ट्रम्प–जेलेन्स्की चर्काचर्की र रुस–युक्रेन युद्ध अन्तको सवाल

संयुक्त राज्य अमेरिकाले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग गरेको गैरकूटनीतिक व्यवहारलाई लिएर यतिबेला विश्वभर टीकाटिप्पणी भइरहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनका राष्ट्रपति जेलेन्स्कीबीच गत शुक्रबार ह्वाइटहाउसमा भएको भेटवार्ता तनावमा परिणत भएपछि विभिन्न कोणबाट टीकाटिप्पणी भइरहेको हो । विगत ३ वर्षदेखि शक्तिशाली छिमेकी रुससँग युद्ध गरिरहेको देश युक्रेनका राष्ट्रपति जेलेन्स्की थप सहयोगको अपेक्षाका साथ अमेरिका भ्रमणमा गएका थिए । अमेरिकाले पनि अहिलेसम्मको सहयोगको बदलामा युक्रेनबाट दीर्घकालीन रूपमा बहुमूल्य खनिज प्राप्त हुने अपेक्षा गरेको थियो । तर एकअर्काका अपेक्षा पूरा हुन नसक्ने अवस्था सिर्जना भएपछि भेटवार्ताले कूटनीतिक मर्यादा नाघेको अनुमान गर्न सकिन्छ । २ देशबीच हुने सौदाबाजीका क्रममा कहिलेकाहीँ कुरा नमिल्नु स्वभाविकै हो, तर कुरा नमिल्दैमा कूटनीतिक मर्यादा नाघेर राष्ट्रपतिहरू नै आपसी भनाभनमा उत्रनु कुनै पनि कोणबाट स्वभाविक होइन । भेटवार्ताका क्रममा कूटनीतिक मर्यादा कसले पहिले उल्लंघन ग¥यो ? भन्ने सन्दर्भमा दुवै देशका राष्ट्रपतिहरूले एकअर्काप्रति औँला सोझ्याएका छन् । तर, युक्रेनका राष्ट्रपति जेलेन्सकी अतिथिका रूपमा ह्वाइटहाउस गएका हुन् । अतिथिको मर्यादा कसरी राख्ने भन्ने सुझबुझ अमेरिकी राष्ट्रपति ट्रम्पले पु¥याउन सकेको देखिएन । देश चाहे ठूलो होस्, चाहे सानो, चाहे धनी होस् वा गरिब सबैको सार्वभौमिता समान हुन्छ भन्ने हेक्का अमेरिकी राष्ट्रपति ट्रम्पले राख्न नसकेको यसअघि पनि देखिएकै थियो । तर यो हेक्का राख्नु पर्ने सन्देश जेलेन्स्कीले दिए ।

२ देशका राष्ट्रप्रमुखको भेटवार्तामा भएका यस्ता तनावहरू विश्व इतिहासमा नयाँ होइनन् । स्वयं डोनाल्ड ट्रम्प अघिल्लोपटक राष्ट्रपति हुँदा उत्तर कोरियाका राष्ट्रपतिसँग योभन्दा पनि तल्लो स्तरको भनाभन भएको थियो । तर त्यो भनाभन विश्व राजनीतिमा स्वभाविक र सामान्य विषय बन्यो । किनकी उत्तर कोरिया र अमेरिकाबीच कहिल्यै पनि राम्रो सम्बन्ध थिएन । तर यसपटक जेलेन्स्की र ट्रम्पबीच भएको तनावले विश्वको शक्ति सन्तुलनमै प्रभाव पार्ने सम्भावना रहेको विज्ञहरूले औँल्याएका छन् । यो तनावले अमेरिकी नेतृत्वमा रहेको उत्तर एटलान्टिक सहयोग संगठन (नाटो) को भविष्य अब के हुन्छ ? भन्ने प्रश्न उठेको छ । नाटोमा आवद्ध युरोपेली देशहरूले जेलेन्स्कीप्रति ट्रम्पले गरेको व्यवहारलाई लिएर आपत्ति जनाइसकेका छन् । रुस र युक्रेनको मामिलामा अमेरिका तटस्थ रहन सम्भव नभएको धारणा उनीहरूले सार्वजनिक गरेका छन् । तर अमेरिकी राष्ट्रपति ट्रम्प स्वयंले केही दिनअघि युक्रेन रुसकै अंग बन्नसक्ने सार्वजनिक टिप्पणी गरेका थिए । अमेरिकी साथ सहयोगविना युक्रेनले रुससँगको युद्धलाई निरन्तरता दिनसक्ने सम्भावना कम छ ।

व्यक्तिगत व्यवहार तथा अभिव्यक्तिको कोणबाट हेर्दा अमेरिकी राष्ट्रपति ट्रम्प भद्दा रूपमा प्रस्तुत भएको सत्य हो । तर रुस र युक्रेनबीचको यो युद्धलाई निरन्तरता दिनु घातक हो भन्ने उनको दृष्टिकोणलाई नजरअन्दाज गर्न मिल्दैन । वार्ताद्वारा नै समस्याको समाधान गर्नुपर्ने ट्रम्पको तर्क स्वागतयोग्य छ । यद्यपि यहाँनिर अमेरिकाको दोहोरो चरित्र देखिन्छ । रुस र युक्रेनबीचको यो युद्धको पृष्ठभूमिमा अमेरिका मुख्य कारक हो भन्ने कुरा बिर्सनै मिल्दैन । सोभियत संघ विघटन भएर युक्रेन अलग देशका रूपमा उदाएसँगै भएका लिखित तथा अलिखित सन्धि सम्झौतामा अमेरिका प्रत्यक्ष मुछिएको छ । युक्रेनसँग आणविक हतियारको भण्डार यथावत हुन्थ्यो भने रुसले आक्रमणको आँट गर्ने थिएन । युक्रेनलाई आणविक हतियार मुक्त गर्दा अमेरिका साक्षीको भूमिकामा थियो ।

त्यसो त युक्रेनले नाटोमा आवद्ध हुने प्रयास गरेकै कारण आक्रमण गर्नुपरेको घुमाउरो दावी रुसको छ । युक्रेनले नाटोमा सामेल हुने प्रयास गर्नुमा पनि अमेरिकाकै भूमिका छ । अहिलेसम्म युक्रेनलाई उचाल्दै उचाल्दै जीवन मरणको अवस्थामा पु¥याउने र अन्तिम अवस्थामा बहुमल्य खनिज पदार्थमाथि आँखा गाड्ने अमेरिकी रवैयाप्रति जेलेन्स्की आक्रोशित हुनु स्वभाविकै हो । खनिज पदार्थका सन्दर्भमा सम्झौता नगर्ने जेलेन्स्कीको अडान उचित छ, तर वार्ताको माध्यमबाट युद्ध समाप्त गर्ने सुझावलाई भने उनले मनन गर्नैपर्छ । यो जित्ने युद्ध होइन भन्ने ट्रम्पको भनाइको अन्तर्य पनि जारी युद्ध सकेसम्म चाँडो अन्त्य हुनुपर्छ भन्ने नै हो । ओभल अफिसमा जतिसुकै चर्काचर्की भए पनि जारी युद्ध सकेसम्म चाँडो अन्त्य भए सबैको कल्याण हुनेछ ।

प्रतिक्रिया