अनि बाँच्ने आशा पलायो फुलमतीलाई

बर्दिबास । महोत्तरीको बिजलपुराकी फूलमती कुमारीले सयौँ पटक सुनेको र हजारौँ पटक गुनगुनाएको जनवादी गीतको चर्चित पंक्ति हो–

‘गाई त बाँध्यो ढुंग्रोमा मोही छैन,

गरिबको चमेली बोल्दिने कोही छैन…’

औसत मानिसको जस्तै जिन्दगी गुजारिरहेकी फूलमती विगत ८ वर्षदेखि यो गीत गुनगुनाएर चित्त बुझाउँदै आएकी छिन् । पारिवारिक खुसीका लागि त्यही परिवारबाट टाढिँदै विदेश पुगेका फूलमतीका पति ज्ञानकुमार महतो ८ वर्षअघि कतारको मरुभूमिमा अस्ताए । त्यसपछि पाएको पीडा र अन्यायले फूलमतीका लागि यो गीत मन बुझाउने हतियार बन्यो ।

‘यो अवधिमा मैले अभावसँग मात्र होइन, अन्यायसँग पनि निकै लडेकी छु । त्यसैले मेरा लागि न सहयोग गर्ने नै भए न त अन्यायमा साथ दिने भए,’ फूलमतीले भनिन्, ‘श्रीमान्ले कमाउन्जेल सबैको प्यारो भएँ, तर जब श्रीमान् गुमाएँ तब सबथोक गुमाएझैँ लाग्यो ।’

फूलमतीका २ छोराहरू छन् । जेठा छोरा सूर्यप्रताप बर्दिवास–८ स्थित हात्तीलेट विद्यालयमा कक्षा ११ मा अध्यनरत छन् भने कान्छा छोरा श्रीकान्त कक्षा ४ मा अध्यनरत छन् । ‘छोराहरूलाई हेरेर पनि मन बहलाउने माध्यम बनेको छ,’ उनले भनिन्, ‘उनीहरू पनि नभएको भए त समाजकै कारण उहिल्यै मरिसक्थेँ होला ।’

विदेशमै पतिको मृत्यु भएपछि फूलमतीको जीवनमा ‘फूल’ को आभास नै भएन । काँडायुक्त यात्रामा अघि बढ्दै गरेकी उनले २ वर्षअघि दुर्घटनामा परेर देब्रे खुट्टा नै आंशिक रूपमा गुमाउनुपर्यो । खुट्टा छैन भनौँ छ, छ भनौँ काम गर्दैन । तै पनि उपचारपछि निको हुने आसमा उनले डाक्टरको सल्लाहअनुसार बिमाको रकम र केही ऋणपान गरेर स्टिल रड हालिन् ।

दुर्घटना बिमाबाट केही उपचार भए पनि उनको खुट्टामा राखिएको स्टिल निकाल्ने पैसा नहुँदा २ वर्षदेखि उनी हारगुहारमै थिइन् । शल्यक्रियाका लागि ८० हजार रुपैयाँ अभावमा रड निकाल्ने सपना एकादेशको कथा बनिरहेको थियो ।

एकातिर छोराहरूको पालनपोषण र अर्कातिर अपांगता भएपछि जीविकोपार्जनका लागि उनले गर्नुपरेको संघर्ष र पीडा सुनाउँदा उनी बेलाबेला भक्कानिन्छिन् । उनले पति र खुट्टा मात्र गुमाइनन्, समाजप्रतिको भरोसा पनि टुट्यो । एकल महिलाका रूपमा फूलमतीले भोगेका पीडा बिर्सन लायक छन्, तर सक्दिनन् बिर्सिन । ‘मेरो विवाह भएपछि श्रीमान् ससुरालीमै (मेरो माइतीमै) बस्नुभयो । उहाँको जग्गाजमिन थिएन । मेरा सासूससूराको पहिले नै मृत्यु भइसकेको थियो,’ फूलमतीले विगत सम्झिँदै भनिन्, ‘श्रीमान्का लागि म नै सबथोक थिएँ भने मेरो पनि सबथोक उहाँ नै हुनुहुन्थ्यो ।’

पत्नी र छोराहरूलाई सुख दिन भनेर बिदेसिएर कमाउँदै गरेका पति अरबको मरुभूमिमा बितेपछि उनी न पतिको घरमा गएर नयाँ जीवन बाँच्न सक्थिन्, न माइतमै बसेर समाजको साँघुरो दृष्टिकोणलाई फराकिलो बनाउन । अभाव र तिरस्कारकै बीच फूलमतीले जीवन जिउँदै गइन् ।

