भाषणमै सीमित माओवादी घटक एकता, दैलोमै आएकाले पनि पाएनन् प्रवेश

पार्टीको अन्तरविरोध सल्टाउन नसक्दा विश्वास गुमाउँदै प्रचण्ड

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) मा देखिएको अन्तरविरोधका कारण माओवादी घटकबीचको एकता प्रक्रिया टर्दै गइरहेको छ । माओवादी केन्द्रले विगत १ वर्षभन्दा बढी समयदेखि माओवादी घटकहरूको एकता प्रक्रियामा जोड दिँदै आएको भए पनि पार्टीभित्रकै अन्तरसंघर्ष र अन्तरविरोधका कारण एकता हुन नसकेको हो ।

खास गरी नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र महिन्द्र राय यादवले नेतृत्व गरिरहेको नेपाल समाजवादी पार्टीबीचको एकता प्रक्रिया अन्तिम चरणमा पुगे पनि माओवादी केन्द्रले तत्काल नचाहँदा एकता प्रक्रिया भाँडिएको छ । पछिल्लो समयमा माओवादी केन्द्रभित्र गुटगत राजनीति मौलाउँदा पार्टीको आन्तरिक संगठन व्यवस्थापन नै चुनौती देखिएपछि अन्य पार्टीका नेताहरूलाई भित्र्याएर थप चुनौती नबेहोर्ने नीतिमा माओवादी केन्द्र देखिएको हो । नेताहरूका अनुसार माओवादी घटकबीचको एकता अनिश्चित बनेको छ भने पछिल्लो समय संवादहीनताको स्थिति छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका हरेक बैठक र सार्वजनिक कार्यक्रममा पूर्वमाओवादीहरू एकताबद्ध हुनुपर्ने धारणा राख्ने गरेका छन् । माओवादी घटकहरूसँग एकता गरी आगामी २०८४ सालको आमनिर्वाचनमा २०६४ सालको जस्तै जनलहर ल्याउने दाबी गर्दै आएका छन् । उनले केही घटकसँग छिट्टै एकता गर्ने भनेर पनि भन्छन् । तर, एकताका लागि ढोकामै आएर बसेका पार्टीलाई समेत प्रचण्डले बेवास्ता गर्ने गरेका छन् ।

पछिल्लो समय प्रचण्ड कुनै पनि माओवादी घटकसँग एकताका लागि संवादमा छैनन् । माओवादी केन्द्रको गत पुस २१–२३ को केन्द्रीय कमिटी बैठकले कम्युनिस्ट क्रान्तिकारीहरूबीच एकता र ध्रुवीकरणका लागि जोड दिँदै वार्ता टोली नै बनाएर पहल गर्नुपर्ने निर्णय गरेको थियो । तर, आजसम्म न वार्ता टोली बनेको छ, न त कुनै नेतामार्फत् पहल नै भएको छ । भाषणमा एकताको रटान लगाए पनि माओवादी केन्द्र स्वयं र अध्यक्ष प्रचण्ड पनि एकताबाट पछि हटेका छन् ।

एकता गर्न किन हच्किए प्रचण्ड ?

अहिले माओवादी केन्द्रभित्र आन्तरिक संघर्ष चरम चुलीमा पुगेको अवस्था छ । यो कुराको पुष्टि पछिल्लो पटक भएको जनवर्गीय संगठन अखिल (क्रान्तिकारी) को निर्वाचनले पनि गरेको छ । पार्टीको अन्तरविरोध व्यवस्थापन नभइसकेको अवस्थामा एकता गरेर थप भद्रगोल हुने हो कि भन्ने आशंकामा प्रचण्ड एकता गर्नबाट हच्किएका हुन् । त्यसो त माओवादी केन्द्रभित्र अन्य पार्टीसँग एकता गर्ने कि नगर्ने भन्ने दुईमत कायम छ । एउटा धार माओवादी घटकहरूसँग एकता गर्नु नहुने पक्षमा देखिएको छ भने अर्को पक्ष एकता गर्नुपर्ने पक्षमा देखिएको छ । पार्टीभित्र एकै मत नदेखिएका कारण पनि औपचारिक रूपमा निर्णय गरेर पार्टी अघि बढ्न नसकेको हो ।

