खराब कर्जाको अनुपात बढेसँगै दबाबमा बैंकिङ क्षेत्र

काठमाडौँ । सरकारले अर्थतन्त्रमा व्यापक सुधार आएको दाबी गरिरहँदा विभिन्न सूचकले भने अर्थतन्त्र झन् खराब लयमा जाँदै गरेको देखिएको छ । सार्वजनिक ऋणको मात्रामा व्यापक वृद्धि, विकास बजेट खर्च गर्ने क्षमतामा ह्रास आइरहेको आँकडा सार्वजनिक भइरहेका बेला बैंकिङ क्षेत्रसमेत थप जोखिमपूर्ण स्थितिबाट गुज्रिरहेको पाइएको छ ।

अर्थतन्त्र चलायमान हुन नसक्दा लामो समयदेखि खराब कर्जा (नन पर्फमिङ लोन– एनपिएल) को समस्या झेलिरहेको नेपाली बैंकिङ क्षेत्र थप समस्यामा परेको हो । चालु आर्थिक वर्षको ६ महिनाको तथ्यांक हेर्दा बैंकहरूको नाफामा गिरावट आएको छ भने खराब कर्जाको मात्रा ह्वात्तै बढेको छ । बैंकहरूले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पुस मसान्तमसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार अधिकांश वाणिज्य बैंकको खराब कर्जा अनुपात बढेको छ ।

गत आवको पुस मसान्तसम्मको तुलनामा चालु आवको सोही अवधिमा वाणिज्य बैंकहरूको खराब कर्जा औसत १ दशमलव ०९ बिन्दुले बढेको देखिन्छ । अहिले बैंकहरूको औसत खराब कर्जा अनुपात ४ दशमलव ४९ प्रतिशत छ । गत आवको सोही अवधिमा २० वटा वाणिज्य बैंकको खराब कर्जा अनुपात ३ दशमलव ४ प्रतिशत थियो ।

यो अवधिसम्म सबैभन्दा बढी खराब कर्जा कुमारी बैंकको देखिएको छ । यस अवधिमा कुमारी बैंकको खराब कर्जा अनुपात ६ दशमलव ९६ प्रतिशत कायम भएको छ । गत आवको सोही अवधिमा यस बैंकको खराब कर्जा अनुपात ४ दशमलव ९७ प्रतिशत थियो । यस्तै, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, लक्ष्मी सनराइज र प्रभु बैंकको खराब कर्जा अुनपात ५ प्रतिशत नाघेको छ । यी बैंकको खराब कर्जा क्रमशः ५ दशमलव ८६ प्रतिशत, ५ दशमलव ६७ प्रतिशत र ५ दशमलव ०६ प्रतिशत पुगेको छ ।

नेपाल बैंकको खराब कर्जा पनि ५ प्रतिशतको हाराहारी अर्थात् ४ दशलमव ९९ प्रतिशत, हिमालयनको ४ दशमलव ९८ प्रतिशत, प्राइम कमर्सियलको ४ दशमलव ९६ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ४ दशमलव ९६ प्रतिशत, नबिलको ४ दशमलव ९३ प्रतिशत र कृषि विकास बैंकको ४ दशमलव ९ प्रतिशत खराब कर्जा पुगेको छ ।

गत आर्थिक वर्षको तुलनामा भने सबैभन्दा बढी एनआइसी एसिया बैंकको खराब कर्जा बढेको पाइएको छ । समीक्षा अवधिमा यस बैंकको खराब कर्जा ३ दशमलव ४२ बिन्दुले बढेको छ । गत आवको पुस मसान्तसम्म १ दशमलव १९ प्रतिशत मात्रै रहेको यस बैंकको खराब कर्जा अहिले ४ दशमलव ६१ प्रतिशत पुगेको हो ।

यस अवधिमा एभरेस्ट बैंकको मात्रै खराब कर्जा घटेको देखिएको छ । एभरेस्ट बैंकको खराब कर्जा ० दशमलव ११ बिन्दुले घटेर ० दशमलव ६६ प्रतिशत कायम भएको छ । गत आवको सोही अवधिमा यस बैंकको खराब कर्जा अनुपात ० दशमलव ७७ प्रतिशत थियो । बैंकहरूको खराब कर्जामा भएको वृद्धि, कर्जा लगानीमा अपेक्षित विस्तार नहुँदा र खुद ब्याज आम्दानी बढ्न नसक्दा नाफामा समेत प्रभाव परेको बताइएको छ ।

