३३ दलद्वारा आन्दोलन घोषणा

काठमाडौं, १२ चैत । प्रधानन्यायाधीश नेतृत्वमा अन्तरिम चुनावी मन्त्रिपरिषद् गठनको विरोधमा आन्दोलनरत नेकपा–माओवादीसहित ३३ राजनीतिक दलले आन्दोलनका १० दिने कार्यक्रम घोषणा गरेका छन् । १५ देखि २५ चैतसम्मका आन्दोलनका कार्यक्रममा नेपाल बन्दसमेत आह्वान गरिएको छ ।

माओवादी पार्टी कार्यालय बुद्धनगरमा आइतबार बसेको ३३ दलको बैठकले चैत १५ देखि २५ गतेसम्मको आन्दोलनको कार्यक्रम तय गरेको हो । आन्दोलनका कार्यक्रमअनुसार १५ गते देशका मुख्य शहरहरुमा कोणसभा, १६, १७ र १८ गते भित्तेलेखन तथा प्रचारप्रसार, १९ गते ठूला शहरहरुमा विरोध सभा गर्ने र २० चैतमा बिहान ९ देखि ११ बजे काठमाडौंमा सिहदरबार र सबै जिल्लामा प्रशासन कार्यालय घेराउ गर्ने कार्यक्रम छ ।
२१ गते कालोझन्डासहित मोटरसाइकल र्‍याली, २२ गते कोणसभा र २५ चैतमा नेपाल बन्द गर्ने उनीहरूले घोषणा गरेका छन् । ‘चुनावमा जान अहिलेको सरकार विघटन गरेर सहमतिको राष्ट्रिय सरकार गठन गर्नुपछर्,’ माओवादी सचिव देव गुरुङले भने, ‘त्यसका लागि आन्दोलनको विकल्प छैन र पहिलो चारणमा आन्दोलनका कार्यक्रम घोषण भएका छन् ।’
एमाओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चाको सहमतिअनुरूप प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा चुनावी मन्त्रिपरिषद गठन गरेपछि त्यसको विपक्षमा रहेका उनीहरूले आन्दोलनको घोषणा गरेका हुन् । प्रधानन्यायाधीश रेग्मीको नेतृत्वमा मन्त्रिपरिषद् गठनका लागि संविधान संशोधन गर्न जारी गरेको अध्यादेश खारेज हुनुपर्ने पनि उनीहरूको माग छ ।

प्रतिक्रिया