काठमाडौं : उच्चस्तरीय राजनीतिक समितिको बैठकले निर्वाचन आयोगका थप दुई आयुक्तमा इला शर्मा र रामभक्त ठाकुरलाई सिफारिस गर्ने निर्णय गरेको छ । आयोग पदाधिकारीमा दलहरूबीच सहमति भएपछि निर्वाचन आयोगलाई पूर्णता दिई चुनाव घोषणा गर्न मन्त्रिपरिषद्लाई बाटो खुलेको छ ।
बुधबार बसेको राजनीतिक समितिको बैठकले निर्वाचन आयोगमा सहमति गर्न बाँकी रहेका दुई आयुक्तको नाम सिफारिस गर्ने निर्णय गरेको हो । यसअघि नै प्रमुख निर्वाचन आयुक्तमा नीलकण्ठ उप्रेती र आयुक्तहरूमा अयोधीप्रसाद यादव र दोलखबहादुर गुरुङको नाम सिफारिस गर्ने सहमति भएको थियो । थप दुई आयुक्तमा पनि सहमति भएपछि राजनीतिक समितिको सहमतिअनुरूप संवैधानिक परिषद् बैठकले निर्वाचन आयोग पदाधिकारी नियुक्ति गर्न बाटो खुलेको छ ।
निर्वाचन आयोगले निर्वाचन तयारीका अन्य काम पूरा गरे पनि आयोग पदाधिकारी नियुक्त नभएकाले मन्त्रिपरिषद्ले निर्वाचन घोषणा गर्न सकेको छैन । ‘राजनीतिक समितिमा निर्वाचन आयोगका सबै पदाधिकारीमा सहमति भएको छ,’ एमाले अध्यक्ष झलनाथ खनालले सौर्यसँग भने, ‘अब औपचारिक नियुक्तिका लागि संवैधानिक परिषद्ले निर्णय गर्न मात्रै बाँकी छ ।’
अख्तियार प्रमुखमा प्रस्ताव गरिएका लोकमानसिंह कार्कीको नाममा विवाद उत्पन्न भएपछि अन्य आयोगका विषयमा भने पछि छलफल गर्ने सहमति राजनीतिक समितिले गरेको छ । ‘अहिलेलाई निर्वाचन आयोगलाई पूर्णता दिऊँ र अरू विषयमा पछि छलफल गर्दै जाऊँ भन्ने कुरा भयो,’ कांग्रेस उपसभापति रामचन्द्र पौडेलले सौर्यसँग भने । यसअघि उच्चस्तरीय राजनीतिक समितिले अख्तियार प्रमुखमा कार्की, लोकसेवा आयोगमा कयोदेवी यमी र महालेखापरीक्षकमा भानु आचार्यलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।
तर, कार्कीलाई जनआन्दोलन दमनमा सहभागी भएकाले रायमाझी आयोगले दोषी ठहर गरेको भन्दै दलहरूभित्रै विवाद उत्पन्न भएपछि निर्वाचन आयोगलाई मात्र पूर्णता दिने निर्णय बुधबारको बैठकले गरेको हो । निर्वाचन आयोगका पदाधिकारी नियुक्ति नभएकैले आयोगले निर्वाचनको पूर्वतयारी सकिए पनि औपचारिक घोषणाका लागि अप्ठ्यारो परेको बताउँदै आएको थियो । आयोग पदाधिकारीमा दलहरूबीच भएको सहमतिअनुरूप पूर्णता पाएपछि मन्त्रिपरिषद्लाई निर्वाचनको मिति घोषणा गर्न बाटो खुल्नेछ । (सौस)
प्रतिक्रिया