पुरातनवादी समाजको यति साँघुरो दृष्टिकोण रह्यो कि, मानौँ उनी रहरले एकल महिला बनिन्, उनकै कारण पति मरे । स्वरोजगार बन्नहुँदैन, कुनै काम गर्दा समाजको अनुमति लिनुपर्छ । अझ एकल महिला त यो समाजको दुर्भाग्य हुन् भन्ने असामाजिक मान्यताले फूलमतीको जीवन थप दयनीय बन्न पुग्यो । कुनै पुरुषसँग खुलेर बोल्न नहुने, खुसी हुँदा व्यक्त गर्न नमिल्ने जस्ता असामाजिक बन्धन एकल महिलाका लागि अझ कष्टकर बनिरहेको उनको बुझाइ छ ।

त्यसपछि भयो उनको उपचार

शल्यक्रियाका लागि ८० हजार रुपैयाँ नहुँदा हारगुहार गर्दै हिँड्ने क्रममा उद्योग वाणिज्य संघ बर्दिबासका अध्यक्ष विष्णु खड्कासँग फूलमतीको भेट भयो । उनले आफ्नो समस्या राखेपछि खड्काले संघका तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाए, जसले फूलमतीको जीवनमा नयाँ आशा सञ्चार भयो ।

पैसा हुनेहरूका लागि ८० हजार खासै ठुलो रकम नहुन सक्छ । तर, एउटा गरिब, त्यसमाथि एकल महिलाका लागि त्यही पैसा आगामी जीवन बाँच्ने आधार बन्यो । संघले लालगढ मोडल हस्पिटलसँग उपचार र शल्यक्रियाका लागि अनुरोध गर्यो । हस्पिटलका सञ्चालक डा. रामकुमार पौडेल पनि निःशुल्क शल्यक्रिया गर्न तयार भए । जसले फूलमतीको जीवनमा नयाँ अध्याय कोर्यो ।

‘उहाँको अवस्थाको विषयमा उद्योग वाणिज्य संघले हामीसँग प्रस्ताव लिएर आएपछि सहर्ष स्वीकार गर्यौँ । सोच्यौँ– एउटा सहयोगले कसैको नयाँ जीवन सुरु हुन्छ भने किन पछि हट्ने ?,’ डा. पौडेलले भने, ‘८० हजार ठुलो होइन, त्योभन्दा ठुलो त मानवता हो ।’

सानो रकमले पनि एउटा व्यक्तिको जीवनमा कति ठुलो परिवर्तन ल्याउँछ भन्ने यो उदाहरण बनेको छ । त्यतिमात्र होइन, मानवीय संवेदनामा हरेकले हातेमालो गर्नुपर्छ भन्ने गतिलो पाठसमेत सिकाएको छ ।

अनि पलायो बाँच्ने आस

रड निकाले पनि उनको खुट्टाले पूर्ण रूपमा काम भने गर्दैन । तर पनि एउटै खुट्टाको सहाराले पनि धेरै काम गर्न सकिनेमा फुलमती विश्वस्त छिन् । ‘पहिला पैसाको अभावमा रड निकाल्न नसकेर मरिने हो कि ! भन्ने चिन्ता लागेको थियो,’ उनले भनिन्, ‘तर, अहिले त्यो चिन्ताबाट मुक्त भएकी छु । मैले त भगवान नै भेट्टाए जस्तो भएको छ ।’ उनले आफ्नो उपचारमा पहलकदमी लिने उद्योग वाणिज्य संघ र लालगढ अस्पताल परिवारलाई धन्यवाद दिइन् ।

फुलमतीले माइतीमै झन्डै ५० हजार लगानीमा सानो किराना पसल खोलेकी छिन् । दुर्घटना हुनुअघि बनिबुतो गरेर कमाएको पैसा जोडेर खोलेको यही पसलबाटै उनको परिवारले बिहान–बेलुका हातमुख जोड्दै आएको छ । वडाले आर्थिक स्थिति कमजोर रहेको सिफारिस गरिदिएपछि छोराहरूलाई स्कुलले निःशुल्क पढाइरहेको छ । जेठा छोरा १० कक्षामा पढिरहेका छन् भने कान्छा ४ मा ।

पतितिर कुनै जग्गाजमिन नभएकाले उनले कुनै अंश पाएकी छैनन् । माइतीमा भने बुबाले ५ कठ्ठा जमिन ४ दिदीबहिनीलाई दिएका छन् । दाजुभाइ नभएकाले दिदीबहिनीले अंश पाएका हुन् । आफ्नो भागमा परेको जग्गामा उनले खेती गर्दै आए पनि दुर्घटनापछि भने त्यसलाई निरन्तरता दिन सकेकी छैनन् । छोराहरूलाई अरूको जत्तिकै पढाएर ठुलो मान्छे बनाउने उनको धोको छ ।

प्रतिक्रिया