वाणिज्य बैंकहरूको नाफामा पनि गिरावट

चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासमा वाणिज्य बैंकहरूको नाफा घटेको छ । पुस मसान्तसम्म ९ वटा बैंकको नाफा घटेको छ भने ११ वटाको बढेको छ । बैंकहरूले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार गत वर्षको पुस मसान्तसम्मको तुलनामा यसपालि ४ दशलमव ६२ प्रतिशतले नाफामा कमी आएको हो । चालु आर्थिक वर्षको पुस मसान्तसम्म २० वटा वाणिज्य बैंकले २७ अर्ब ४३ करोड ६९ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् । जबकि गत वर्षको सोही अवधिमा २८ अर्ब ७६ करोड ५२ लाख रुपैयाँ नाफा कमाएका थिए ।


चालु आवमा प्रभु बैंकले नाफा गत वर्षको तुलनामा ८५ प्रतिशतले बढाएर १ अर्ब ३३ करोड रुपैयाँ पु¥याएको छ भने नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ५७ दशमलव १८ प्रतिशतले बढाएर नाफा २ अर्ब ८३ करोड रुपैयाँ पु¥याएको छ । यो अवधिमा ग्लोबल आइएमई बैंकले पनि नाफामा ४९ दशमलव ५१ प्रतिशतले बढाएर ३ अर्ब ५ करोड पु¥याएको छ ।

यता, नाफामा सधैँ अगाडि देखिने नबिल बैंकले भने गत वर्षको तुलनामा उल्लेख्य नाफा वृद्धि गर्न सकेको छैन । गत वर्षको तुलनामा यो वर्षको पुस मसान्तसम्ममा नबिल बैंकले नाफामा १ दशमलव २९ प्रतिशत मात्रै वृद्धि गर्न सफल भएको हो । यो बैंकको नाफा ३ अर्ब २४ करोड रुपैयाँ छ । योबाहेक चालु आवमा नाफा बढाउनेमा ८ वटा वाणिज्य बैंक छन् । यो अवधिमा एनआइसी एसियाको नाफामा ९२ प्रतिशतले गिरावट आउँदा नेपाल बैंकको २१ प्रतिशतले, सिद्धार्थ बैंकको ५३ प्रतिशतले र वाणिज्य बैंकको नाफा ६२ प्रतिशतले घटेको छ ।

जोखिम त बढेको हो, तर चिन्ता लिइहाल्नुपर्दैन – रामु पौडेल, प्रवक्ता, नेपाल राष्ट्र बैंक

रामु पौडेल, प्रवक्ता, नेपाल राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकका प्रवक्ता रामु पौडेलले बैंकहरूमा प्रोभिजनिङ (जोखिम बेहोर्ने व्यवस्था) र आर्थिक गतिविधि कम भएका कारण खराब कर्जा बढेको बताए । उनले भने, ‘जोखिम बढ्दै जाँदा त प्रोभिजनिङ गर्नु पनि राम्रो हो । तर अहिले नै खतराको संकेत भन्न मिल्दैन । बैंकहरूको पुँजी कोष राष्ट्र बैंकले तोकेअनुसार नै छ । खराब कर्जाका कारण दबाब सिर्जना भएको देखिए पनि पुँजी कोष भएका कारण चिन्ता लिनुपर्ने अवस्था छैन ।’