सौर्य दैनिकसँग कुरा गर्दै माओवादी केन्द्रका एक शीर्ष नेताले आन्तरिक अन्तरविरोधको व्यवस्थापन नभएसम्म एकता नहुने स्पष्ट पारे । कसैले पनि खुलेर एकताको विरोध नगरे पनि केही नेता एकता नगर्ने पक्षमा परिस्थिति निर्माणमा सक्रिय भएको उनले उल्लेख गरे । ‘जुन दिनसम्म माओवादीमा अन्तरविरोधको व्यवस्थापन हुँदैन, त्यो दिनसम्म एकता हुँदैन । शब्दमा एकता विरोधी कोही नदेखिए पनि पार्टीभित्र एकताको सन्दर्भमा दुई फरक मत छन्,’ उनले थपे, ‘पक्ष र विपक्षको मत बलियो अथवा कमजोर भन्ने छैन । समानान्तर रूपमा अघि बढेको छ । अन्तरविरोध व्यवस्थापन नभएसम्म प्रचण्डले एकता गर्ने आँट गर्छन् जस्तो लागेको छैन ।’

उनका अनुसार प्रचण्ड एकता गर्ने पक्षमै छन् । तर, शक्ति आर्जनका लागि एकता गर्दा आफूसँग भएको शक्ति झनै खण्डित हुने हो कि भन्नेमा उनी सजग देखिएका छन् । परिस्थिति आफू अनुकूल नभएकाले प्रचण्डले तत्काल एकता नचाहेको ती नेताले दाबी गरे । उनले भने, ‘शक्ति आर्जन गर्छु भनेर एकता गर्दा आफूसँग भएको शक्ति पनि खण्डित भएर कमजोर भए प्रचण्डका निम्ति सुखद् भएन नि ! दुई प्रवृत्ति समानान्तर ढंगले अघि बढिरहेका छन् । यस्तो बेलामा एकता गर्दा प्रचण्डलाई ‘रिस्क’ हुन्छ ।’

यद्यपि माओवादी केन्द्रका महासचिव देव गुरुङले सबै पार्टीका नेताहरू व्यस्त भएका कारण एकता हुन नसकेको सौर्यलाई बताए । उनले नेताहरूले एकताबारे छलफल गर्न नै नभ्याएको उल्लेख गरे । ‘दलका नेताहरू अत्यन्त व्यस्त हुनुहुन्छ । एकताबारे समय छुट्याएर छलफल गर्न भ्याउनुभएकै छैन,’ गुरुङले थपे, ‘देखिरहनुभएकै छ नि उहाँहरूको व्यस्तता !’

दैलोमै आएको नेसपासँग पन्छिदै

२०८० चैत ३ गते नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टी कन्द्रीय समितिको एकता संयोजन समितिको बैठकले दुवै पार्टीबीच पार्टी एकता गर्ने सहमति ग¥यो । डा. बाबुराम भट्टराई र महिन्द्र राय यादव नेतृत्वको पार्टीका अर्का अध्यक्ष यादव, सहअध्यक्ष गंगानारायण श्रेष्ठ र महासचिव रमेश यादवले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकै अध्यक्षतामा बैठक बसेर सो निर्णय गरेपछि सो पार्टी विभाजन नै भयो । डा. भट्टराई एकताको विपक्षमा उभिए । तर, सहमति गरेको १ वर्ष पुग्नै लाग्दा पनि यादव–श्रेष्ठसँग एकता हुन सकेको छैन ।

