सरकारको विरोध र आश्वासनका पोका बोकेर माओवादीको देश दौडाहा सुरु
काठमाडौँ । सत्ताबाट बाहिरिएर प्रतिपक्षी बेन्चमा पुगेपछि होस्, अथवा पार्टी राजनीतिको प्रतिपक्षी कित्तामा पुगेपछि, नेताहरू जनतामा जाने भन्दै देश दौडाहामा निस्किने प्रचलन पुरानो होइन । सत्ता र शक्तिमा हुँदा जनताको समस्या र पिरमर्कामा आँखा चिम्लिने तिनै नेतालाई ‘कर्नर’मा परेपछि भने देश र जनताको अत्यधिक चिन्ता र चासोले सताउने गरेको छ ।
पछिल्लो समय राजनीतिक दलहरू सत्ता बाहिर रहेका बेलामा जनताको कुरा सुन्ने नाममा देश दौडाहामा निस्किने क्रम झन् बढ्दो छ । तर, नेताहरूले गर्ने यी र यस्ता देश दौडाहाको उपलब्धि भने आफ्ना कार्यकर्ताले रोजगारी पाउनेबाहेक शून्य छ । यस्ता अभियानले न त जनताको समस्या समाधान भएका छन्, न सरकार अथवा सरोकारवालाले नै कुनै दबाब अनुभव गरेका छन् । यद्यपि, जनभावनालाई आफूप्रति आकर्षित गर्न नेताहरूले अभियानका नाममा यस्ता ‘स्टन्ट’ सञ्चालन गर्ने गरेकै छन् ।
दृष्टान्तका रूपमा राजनीतिक दलहरूका केही अभियानलाई लिन सकिन्छ । नेकपा एमालेले गत वर्ष मंसिर १४ गतेदेखि ३ साता लामो मध्यपहाडी राजमार्ग केन्द्रित अभियान ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि संकल्प यात्रा’ गरेको थियो । एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत नेताहरूले ठाउँ–ठाउँमा पुगेर भाषण गरे । तत्कालीन सरकारको तीव्र आलोचना गरे र जनताको समस्या समाधान गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । आफू सरकारबाहिर रहँदा गर्छु भनेका जनताका काम आज सरकारमा पुगेपछि पनि ज्यूँका त्यूँ छन् ।
त्यतिखेर आफूले देखेका जनताका समस्या समाधानका लागि कुनै अभियान सञ्चालन गरेको जानकारीमा छैन । त्यस्तै, नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पनि गत वर्ष माघ १६ गतेदेखि मेची–महाकाली संवाद यात्रा गरे । झापाबाटै सुरु गरेको उनको यात्रा पनि विभिन्न जिल्ला हुँदै पश्चिमसम्मै पुग्यो । उनको पनि नारा उही थियो– जनताका पिरमर्का सुन्ने । पार्टीलाई जनतासँग जोड्ने । आज कांग्रेस सरकारमा छ र सरकार सञ्चालनका लागि सत्तारुढ दलले बनाएको संयन्त्रमा थापा पनि छन् । तर, उनले पनि आफूले अभियानमा देखेका जनताका पिरमर्का समाधानका लागि के गरे ? भन्ने प्रश्न जीवितै छ ।
त्यस्तै, नेकपा (एमाले) बाट निष्कासनमा परेका नेता भीम रावलले पनि मातृभूमि जागरण अभियान घोषणा गरे । उनले पनि अभियान घोषणा हुनासाथ झापाबाट पश्चिमसम्मको यात्रा तय गरेर जनताको मनोभावना बुझेर पार्टी निर्माण गर्ने घोषणा गरेका थिए । र, हाल पनि जनसंवादमै छन् । नयाँ राजनीतिक शक्तिहरूले पनि यस्ताखाले ‘जनसंवाद’ गरिरहेकै छन् । तर, के उनीहरूले यस्ता यात्राबाट आफूलाई परिवर्तन गर्न सकेका छन् ? अनुत्तरित छ ।
यसैबीच, प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले सत्तारुढ नेकपा (एमाले) कै बाटो अंगीकार गर्दै अभियान सुरु गरेको छ । गत असार ३० गते सत्ताको अविच्छिन्न यात्रामा ब्रेक लागेपछि जनतालाई सम्झिँदै आएको माओवादी केन्द्रले यस पटक भने जनताकै घरदैलोमा पुगेर आफ्ना कुरा राख्ने भन्दै १ महिने ‘जनतासँग माओवादी तराई–मधेस जागरण अभियान’ सुरु गरेको हो । सोमबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले झापास्थित कचनकवलबाट अभियान उद्घाटन गरे । अभियान चैत ७ गते कञ्चनपुर पुगेर
