मेलम्चीको पाइप फुट्दा सडकदेखि अदालतसम्म प्रभावित

प्राधिकरणको गल्तीले बबरमहल क्षेत्रमा डुबान

खानेपानीको पाइप फुटेर जलमग्न विशेष अदालत परिसर काठमाडौँ, ३० माघः मेलम्ची खानेपानीको पाइप फुटेर आज जलमग्न भएको काठमाडौँको बबरमहलस्थित विशेष अदालत भवन परिसर । तस्बिरः रत्न श्रेष्ठ/रासस

काठमाडौँ । काठमाडौँको बबरमहलमा मेलम्ची खानेपानी आयोजनाको पाइप फुट्दा विशेष अदालतलगायत सरकारी भवन जलमग्न बनेका छन् । बबरमहलको सडकमा रहेको पानीको पाइप फुटेपछि त्यहाँबाट बगेको पानी सरकारी भवन र सडकमा पस्दा जिल्ला अदालत काठमाडौँको दोस्रो भवन र विशेष अदालतको सुनुवाइ प्रक्रिया नै अवरुद्ध बनेको छ ।

जिल्ला अदालतले सूचना जारी गर्दै अर्को सूचना जारी नहुन्जेललाई सेवा नै स्थगन गरेको जनाएको छ । यस्तै विशेष अदालतले पनि सेवा प्रभावित भएको जनाएको छ । त्यतिमात्रै होइन, निकै परको दुरीमा रहेको प्रसूति गृहमा समेत बाढी पस्ने डरले सुरक्षाकर्मी परिचालन गरिएको थियो । पाइप फुटेको करिब ४ घन्टापछि पानी बन्द गर्न सकिएको थियो ।

नेपाल विद्युत् प्राधिकरणले सडकमा भूमिगत विद्युत् लाइन बिछ्याउने क्रममा पाइप फुटेर बाढी पसेको हो । बाढीका कारण तल्लो क्षेत्रमा पार्किङ गरिएका सवारीसाधनहरू डुबेका थिए भने पानी जमेको र सडकसमेत भासिएका कारण अवतजावतमा पनि समस्या भएको थियो ।

खानेपानीको पाइप फुटेर सडक अवरुद्ध भएको घटना यो पहिलो भने होइन । यसअघि काडमाडौँकै लैनचौरमा पनि यस्तै घटना भएको थियो । त्यस्तै, मेलम्ची खानेपानीको पाइप परीक्षणका क्रममा काठमाडौँको तिनकुने क्षेत्रमा सडक जलमग्न भई सवारीसाधन आवागमनमा समेत समस्या भएको थियो ।

मेलम्ची खानेपानी उपआयोजना–२ का उपनिर्देशक चन्द्रकुमार श्रेष्ठले बुधबार बबरमहलमा विद्युत् प्रधिकरणको काम गरिरहेको ठेकेदार कम्पनीका कारण पाइप फुटेको बताए । उनले भने, ‘विद्युत् प्राधिकरणको तार भूमिगत गर्ने काम चलिरहेको समयमा पाइपको ख्याल नै नगरी ड्रिलिङ गर्दा पाइप फुटेको देखिएको छ ।

पाइप फुटेपछि खानेपानीको अभाव केही स्थानमा हुने भए पनि धेरै स्थानमा प्रभावित नहुने उनले बताए । उनले भने, ‘मिनभवन ट्यांकीमा पानी सप्लाई गर्ने पाइप फुटेको हो । त्यसले गर्दा स्थानीय केही ठाउँमा पानी रोकिए पनि ठुलो क्षेत्रमा प्रभावित हुँदैन ।’ खानेपानीको पाइपमा भएको क्षतिको इस्योरेन्सले कभर नभएमा (क्षतिपूर्ति) पाइप मर्मतको खर्च भराउने उनले बताए ।

श्रेष्ठले पाइपको गुणस्तरमा कुनै कमी नरहेको समेत दाबी गरे । उनले भने, ‘हामीले अन्तर्राष्ट्रिय मापदण्डअनुरुपका पाइपहरू प्रयोग गरेका छौँ ।’ मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले उपत्याकाको खानेपानी हेर्ने जिम्मा अर्को निकायको भएकाले आफूहरूको कार्यक्षेत्र नपर्ने बताए । उनले पाइप फुट्ने कारण विविध हुने बताए । उनले भने, ‘पाइप सडकमुनि भएका कारण प्रेसर हुँदा फुट्ने, त्यस्तै अन्य मर्मतसम्भार गर्दा पनि क्षति भएर पनि पछि फुट्न सक्ने अवस्था रहन्छ ।’

प्राधिकरणले स्वीकार्यो गल्ती

यता, विद्युत् प्राधिकरणले पनि बबरमहलमा भएको घटनामा आफ्नो कमजोरी भएको स्वीकारेको छ । पाइलट ड्रिलिङपछि रिमिङ गर्दा असावधानीवश खानेपानीमा पाइपमा क्षति पुगेको निर्माण कम्पनी केईआईका सुपरभाइजर अविनाश कुमारले बताएको केयूकेएलका आयोजना कार्यान्वयन निर्देशनालयका प्रवक्ता चन्द्रकुमार श्रेष्ठले जानकारी दिएका छन् ।

‘वन परिसरअगाडिको सडकमा विद्युतलाइन भूमिगत गर्नका लागि पाइलट ड्रिलिङपश्चात् रिमिङ गर्दा असावधानीवश मेलम्चीको उक्त पाइपलाइनमा क्षति पुगेको निर्माण कम्पनी केईआईका सुपरभाइजर अविनाश कुमारले स्वीकार गर्नुभएको छ,’ केयुकेएलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

सरकारी निकायबीच छैन समन्वय

सरकारी कार्यालयहरूबीच समन्वय नहुँदा समय–समयमा यस्ता घटना भइरहेका छन् । समन्वय अभावले विकास निर्माणका कामहरू नै प्रभावित भइरहेका छन् भने आमनागरिकले सास्ती खेपिरहेका छन् । एकीकृत सहरी विकास योजनाको अभाव, पूर्वाधार विकाससम्बन्धी काम, विभिन्न मन्त्रालय र निकायमा बाँडिनु, ‘युटिलिटी करिडोर’सम्बन्धी ऐन कानुनको अभावजस्ता कारणले यस्ता घटना हुने गरेको पाइएको छ ।

भौतिक पूर्वाधार विकासका लागि एउटै मन्त्रालय वा निकाय तथा एकीकृत कार्ययोजना हुनुपर्ने सुझाव पूर्वाधार विज्ञहरूले दिँदै आएका छन् । गत स्थानीय निर्वाचनमा काठमाडौँ महानगरपालिकाका मेयरका उम्मेदवार बालेन शाहले सरकारी निकायबीच समन्वय नहुँदा विकासमा समस्या आएको र आफू निर्वाचित भएसँगै यो समस्या समाधान गर्ने बताएका थिए । यो काममा बालेन केही हदसम्म सफल भए पनि पछिल्लो समय भने समन्वय अभाव हुँदै गएको छ । संघ, प्रदेश र स्थानीय सरकारबीच कामको जस लिने होडबाजी तथा एक–अर्काको अस्तित्व स्वीकार गर्न नसक्दा यस्तो अवस्था आएको बताइन्छ ।

प्रतिक्रिया