एकता संयोजन समितिले एकीकृत पार्टीको नयाँ नामका सन्दर्भमा आगामी महाधिवेशनमा टुंगो लगाउने निर्णय गरिसकेको छ । एकता टुंग्याउन माओवादी केन्द्रका महासचिव देव गुरुङ र उपमहासचिव जनार्दन शर्मा तथा नेसपाका तर्फबाट सहअध्यक्ष गंगानारायण श्रेष्ठ र महासचिव रमेश यादव रहेको कार्यदलसमेत बनेको छ । तर, कार्यदलले पनि ठोस काम गर्न भने सकेको छैन ।

नेसपा स्रोतका अनुसार अध्यक्ष यादव पार्टीको नाम नयाँ नराखी एकता नगर्ने अडानमा छन् । तर, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने पार्टीको नाममा कुनै समस्या नरहेको भन्दै आगामी एकता महाधिवेशनबाट टुंग्याउने भनेर यादवलाई कन्भिन्स गरिरहेका छन्, यादव मानिरहेका छैनन् । यादवको अडानले प्रचण्डलाई पनि झनै सजिलो भएको छ । किनकि उनलाई अहिले नै एकता गरिहाल्नु छैन । तसर्थ निष्कर्ष निकाल्ने गरी छलफल हुन सकेको छैन ।

यता, सहअध्यक्ष श्रेष्ठ भने पार्टीको नामको सन्दर्भमा लचिलो देखिएका छन् । उनी पार्टीको नाम फेर्ने पक्षमै रहे पनि एकता संयोजन समितिको निर्णयअनुसार एकताको महाधिवेशनमा फेर्न सकिने भन्दै लचिलो देखिएका हुन् । तर, नेसपाका सांसदहरू माओवादी केन्द्रकै चुनाव चिह्नमा निर्वाचित भएको र सोही पार्टीको संसदीय दलमा रहेको विद्यमान अवस्थामा एकता गर्न चाहेमा जुनकुनै दिन एकता हुन सक्ने नेसपा नेताहरू बताउँछन् ।

सौर्य दैनिकसँग कुरा गर्दै नेपाल समाजवादी पार्टीका सहअध्यक्ष गंगानारायण श्रेष्ठले संयोजन समितिले एकतासम्बन्धी ३ बुँदे निर्णय नै गरिसकेकाले पार्टी एकता चाँडै हुने विश्वास व्यक्त गरे । ‘पार्टी एकता अहिलेको आवश्यकता हो । त्यो आवश्यकतालाई सबैले बोध गर्नुपर्छ । दुई पार्टीबीचको एकता चाँडै सम्पन्न हुन्छ,’ उनले भने ।

एकता नहुनेमा ढुक्क विप्लव, आस जीवितै

गत वैशाख ५ गते सुरु भएको नेत्रविक्रम चन्द (विप्लव) ले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटीको पाँचौँ बैठकले माओवादी केन्द्रसँग एकता गर्ने निर्णय ग¥यो । तर, ८ महिना बित्दासमेत एकता हुन नसकेपछि गत मंसिर २७ गतेदेखि पुस २ गतेसम्म बसेको केन्द्रीय कमिटीको छैठौँ पूर्ण बैठकले भने माओवादी केन्द्र एकताप्रति उदासीन देखिएको निष्कर्ष निकाल्यो । नेकपा पनि एकताबाट पछि हटिसकेको छ । तर, औपचारिक रूपमा माओवादीसँग एकता गर्दैनौँ भनिसकेको अवस्था छैन । विप्लवको माओवादीसँग एकता गर्ने हुटहुटी मरिनसकेको पार्टीका एक नेताले बताए ।

