इलाम । दीपेन्द्रशिखर फुटबल क्लब इलाम १५औँ संस्करणको ‘पवित्रहाङमा गोल्डकप’ अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा दीपेन्द्रशिखरले रोयल स्पोर्टिङ क्लब दमक झापालाई टाइब्रेकरमा ५–४ ले हराउँदै फाइनलमा स्थान बनाएको हो । खेल निर्धारित समयमा १–१ गोलको बराबरीमा सकिएपछि खेलको छिनोफानो टाइब्रेकरमार्फत गरिएको हो ।
टाइब्रेकरमा दीपेन्द्रशिखर भाग्यमानी सावित भयो । टाइब्रेकरमा दीपेन्द्रशिखरका सजिना कोइराला, रेविका पाण्डे, स्वस्तिमा विक, सीमा घले र आशिका राईले गोल गरे । यसैगरी, रोयल स्पोर्टिङका मनिषा चौधरी, अविका लावती, रेजिता मगर र कमला श्रेष्ठले गोल गरेन् भने विपासा धिमालको प्रहार इलामका गोलरक्षक झरना नगरकोटीले विफल पारिन् ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा भने ५६औँ मिनेटमा आसिका कार्कीको गोलमा रोयल स्पोर्टिङले सुरुआती अग्रता लिएको थियो । ६५औँ मिनेटमा सजिना कोइरालाले फ्रिकिकबाट गोल गर्दै दीपेन्द्रशिखरलाई बराबरीमा फर्काएकी थिइन् ।
खेलको प्लेयर अफ द म्याच रोयल स्पोर्टिङका कमला श्रेष्ठ घोषित भइन् । उनले नगद ३ हजार ६९ रुपैयाँ हात पारिन् । फाइनल प्रवेश गरेसँगै इलामले उपाधि भिडन्तमा कनकाई झापासँग भेट पक्का गरेको छ । फाइनल खेल शुक्रबार हुने छ ।
प्रतिक्रिया