एसएलसी सुरक्षा भत्ता वितरणमा विवाद

धनगढी, १३ चैत । कञ्चनुरमा प्रवेशिका परीक्षा (एसएलसी) सञ्चालनका अवधिमा सुरक्षाकर्मीलाई प्रदान गरिने सुरक्षा भत्ता वितरण प्रक्रियामा विवाद सिर्जना भएको छ । सशस्त्र प्रहरीले आफूले पनि सुरक्षा भत्ता पाउनुपर्ने माग गरेपछि वितरण प्रक्रियामा विवाद आएको हो ।

परीक्षा सञ्चालनका अवधिमा सुरक्षा प्रदान गर्न खटाइएका सुरक्षाकर्मीलाई खाजा खर्चमार्फत एक परीक्षा केन्द्रमा ४ हजार रुपियाँ सुरक्षा भत्ता छुट्याइएको हुन्छ । परीक्षा सञ्चालनको अवधिमा सुरक्षार्थ खटाइएका सबै सुरक्षाकर्मीलाई खाजा खर्च दिने अधिकार केन्द्राध्यक्षसँग हुन्छ । तर, सुरक्षा भत्ता आफूहरूले मात्रै पाउनुपर्ने नेपाल प्रहरीको अडानले वितरण प्रक्रियामा विवाद उत्पन्न भएको छ ।
सुरक्षा भत्ता वितरण गर्ने अधिकार केन्द्राध्यक्षलाई भएकाले आवश्यकताअनुसार केन्द्राध्यक्षले नै वितरण गर्नुपर्ने शिक्षा अधिकारी राकेश श्रीवास्तवले बताए । ‘जस–जसले परीक्षा केन्द्रमा सुरक्षा प्रदान गरे, उनीहरूलाई खाजा खुवाउन त्यो भत्ता दिइने हो,’ शिक्षा अधिकारी श्रीवास्तवले भने, ‘यसमा विवाद गर्नु आवश्यकै छैन । परीक्षा केन्द्रमा परिचालन भएका सुरक्षाकर्मीलाई खाजा, नास्ता खुवाउन रकम विनियोजन भएकाले सुरक्षाकर्मीलाई नै दिइने हो ।’
परीक्षा केन्द्रमा आफूहरूले पनि सुरक्षा प्रदान गरेको भए पनि भत्ता नपाएको सशस्त्र प्रहरीको भनाइ छ । ‘परीक्षा केन्द्र सशस्त्र प्रहरीका जवानले समेत सुरक्षा प्रदान गरेको हो,’ सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय मझगाउँका एसपी वीरबहादुर श्रेष्ठले भने, ‘एउटा प्रहरीले भत्ता पाउने अर्कोले नपाउने ? यस्तो पनि हुन्छ ?’ नेपाल प्रहरीका जिल्ला प्रमुखले सशस्त्र प्रहरीले भत्ता नपाउने भनेका कारण विवाद भएको उनको भनाइ छ । ‘नेपाल प्रहरीका जिल्ला प्रमुखले सशस्त्रले भत्ता पाउनुहुँदैन भनिरहनुभएको छ,’ सशस्त्र प्रहरी उपरीक्षक थापाले भने, ‘भत्ता दिइने भए दुवै प्रहरीलाई बराबर दिइनुपर्‍यो, नत्र दिइनुभएन ।’
एसएलसी परीक्षामा सुरक्षा प्रदान गर्न सशस्त्र प्रहरी परिचालन नै नभएकाले भत्ता पाउनुपर्छ भन्ने कुरा जायज नभएको नेपाल प्रहरीको भनाइ छ । ‘एसएलसी परीक्षामा सशस्त्र प्रहरी परिचालन नै भएको छैन,’ जिल्ला कार्यालय कञ्चनपुर प्रमुख एसपी विनोद शर्मा घिमिरेले भने, ‘सशस्त्र प्रहरीको दादागिरी मात्र हो ।’ एसएलसी परीक्षालाई चुस्त, दुस्त र भयरहित सञ्चालन गर्न जिल्लास्तरमा गठित परीक्षा समन्वय समितिको निर्णयअनुसार सुरक्षाकर्मी परिचालन गरिने र त्यसको जिम्मेवारी नेपाल प्रहरीलाई भएको एसपी घिमिरेको भनाइ छ । ‘परीक्षा समन्वय समितिको बैठकले सशस्त्र प्रहरीलाई परिचालन गर्ने भन्ने निर्णय नै गरेको छैन,’ एसपी घिमिरेले भने, ‘परिचालन नै नगरिएका सुरक्षाकर्मी आफूखुसी पठाउने अनि भत्ता पाउनुपर्‍यो भन्ने ?’ एसएलसी परीक्षामा सशस्त्र प्रहरी परिचालन गर्ने भन्ने प्रावधान नै नभएको एसपी घिमिरेले बताए ।
सुरक्षाको जिम्मा नेपाल प्रहरीलाई भएकाले भत्ताको लागि आफूले मात्रै दाबी गरेको हुनसक्ने परीक्षा समन्वय समितिका संयोजकसमेत रहेका सिडिओ रुद्रप्रसाद पौडेलले बताए । ‘नेपाल प्रहरीले सुरक्षाको जिम्मा लिने गरेको छ,’ पौडेलले भने, ‘सुरक्षाका जिम्मा आफूले लिएपछि भत्ता सशस्त्रलाई दिन नमानेको होला ।’ सुरक्षा भत्ता आफूले पनि पाउनुपर्ने सशस्त्रले गरेको र सशस्त्रको मागमा नेपाल प्रहरीले सहमति नजनाएकाले विवाद उत्पन्न भएको उनको भनाइ छ । एसएलसी परीक्षाको सुरक्षा भत्ता आफूले पनि पाउनुपर्ने सशस्त्र प्रहरीले माग गरेपछि गत वर्षसमेत विवाद सिर्जना भएको थियो ।
एसएलसी परीक्षालाई चुस्त, दुरुस्त र भयरहित वातावरणमा सञ्चालन गर्नका लागि आवश्यक व्यवस्था गर्न जिल्लास्तरमा परीक्षा समन्वय समिति गठन गरिएको हुन्छ । सिडिओ संयोजक रहने समन्वय समितिमा शिक्षा अधिकारी र नेपाल प्रहरीका जिल्ला प्रमुख सदस्य रहन्छन् । परीक्षामा कति सुरक्षाकर्मी परिचालन गर्ने ? सुरक्षा व्यवस्था कसरी व्यवस्थित गर्ने विषयमा समन्वय समितिले निर्णय गर्छ ।

प्रतिक्रिया