विप्लव निकट स्रोतका अनुसार एकताको निर्णय गरेर महिनौँ कुर्दासमेत प्रचण्डले एकताको कुरा पार्टीको औपचारिक फोरमा नराख्नुले उनी एकताबाट पछि हटेको विप्लवको निष्कर्ष छ । त्यसो त सो कुरा उनले सार्वजनिक रूपमा पनि भन्दै आएका हुन् । ‘मैले पार्टीमा एकताका लागि निर्णय गराएँ । एकताको निर्णय गरेको ८ महिनासम्म पर्खेर बसियो । ८ महिनासम्म प्रचण्डले औपचारिक ढंगले कुरा बढाएनन् । अनौपचारिक रूपमा मात्रै कुरा भयो । औपचारिक रूपमा केन्द्रीय समिति बैठकमा समेत हाम्रो प्रस्तावको बारेमा केही बोलिएन,’ विप्लवको भनाइ उद्धृत गर्दै ती नेताले भने, ‘यद्यपि एकताको च्याप्टर क्लोज भएको छैन । अहिलेलाई मात्र क्लोज गरेका हौँ ।’

अर्थात् अझै पनि विप्लव एकताको पक्षमै छन् । नेकपाले समाजवादी मोर्चालाई बलियो बनाउने र त्यहीँबाट काम गर्दै जाने निर्णयसमेत गरेको छ । नेकपाका एक केन्द्रीय सदस्यले माओवादी अध्यक्ष प्रचण्डले पार्टीभित्रको अन्तरविरोध मिलाउन नसक्दा नै एकता हुन नसकेको बताए । उनले प्रचण्डले चाहे पनि परिस्थितिका कारण एकता हुन नसकेको भन्दै एकताको सम्भावना टर्दै गइरहेको बताए । ‘माओवादी केन्द्रका नेताहरूका पछिल्ला गतिविधि र अभिव्यक्ति पनि माओवादी घटकहरूसँग एकता गर्ने खालका छैनन्,’ उनले भने ।

विश्वास गुमाउँदै प्रचण्ड

नेकपा र नेसपासँग एकता गर्ने भनेर ‘लिंगरिङ’ गरिरहेका अध्यक्ष प्रचण्डको विश्वसनीयतामाथि ठुलो प्रश्न उठेको छ । यी दुई पार्टीसँगको एकतामा ढिलाइ हुँदा माओवादी केन्द्रसँग एकतामा आउन चाहने अन्य पार्टीहरू पनि पछि हटेका छन् । पार्टीले निर्णय गरेर १ वर्षसम्म कुरेका २ पार्टीलाई समेत प्रवेश गराउन नसकेको माओवादी केन्द्रले सम्पूर्ण माओवादी घटकहरूलाई एकताबद्ध गर्छ भन्नेमा माओवादीकै नेता÷कार्यकर्ता विश्वस्त हुन सकेका छैनन् । विगतमा माओवादी केन्द्रसँग एकता हुन सक्छ भन्ने नेकपा (एकीकृत समाजवादी) समेत अहिले एकताको कुरा गर्न रुचाएको छैन । माओवादी घटककै रूपमा रहेका मोहन वैद्यले नेतृत्व गरेको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र डा. बाबुराम भट्टराईले नेतृत्व गरेको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) त माओवादी केन्द्रसँग कोसौँ टाढा छन् ।

सौर्य दैनिकसँग कुरा गर्दै माओवादी केन्द्रका अर्का एक पदाधिकारीले अध्यक्ष प्रचण्डमा विश्वसनीयताको खडेरी पर्दा हातैमा आएको माछा उम्किने खतरा रहेको बताए । उनले नेसपा र नेकपासँग तत्कालै एकता नभए अन्य दलसँग पनि एकता हुन नसक्ने भन्दै छिटोभन्दा छिटो एकता गर्नुपर्नेमा जोड दिए । यी दलसँग एकता नभएको खण्डमा आगामी दिनमा समाजवादी मोर्चा हुँदै पार्टी एकतामा जाने भनिएको कुरा पनि सम्भव नहुने उनको भनाइ छ । ‘पार्टीभित्रको स्थितिका कारण अध्यक्षले निर्णय गर्न नसक्नुभएको हो,’ उनले भने, ‘तर प्रचण्ड अविश्वसनीय भए भनेर अन्य पार्टीसमेत बिच्किने अवस्था बनेको छ ।’

प्रतिक्रिया