बबरमहल घटनाबाट सिक्नुपर्ने पाठ

खानेपानीको पाइप फुट्दा राजधानी काठमाडौँको बबरमहल क्षेत्र बुधबार दिनभर अस्तव्यस्त भयो । २० इन्च मोटाइको पाइप फुटेर ४ घण्टासम्म पानी बग्दा सडक भासियो । आसपासका क्षेत्रका घरहरू डुबानमा परे । काठमाडौँ जिल्ला अदालतको भुइँतलामा रहेका ४ फाँटमा क्षति पुगेपछि ३ वटा इजलास केही दिन बन्द हुने जानकारी गराइयो । तर खानेपानीको पाइप फुटेर उत्पन्न भएको बाढीका कारण सडक तथा घरहरूमा क्षति पुगेको एवं सवारी आवागमन अस्तव्यस्त भएको पहिलो घटना भने यो होइन ।

मेलम्चीको पानी वितरण हुन थालेदेखि यस्ता समस्या पटकपटक उत्पन्न भएका छन् । २०७९ मंसिर २६ गते लाजिम्पाटस्थित खानी तथा भूगर्भ विभागअगाडि पाइप फुटेर लैनचौरदेखि जमलसम्मको सडक जलमग्न हुँदा काठमाडौँ उपत्यकाको सवारी आवागमन दिनभरी नै अस्तव्यस्त बनेको थियो । यसैगरी गत भदौमा खानेपानीको पाइप फुटेर पुल्चोक क्षेत्रको सडक भासिँदा पनि त्यस्तै समस्या उत्पन्न भएको थियो ।

त्यतिबेला खानेपानी मन्त्रालयले ३० दिनको म्याद दिएर छानविन समिति नै गठन गरे पनि समितिको प्रतिवेदन सार्वजनिक गरिएको छैन । यी त मुख्य सहरको बीचमा भएका ठूला घटना भएकोले चर्चामा आए । सानातिना घटना त कति छन् कति । अहिले पनि कैयौँ ठाउँहरूमा पाइप फुटेर महिनौँदेखि भल बगिरहेको देखिन्छ । लाज लुकाउनका लागि काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले कतिपय क्षेत्रका पाइपहरूमा पानीको आपूर्ति नै बन्द गरेको छ । बालाजु वितरण केन्द्रअन्तर्गतका केही पाइपलाइनहरूमा गत पुसको पहिलो सातादेखि नै आपूर्ति बन्द गरिएको छ । फुटेका ठाउँमा तत्काल मर्मत गर्नुको सट्टा बजेटको अभाव देखाई खानेपानी आपूर्ति बन्द गरिनु भनेको सानो लापरबाही होइन ।

सुन्दरीजलमा आइपुगेको मेलम्चीको पानी सहरी क्षेत्रमा वितरणका लागि ट्यांकी निर्माण तथा पाइप बिछ्याउन करिब २१ अर्ब रुपैयाँ खर्च भएको छ । यो रकम एसियाली विकास बैंकबाट प्राप्त ऋण हो । हरेक वर्ष यसको ब्याज तिर्नुपर्छ । तर उपभोक्ताको घरमा पुग्नुको सट्टा सडकमा पानी बगेको छ । पानी बगेको होइन, पैसा बगेको हो । मेलम्ची खानेपानी आयोजनामा लापरबाही नहुँदो हो र नेपाल विद्युत् प्राधिकरणको अहिलेको जस्तै कुशल नेतृत्व काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले पाउँदो हो त अहिलेसम्म खानेपानी महसुलबाटै ऋणको साँबाब्याज तिरिसकिने थियो । त्यसो त मेलम्चीको पाइप बिछ्याउने तयारी गर्दा नै कतिपय विज्ञहरूले यस्ता समस्या उत्पन्न हुने चेतावनी दिएका थिए । तर, वास्ता गरिएन । २०५६ सालदेखि सुरु गरिएको मेलम्ची आयोजना निर्माणको काम २५ वर्ष बितिसक्दासमेत सम्पन्न भएको छैन । अस्थायी बाँध बनाएर हिउँदमा मात्रै पानी आपूर्ति गर्ने गरिएको छ । धन्न वर्षायाममा मेलम्चीको पानी वितरण रोक्ने गरिएकोले काठमाडौँ सहर जोगिएको रहेछ । यदि २०७९ मंसिर २६ गते लाजिम्पाट र बुधबार बबरमहलमा जस्तो दुर्घटना साउन यताकाको भीषण वर्षाको बेला भए के हालत हुन्थ्यो होला ?

बुधबार २० इन्चको पाइप फुट्दा त बबरमहल आसपासमा यति ठूलो क्षति भयो भने चाबहिलसम्म ल्याइएको ५६ इन्चको पाइप वर्षायाममा फुट्यो भने के हालत होला ? यस विषयमा सरकारले गम्भीर ध्यान पुर्याउन सकेको देखिन्न । एउटै ठूलो फाइपको सट्टा २–३ वटा साना पाइप बिछ्याउनुपर्ने विज्ञहरूको सुझावलाई बेवास्ता गरिनुको परिणाम अझ भयावह हुन सक्छ । यसैगरी खानेपानी पाइप दुर्घटनाका सन्दर्भमा कत्ति पनि बिर्सन नहुने अर्को पाटो हो, ‘राज्यका विभिन्न निकायबीच समन्वयको अभाव ।’ बुधबार बबरमहलमा भएको दुर्घटनाको कारण गुणस्तरहीन पाइपभन्दा पनि विद्युत्को तार भूमिगत गर्ने ठेकेदारको लापरबाही भएको देखिन्छ ।

यस्तो लापरबाही हुनुको मुख्य कारण समन्वयको अभाव हो । सडक विभाग, विद्युत् प्राधिकरण, खानेपानी, दूरसञ्चार लगायतका निकायबीच समन्वयको अभावमा धेरै ठूलो भौतिक र आर्थिक क्षति भइरहेको छ । एकीकृत सहरी विकास योजनाको अभाव, पूर्वाधार विकाससम्बन्धी काम विभिन्न मन्त्रालय र निकायमा बाँडिनु, ‘युटिलिटी करिडोर’सम्बन्धी ऐन कानुनको अभावजस्ता कारणले यस्ता घटना हुने गरेको पुष्टि भइसकेको छ । भौतिक पूर्वाधार विकासका लागि एउटै मन्त्रालय वा निकाय तथा एकीकृत कार्ययोजना हुनुपर्ने पूर्वाधारविज्ञहरूको सुझावलाई मनन् गर्दै कार्यान्वयनमा ल्याउन सरकारले कत्ति पनि ढिलाइ नगरोस् ।

प्रतिक्रिया