माओवादी केन्द्रले जनताकहाँ पुगेर आफ्ना कुरा राख्ने र सरकारका गलत कामको भण्डाफोर गर्ने भन्दै गत पुस २१–२३ बसेको केन्द्रीय समिति बैठकको निर्णयअनुसार सुरु भएको अभियानमा पार्टीका उपमहासचिवभन्दा माथिका पदाधिकारी सहभागी छन् । अभियानमा प्रदेश कमिटी, जिल्ला कमिटीसहित स्थानीय कमिटीहरूको पनि सहभागिता हुने जनाइएको छ ।
माओवादी केन्द्रका नेताहरूले बताएअनुसार अभियानका प्रमुख ३ लक्ष्य छन् । पहिलो– सरकारको विरोध गर्ने । दोस्रो– जनतासँगको सम्बन्ध सुदृढ गर्ने, र तेस्रो– जनतालाई आश्वासन दिने । आगामी आमनिर्वाचनसम्म सरकारमा पुग्ने सम्भावना करिब न्यून रहेको माओवादी केन्द्रले मतदातालाई आफ्नो पक्षमा पार्ने प्रयास गर्न खोजेको छ । यो कुराको पुष्टि उद्घाटन कार्यक्रममा अध्यक्ष प्रचण्डले गरेको सम्बोधनले पनि गर्छ ।
प्रमुख लक्ष्य ः सरकारको विपक्षमा जनमत बढाउनु
माओवादी केन्द्रले अभियानभर सरकारको विरोध गर्ने भएको छ । आफू सरकारमा बाहिरिनुको कारण भनेर अनेकौँ कुरा भन्दै आएको छ । आफूलाई सरकारबाट जबरजस्त निकालिएको हो भन्ने कुरा जनतालाई बुझाउनु पनि उसको ध्येय छ । सोमबार पनि प्रचण्डले संविधान मिचेर वर्तमान सरकार बनाइएको भन्दै सरकार असंवैधानिक रहेको जिकिर गरे । उनले सरकारले निरंकुश र तानाशाही सोच बोकेको आरोप लगाउँदै भने, ‘यो सरकार अलोकतान्त्रिक सरकार हो । निरंकुश र तानाशाही सोच र प्रवृत्ति भएको सरकार हो । यो लोकतन्त्रविरोधी सरकार हो । यो प्रमाणित छ ।’ अध्यक्ष प्रचण्डले ‘यो सरकार पुँजीपतिको घूस खाएर बनेको’ सम्म भन्न भ्याए । मूल रूपमा सरकारको विरोध गरेर जनमत आफ्नो पार्टीतिर तान्ने प्रचण्डको प्रयास देखिन्छ ।
जनतासँगको सम्बन्ध सुधार्ने प्रयास
प्रचण्डले देशका आदिवासी जनजातिसँगको सम्बन्धलाई सुदृढ गर्न हुलाकी मार्ग केन्द्रित अभियान चलाइएको बताए । त्यस्तै, सीमा क्षेत्रमा रहेका उत्पीडित वर्ग, मधेसी समुदायसँग सम्बन्ध सुदृढ गर्नुपर्ने आवश्यकता रहेको भन्दै त्यसैका लागि यो मार्ग चयन गरिएको उनको भनाइ छ । कञ्चनपुरसम्म पुग्दा थारू, मुस्लिमलगायत अन्य उत्पीडित जातजातिसँगको सम्बन्ध सुदृढ गर्ने पनि उनले बताए । सत्तामा हुँदा संगठन विस्तार र जनतासँग भेटवार्ता गर्न खासै नरुचाउने माओवादी केन्द्रले खिइँदै गएको आफ्नो शक्ति पुनरार्जन गर्न जनसम्बन्ध बढाउन खोजेको छ ।
जनतालाई आश्वासनको पोको
गत वर्ष एमालेले गरेको अभियानमा कार्यक्रमैपिच्छे अध्यक्ष ओलीले जनताका मागपत्र बोकेर हिँडेका थिए । विकास निर्माणको योजना पारिदिने भन्दै कैयौँ ठाउँमा भाषण पनि गरेका थिए । जनताले दिएका सो मागको ठेलीको किताब नै निकालेर उनले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएका पनि थिए ।
सो बखत तत्कालीन प्रधानमन्त्री प्रचण्डले एमालेको यात्राले आफूृलाई योजना निर्माणमा सहजता तुल्याउने पनि बताएका थिए । आज तिनै प्रचण्ड अब फेरि स्थान विशेषका तिनै माग लिएर संसद्मा बोल्ने र सरकारलाई ध्यानाकर्षण गराउने भन्दै छन् । सोमबारको सम्बोधनमा पनि उनले झापालाई धानको सुपरजोन पुनस्र्थापना गर्न पार्टीले पहल गर्ने बताए ।
त्यस्तै, जंगली हात्ती नियन्त्रणका लागि पहल गर्ने पनि उनको भनाइ थियो । चिया बगान र चिया कारखानाहरूमा श्रम ऐन र योगदानमा आधारित सामाजिक सुरक्षा लागू गर्न तथा चिया मजदुरलाई रासन कार्ड दिन ध्यानाकर्षण गराउने आश्वासन प्रचण्डको छ । जबकि २०६४ सालपछि अविच्छिन्न सरकारमा रहेको माओवादी केन्द्रले चाहेको भए यी कामहरू यसअघि नै पूरा भइसक्ने थिए ।
प्रतिक्रिया