अहिले देखिएको खराब कर्जाको अनुपात घटाउन बैंकहरू अग्रसर हुनु जरुरी रहेको उनले बताए । उनले भने, ‘जसका लागि केन्द्रीय बैंकले दिएको निर्देशन तथा बनाएका नियमहरू पूर्ण रूपमा मान्नुप¥यो । तरलता तह तोकेअनुसार लिएर बस्नुप¥यो । हाल वाणिज्य बैंकहरूको यस्तो समस्या छैन ।’ खराब कर्जा बढ्नुको कारण आर्थिक गतिविधि चलायमान हुन नसक्दा तथा गएको ऋण फिर्ता हुन नसकेको अवस्था रहेको उनले सुनाए । नाफामा आउने रकम प्रोभिजनमा राख्दा नाफा पनि घटेको उनको तर्क छ । गैरबैंकिङ सम्पत्ति संकलन गरी राख्दा घाटा बैंकहरूलाई नै हुने उनले बताए । उनले भने, ‘गैरबैंकिङ सम्पतिलाई व्यवस्थापन गर्न नसक्दा पनि केही हदसम्म खराब कर्जा थप भएको हुनसक्छ ।’

नीतिगत कारणले पनि खराब कर्जा बढ्यो – अनलराज भट्टराई, विश्लेषक

अर्थतन्त्रका कारण बैंकहरूको खराब कर्जा बढेको अर्थ विश्लेषक अनलराज भट्टराईले बताए । उनले भने, ‘अर्थतन्त्र चलायमान हुन नसक्दा खराब कर्जा बढेको देखिन्छ । खराब कर्जा ७ प्रतिशत पुग्दा अहिले तत्काल आत्तिइहाल्ने अवस्था छैन ।’

भट्टराईका अनुसार यसअघि पनि सन् १९९० मा सरकारी बैंकमात्र हुँदा पनि सिबी पास भनेर घोषणा गरिएको थियो । त्यस्तै, सन् २००० मा ३ वटा बैंकको खराब कर्जा ३० प्रतिशतभन्दा बढी पुगेको थियो । त्यसपछि पनि नेपाल राष्ट्र बैंकले खराब कर्जा बढ्यो भनेर टेकओभर गरेको अवस्था पनि छ ।

अनलराज भट्टराई, विश्लेषक

भट्टराईले राष्ट्र बैंकको नीतिका कारण पनि खराब कर्जा बढेको सुनाए । उनले भने, ‘नेपालमा खराब कर्जा र कति प्रोभिजन राख्ने भन्ने कुरा अलग छ । हामीकहाँ १ वर्षमा भएको कर्जालाई खराब कर्जा लेख्ने प्रचलन छ । खराब कर्जाको वर्गीकरण र कर्जाका लागि खर्च व्यवस्था (प्रोभिजन) छुट्याउनुपर्ने देखिएको छ । बैंकिङ क्षेत्र एकदमै कठोर नीतिमा चलिरहेको छ ।’

‘आर्थिक गतिविधि पनि एकदमै कम भएका कारण खराब कर्जाको बढेको उनले बताए । उनले भने, ‘सरकारले पनि आर्थिक गतिविधि बढाउन विभिन्न कानुनी सुधार गर्ने प्रयास गरिरहेको छ । अध्यादेशमार्फत् कानुनमा हेरफेर गर्दा अर्थतन्त्र सुधार हुने संकेत देखिन्छ । राष्ट्र बैंकले सरकारको कदमलाई साथ दिँदै प्रोभिजन व्यवस्थापन र वर्गीकरण छुट्याउने काम गरे राम्रो होला ।’ विश्लेषक भट्टराईले थप भने, ‘कतिपय उद्योगधन्दा तथा ऋणीले कर्जा तिर्न पाएका छैनन्, यस्तो अवस्थामा आर्थिक अवस्था हेरेर पुनर्तालिकीकरण पनि आवश्यक छ । कर्जाको जीवनचक्रमा २÷३ चोटिसम्म पुनर्तालिकीकरण गर्न दिएमा कुनै खराबी हुँदैन । नियतवश ऋण नतिरेको हो कि, परिस्थितिवश नतिरेको हो भनेर छुट्याउन जरुरी छ ।’

नीतिगत रूपमा केन्द्रीय बैंकले गर्नुपर्ने धेरै रहेको उनले सुनाए । उनले भने, ‘अहिलेकै नियमका आधारमा पनि हेर्ने हो भने खराब कर्जा १० प्रतिशतसम्म जान सक्छ । अहिले नियम नै परिवर्तन गर्नु जरुरी छ । नीतिगत कारणले पनि खराब कर्जा बढिरहेको छ ।’

प्रतिक्रिया