इँटा व्यवसायी प्रसाईको हत्या

सर्लाही । पूर्व–पश्चिम राजमार्गमा पर्ने हरिवन नगरपालिकाका इँटा व्यवसायी हरिप्रसाद प्रसाईको हत्या भएको सर्लाही प्रहरीले जानकारी गराएका छन् । ३९ वर्षीय प्रसाई हरिवन नगरपालिका– १० इनारटोलका स्थायी बासिन्दा हुन् ।

प्रसाई पुस १५ गतेदेखि हराइरहेको सूचना पाउनासाथ प्रहरीले खोजतलास गर्दै जाँदा शनिबार बिहान ११ बजेको समयमा हरिवन नगरपालिका– १० स्थित उखुबारीमा गाडिएको अवस्थामा उनको शव बरामद गरेको थियो ।

प्रसाई परिवारका अनुसार उनी पुस १५ गते बिहान बरहथवा नगरपालिका–९ मूर्तियाबाट इँटाको पैसा लिएर आउँछु भनेर घरबाट निस्किएका थिए । तर घर नफर्किएपछि सोही दिनदेखि उनको खोजी कार्य भइरहेको थियो ।

सर्लाही प्रहरीले प्रसाईको हत्यामा संलग्न हुन सक्ने आशंकामा एक स्थानीय युवकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ । प्रसाईको शव प्रादेशिक अस्पताल मलंगवामा पोष्टमार्टम पश्चात् परिवारलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया