काठमाडौँ । कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले आफूले नेतृत्व गरेको मन्त्रालयले किसानकै पक्षमा काम गरिरहेको बताएका छन् । युवा किसान सञ्जालले बिहीबार काठमाडौँमा आयोजना गरेको किसान सम्मान एवं अन्तक्र्रिया कार्यक्रममा मन्त्री अधिकारीले मन्त्रालयको नेतृत्व सम्हालेको ८ महिनाको अवधिमा भएका काम र निर्णयहरू समग्र कृषि र किसानको पक्षमा भएको बताए ।
‘कृषि ऐन चाँडै अघि बढाउने गरी मन्त्रालयले काम गरिरहेको छ । कृषिमार्फत् हामीले चाहेको समृद्धि नयाँ ऐनमार्फत प्राप्त हुन सक्ने गरी तयार हुँदै छ’, मन्त्री अधिकारीले भने, ‘ऐन चाँडै मन्त्रिपरिषद् हुँदै संसद्मा पुग्दै छ ।’
कृषिमार्फत् गरिबी घटाउँदै कम्तीमा आफ्नै हैसियतमा बाँच्न सक्ने अवस्थामा पुर्याउने लक्ष्य ऐनले बोकेको मन्त्री अधिकारीको भनाइ छ । किसानलाई परिचय पत्र वितरणको कार्य यसै वर्षदेखि सुरु गर्न लागिएको पनि उनले बताए ।
‘प्रधानमन्त्रीबाट परिचय पत्र वितरण सुरुआत गर्ने तयारी छ’, मन्त्री अधिकारीले भने ।
कृषि मन्त्रालयमार्फत विगत ५ वर्ष यता अनुदान लिएकाहरूको नाम सार्वजनिक गरिएको उल्लेख गर्दै उनले भने, ‘कृषि र किसानको नाममा १ खर्व ७ अर्ब रुपैयाँ वितरण भएको रहेछ, यसको उपलब्धि खोज्ने काम भएको छ ।’ मन्त्री अधिकारीले सिंहदरबार चहारेर अनुदान लिने विगतको प्रवृत्तिको अन्त्य भएको र आफू मन्त्रालयको नेतृत्वमा रहँदासम्म अनुदानको दुरुपयोग हुन नदिने प्रतिबद्धता व्यक्त गरे ।
प्रतिक्रिया