषद् बैठकले गभर्नर सिफारिस समिति बनाउन अर्थ मन्त्रालयलाई स्वीकृति दिएको छ । नेपाल राष्ट्र बैंक ऐनमा अर्थमन्त्रीको अध्यक्षतामा गभर्नर सिफारिस समितिको व्यवस्था छ ।
अर्थमन्त्रीको अध्यक्षतामा रहने समितिमा पूर्वगभर्नरहरू मध्येबाट १ जना, आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय तथा वाणिज्य कानुन क्षेत्रका प्रतिष्ठित व्यक्तिमध्येबाट नेपाल सरकारले तोकेको १ जना सदस्य रहनेछन् । उक्त समितिले अब ३ जनाको नाम सिफारिस गर्नेछ । जसमा डेपुटी गभर्नरमध्ये १ जनाको नाम सिफारिस हुनैपर्ने व्यवस्था छ ।
समितिले गभर्नर सिफारिस गर्दा आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य, व्यवस्थापन तथा वाणिज्य कानुन क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिहरू तथा डेपुटी गभर्नरहरूमध्येबाट ३ जनाको नामावली मन्त्रिपरिषद्मा सिफारिस गर्नेछ । गभर्नर हुन आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य, व्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र, गणित वा कानुन विषयमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको र १० वर्षको कार्य अनुभव भएको हुनुपर्ने व्यवस्था छ ।
कस्तो गभर्नर आवश्यक ?
राष्ट्र बैंक अर्थतन्त्रमा सुधार ल्याउन तथा बैंक तथा वित्तीय संस्थाहरूको नियमन गर्ने र नयाँ व्यवस्थाका लागि पहलकदमी लिन सक्ने हस्तक्षेपकारी निकाय भएकाले गभर्नर पनि कार्यकुशल तथा वित्तीय अवस्था बुझेको हुनुपर्ने आवाज उठेकोे छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति एवं सांसद डा. स्वर्णिम वाग्लेले नेपाल दबाब र प्रभावमा परेर गभर्नर नियुक्त गर्न नहुने बताए । उनले अन्तर्राष्ट्रिय छवि र लामो अनुभव भएका व्यक्तिलाई नियुक्त गर्नुपर्ने बताउँदै हेलचेक््रयाइँ गरिए नेपाल एफएटिएफको ‘ग्रे लिस्ट’बाट ‘ब्ल्याक लिस्ट’मा पर्न सक्ने भन्दै सचेत गराए ।
त्यस्तै, राष्ट्र बैंकका पूर्वगभर्नर चिरञ्जीवी नेपालले अर्थतन्त्रमा दूरगामी सकारात्मक प्रभाव पार्न सक्ने, अन्तर्राष्ट्रिय परिवेशमा आएका कुराहरूलाई देशभित्र ल्याएर वित्तीय व्यवस्था राम्रो बनाउन सक्ने तथा आधुनिक अर्थतन्त्रलाई प्राथमिकतामा राखेर काम गर्न सक्ने गभर्नर आवश्यक रहेको बताए । सौर्य दैनिकसँग उनले भने, ‘वित्तीय क्षेत्रलाई चलायमान तथा प्रभावकारी बनाउन सक्ने व्यक्ति आवश्यक छ ।’ अर्थतन्त्र चलायमान बनाउन राष्ट्र बैंकले ल्याउने मौद्रिक नीतिले ठुलो भूमिका खेल्ने बताउँदै उनले राजनीतिक गन्ध आए पनि नआए पनि कुशल नेतृत्व दिन सक्ने व्यक्ति आउनुपर्नेमा जोड दिए ।
