काठमाडौँ । आइएमई ग्रुपको लगानीमा महोत्तरीको गौशाला नगरपालिका–१, रामनगरमा स्थापना भएको नेपाल पल्प एन्ड पेपर इन्डस्ट्रिज सञ्चालनमा आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार उद्योग परिसरमा रहेको ताम्रपत्र अनावरण गर्दै उद्योगको औपचारिक उद्घाटन गरेका हुन् । उद्योग उद्घाटन समारोहलाई सम्बोधन गर्दै आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल पल्प एन्ड पेपर इन्डस्ट्रिजको सञ्चालन आइएमई ग्रुपको उत्पादनमूलक क्षेत्रमा औपचारिक प्रवेश गरेको बताए ।
२ अर्ब रुपैयाँ लगानी रहेको उद्योगले अब दैनिक ७५ मेट्रिक टन लेखन तथा छपाई कार्यका लागि उपयुक्त गुणस्तरीय कागज औद्योगिक स्तरमा उत्पादन गर्न थालेको उनले बताए । उद्योगले पहिलो चरणमा फोटोकपी पेपर र कापी किताबका लागि प्रयोग हुने कागज उत्पादन सुरु गरेको हो । शैक्षिक, प्रशासनिक तथा अन्य धेरै क्षेत्रमा उच्च माग रहेको फोटोकपी पेपर र अन्य कागजको उत्पादनले आन्तरिक बजारको माग सम्बोधन गर्ने ढकालको दाबी छ । विद्यालयको पाठ्यपुस्तक छपाई गर्दै आएको जनक शिक्षा सामग्री केन्द्र लगायतलाई समेत स्वदेशी उत्पादन प्रयोगका लागि ढोका खुल्ने उनले दाबी गरे ।
अध्यक्ष ढकालले नयाँ उद्योगको सञ्चालन मुुलुकको आत्मनिर्भरता, आर्थिक वृद्धि तथा दीगो औद्योगिक विकासप्रतिको प्रतिवद्धताको रूपमा लिन र विकासको राष्ट्रिय आकांक्षामा निजी क्षेत्रले गरेको ‘होस्टेमा हैंसे’को उदाहरण बनेको पनि उल्लेख गरे । उनले भने, ‘उद्योगहरू बन्द हुने, लगानीकर्ताहरू पलायन हुने र अरबका खाडीको ५० डिग्री सेन्टिग्रेटको तातोमा काम गर्न हाम्रा युवाहरू जानुपर्ने वाध्यतालाई कम गर्दै गरेर नयाँ उद्योगहरू खोल्दै आयात प्रतिस्थापन गर्ने र कर्ममुखी औद्योगिक विकासको नवजागरण सृजना गर्न आइएमई ग्रुपको यस्तै उत्पादनमुलक उद्योगमा भएको प्रवेश महत्वपूर्ण पाइला सावित हुनेछ ।’
औद्योगिक विकास रोजगारीको प्रमुख कारक रहेको प्रस्ट्याउँदै अध्यक्ष ढकालले नेपाल पल्प एन्ड पेपर इन्डस्ट्रीले प्रत्यक्षरूपमा ३०० बढी र अप्रत्यक्षरूपमा हजारौँका लागि रोजगारीका अवसर सिर्जना गरेको जानकारीसमेत गराए । जसमा इन्जिनियर, प्राविधिक र कारखाना श्रमिकदेखि आपूर्ति व्यवस्थापक, खुद्रा विक्रेता र किसानहरूसमेत समावेश छन् । उद्योगले ५० प्रतिशतभन्दा बढी स्थानीय र महिलाहरूलाई अवसर दिन थालेको छ ।
अध्यक्ष ढकालले यो प्रयासलाई स्वदेशी उद्योग प्रवद्र्धन गर्ने र प्रमुख क्षेत्रमा आत्मनिर्भरता हासिल गर्ने सरकार र आमनेपाली जनताको सोच तथा सपनासँगको हातेमालोको रूपमा लिन पनि आग्रह गरे । नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षको रूपमा अध्यक्ष ढकालले पछिल्लो समय नेपालमा लगानीमैत्री वातावरण निर्माणका लागि सरकारले ल्याएका कतिपय कानुनहरू निकै सहयोगी सिद्ध हुने विश्वास लिएको उल्लेख गरे ।
उनले मुलुकको अर्थतन्त्रको सुधार र विकासका लागि आवश्यक नीति तथा कानुनहरू निर्माणमा सरकारले निजी क्षेत्रका सुझावहरू सुन्न थालेको र आपसी समन्वयमा रहेर काम गरिरहेको निजी क्षेत्रले महसुस गरेको पनि उल्लेख गरे । स्वदेशी होस या विदेशी होस्, लगानीकर्ताले फिल्डमा काम भए नभएको हेर्ने गर्दछ । त्यसैले यस्तै नयाँ नयाँ ठूला आयोजनाहरू वर्षमै सञ्चालनमा आए भने त्यसले मुलुकमा लगानीको वातावरण छ भन्ने अर्थ आफैँ लाग्नेछ । त्यसैले आज सञ्चालनमा आएको यो उद्योगले पनि नेपालमा लगानीको वातावरणको सकारात्मक सन्देश यथेष्ट मात्रामा दिने पनि अध्यक्ष ढकालले बताए ।
अध्यक्ष ढकालले विगत कैयौँ वर्षदेखि नेपाल कागज तथा कागजजन्य उत्पादनका लागि आयातमा निर्भर रहँदै आएकोमा अब त्यो अवस्था नरहने बताए । मुलुकै ठुलो उद्योगमध्येको एक भृकुटी कागज कारखाना बन्द भएसँगै हामीसँग औद्योगिकस्तरमा कागजको आन्तरिक उत्पादन छैन । साना तथा हाते कागज उद्योगहरूले भने हस्तकला तथा नेपाली कागजको आपूर्तिमा योगदान गरे पनि प्रयाप्त छैन् ।
सो अवसरमा अध्यक्ष ढकालले आइएमई समूहको व्यावसायिक अभियानका प्राथमिकताका बारेमा पनि उल्लेख गरे । पहिलो राष्ट्रले प्राथमिकतामा राखेको क्षेत्रमा लगानी गर्ने, दोस्रो बढीभन्दा बढी नागरिकलाई प्रत्यक्ष रूपमा लाभ पुग्ने क्षेत्रमा लगानी गर्ने र, तेस्रो मुलुकको दीर्घकालीन र सबैको खाँचोको व्यवसाय बन्न सक्ने क्षेत्रमा लगानी गर्ने बताए ।
प्रतिक्रिया