यातायात, सूचना तथा सञ्चार र विज्ञान प्रविधिको विकाससँगै पछिल्ला दशकहरूमा जनताको जीवनस्तरमा सुधार आएको छ । गरिबीको रेखामुनिको संख्या घटेको छ । साक्षरता दर बढेको छ । अपराधशास्त्रीहरूका अनुसार यस्ता सूचकहरू शान्ति तथा अमनचयनका द्योतक हुन् । तर यथार्थ बेग्लै छ । देशमा अपराधका घटनाहरू कम भएका छैनन्, बरु बढेका छन् । पछिल्लो ५ वर्षमा देशभर झण्डै ३ हजार जनाको हत्या भएको प्रहरीको तथ्यांक छ । यो संख्या अघिल्लो ५ वर्षको तुलनामा ११ प्रतिशत बढी हो । यसैगरी आर्थिक वर्ष २०७७–०७८ मा देशभर विभिन्न प्रकृतिका ४० हजार १२० वटा अपराधिक घटनाका मुद्दा दर्ता भएकोमा आर्थिक वर्ष २०८०–०८१ मा ५९ हजार २०३ वटा अपराधिक घटना दर्ता भएको तथ्यांक नेपाल प्रहरीसँग छ । अपराधका घटना यतिधेरै बढ्नु भनेको सामान्य कुरा होइन । अपराध नियन्त्रणमा राज्य चुकेको संकेत हो यो । अपराधीहरूको मनोबल बढेको संकेत पनि हो । यो यथार्थलाई स्वीकार गर्दै केही दिनअघि प्रधानमन्त्री ओलीले भनेका थिए, ‘हिजोका दिनमा प्रहरी देखेपछि सुन तस्कर भाग्थ्यो, आज उल्टै हप्काउँछ ।’ अपराधीको पहुँच प्रहरीभन्दा माथिल्लो तहसम्म हुनु, अपराधमा उच्च प्रविधिको प्रयोग बढ्नु लगायतको परिणाम हो यो ।
हिजोका दिनमा अपराधकर्ममा सहभागी हुने व्यक्तिले अपनाउने शैलीबारे नेपाल प्रहरीको जनशक्ति परिचित थियो । धेरैजसो अपराध ‘फिल्ड’मा हुन्थ्यो । व्यक्तिको प्रत्यक्ष संलग्नतामा अपराध हुन्थ्यो । प्रहरीलाई पनि यसैअनुसार तालिम प्रदान गर्ने गरिन्थ्यो । प्रहरीको अनुसन्धानबाट अपराधी सहज उम्कन सक्ने अवस्था थिएन । तर पछिल्लो समयमा नयाँ पुस्तामा सूचना प्रविधिको पहुँच तथा दक्षता बढेको छ । त्यसको तुलनामा प्रहरी जनशक्तिलाई तालिम प्रदान गर्न, साधन तथा स्रोत उपलव्ध गराउन नसकिएको अवस्था छ । अर्को कुरा, धेरैजसो अपराधहरू आर्थिक मामिलासँग जोडिने गरेका हुन्छन् । विगतमा आर्थिक गतिविधि कम हुन्थ्यो वा आर्थिक गतिविधिमा सीमित मान्छे हुन्थे । तर, पछिल्ला वर्षहरूमा आर्थिक गतिविधि बढेको छ । वैदेशिक रोजगारीका कारण हिजोका गरिब घरपरिवारमा समेत रकम भित्रिन थालेको छ । एकातिर विदेशबाट आएको रकम सुरक्षित गर्ने विधिबारे सम्बन्धित परिवारका सदस्य अनभिज्ञ छन् भने अर्कातिर आपराधिक मानसिकता बोकेका व्यक्तिहरू यिनैका पछाडि झिंगा भन्किएसरी लागेको देखिन्छ । नेपाल प्रहरीले पनि अन्य प्रकृतिका अपराध घटे पनि साइबर तथा ठगी अपराध बढेकोले समग्र अपराधको ‘ग्राफ’मा उच्च वृद्धि भएको देखिएको जनाएको छ ।
जनतामा राज्यको उपस्थिति महसुस गराउने मुख्य माध्यम भनेकै शान्ति तथा अमनचयन हो । सरकारबाट भएका अन्य प्रयत्नलाई जनताले खासै स्मरणमा राखेका हुँदैनन्, तर सुरक्षाको प्रत्याभूतिलाई जनताले हरहमेसा ख्याल गर्छन् । अहिलेको शासन व्यवस्थाभन्दा पञ्चायत नै राम्रो भन्ने जनमानस अहिले पनि छ । यसको मुख्य कारण शान्ति सुरक्षा र अमनचयन हो । देशको विकास भनेको भौतिक पूर्वाधार निर्माण मात्रै होइन, दक्ष जनशक्ति उत्पादन मात्रै पनि होइन, शान्ति सुरक्षा तथा अमनचयन पनि त्यतिकै महत्वपूर्ण छ । तर, शान्ति सुरक्षा तथा अमनचयनको मामिलामा सरकार चुकेको कुरा प्रधानमन्त्री ओली स्वयंले स्वीकार गरिसकेको अवस्था छ । यो मामिलामा सरकार किन चुक्यो ? भन्ने कारण पनि स्पष्ट छ । कारण थाहा नहुँदासम्म समस्या समाधान गर्न सजिलो हुँदैन ।
जब कारण थाहा हुन्छ, तब समस्या समाधान जटिल हुँदैन । तर राज्यको नीतिनिर्माण तथा कार्यन्वयन तहमा पुग्नेहरूले यस विषयमा ध्यान दिएको देखिन्न । कानुन निर्माणमा थोरै भए पनि ध्यान पुगे पनि अपराध नियन्त्रण तथा अनुसन्धानको मुख्य दायित्व बोकेको नेपाल प्रहरीको जनशक्तिलाई दक्ष बनाउन, साधन–स्रोतसम्पन्न बनाउन, स्वतन्त्रतापूर्वक काम गर्ने वातावरण बनाउन तथा मनोबल बढाउन सरकारमा रहनेहरू चुकेका छन् । पछिल्ला वर्षमा दल तथा तिनका नेताहरूप्रति जनतामा वितृष्णा बढ्दै जानु र शासन व्यवस्थाकै आलोचना हुनुको कारण यही हो । शान्ति सुरक्षा तथा अपराध नियन्त्रणको मामिलालाई राज्यले उच्च प्राथमिकतामा राख्न सक्यो भने मात्रै जनताको मन जित्न सकिन्छ । यो यथार्थप्रति सरकारमा रहनेहरूको यथाशीघ्र ध्यान जाओस् ।
प्रतिक्रिया