त्यस्तै, अर्थविद् डा. चन्द्रमणि अधिकारीले अर्थतन्त्र, मौद्रिक नीति तथा सम्रग वित्तीय व्यवस्था बुझेको व्यक्ति आवश्यक भए पनि हालको अवस्थामा सरकामा रहेका दलहरूले राम्रोभन्दा आफूलाई चन्दा दिएको, सहयोग गरेको तथा आफ्नो स्वार्थअनुरूप काम गर्नेखालको व्यक्ति ल्याउने सम्भावना प्रबल रहेको बताए । उनले भने, ‘राजनीतिक व्यक्ति ल्याउँदै फरक पर्दैन । तर, ‘अराजनीति’बाट ल्याउने सम्भावना छ । पछिल्लो समय हरेक नियुक्तिमा विकृति छिर्दा बिग्रिएको छ ।’
त्यस्तै, अर्का अर्थविद् तथा बैकिङ विज्ञ अनलराज भट्टराईले अब आउने गभर्नरलाई चुनौतीसँगै अवसर पनि भएको बताए । उनले भने, ‘अहिले अवस्था विगतजस्तो छैन । नेपाल ग्रे लिस्टमा परेको छ । त्यहाँबाट बाहिर निस्किन पनि थुप्रै काम गर्नुपर्नेछ । त्यस्तै, व्यवसायी, उद्योगी, कृषक तथा निजी क्षेत्रको मनोबल उच्च राख्ने गरी काम गनुपर्ने अवस्था छ ।’ मुद्रास्फीति ब्यालेन्समा राख्न सक्ने गभर्नर आवश्यक भएको बताउँदै उनले भने, ‘अब आउने गभर्नरले निजी, सरकारी र नियमनकारी निकायबीच समन्वय गरी अर्थतन्त्रलाई चलायमान बनाउने काम गर्न सक्नुपर्छ ।’
को–को छन् चर्चामा ?
गभर्नरको दौडमा डेपुटी गभर्नरहरूसँगै पूर्वडेपुटी, अर्थविद्, प्रशासक, बैंक तथा वित्तीय संस्थाका पूर्व तथा वर्तमान सिइओ, सत्तानिकट विज्ञहरू लागिपरेका छन् । डेपुटी गभर्नरद्वय नीलम ढुंगाना, बमबहादुर मिश्रलगायतले लबिइङ सुरु गरेको बताइएको छ । उनीहरू २ जनामध्ये एउटाको नाम मन्त्रिपरिषद्सम्म पुग्ने निश्चित छ । त्यस्तै, गभर्नर बन्न लगानी बोर्डमा सिइओ भइसकेका सुशील भट्टसमेत लबिइङमा छन् । यता, हालका गभर्नर अधिकारी पनि पुनः दोहोरिने आसमा रहेको बताइन्छ ।
राष्ट्रिय योजना आयोगका सदस्य प्रकाश श्रेष्ठ गभर्नरका अर्का प्रत्यासी हुन् । अर्थमन्त्री विष्णु पौडेलनिकट मानिएका श्रेष्ठले कार्यकारी निर्देशकका रूपमा राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागमा लामो समय काम गरेका छन् । गभर्नर पदमा अर्का प्रत्यासीका रूपमा राष्ट्र बैंककै कार्यकारी निर्देशक तथा आर्थिक अनुसन्धान विभाग प्रमुख गुणाकर भट्ट छन् ।
त्यस्तै, गभर्नर पदका आकांक्षीमा नेपाल बैंकर्स एसोसिएसनका पूर्वअध्यक्ष तथा नबिल बैंकका सिइओ ज्ञानेन्द्र ढुंगाना, प्रभु बैंकका सिइओ अशोक शेरचन, कृषि विकास बैंकका सिइओ गोविन्द गुरुङ, माछापुच्छ्रे बैंकका सिइओ तथा नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइराला, राष्ट्रिय योजना आयोगका पूर्वअध्यक्ष विश्व पौडेल, राष्ट्र बैंककै पूर्वकार्यकारी निर्देशक रमण नेपाललगायत दजनौँ व्यक्ति गभर्नरका लागि लबिइङमा रहेको बताइन्छ ।
प्रतिक्रिया