१५ पुसलाई विशेष चाडको रूपमा मनाउने नेपालीहरूको संख्या ठूलो छ । जसलाई १५ पुस वा पुसे १५ पनि भन्ने गरिन्छ । अन्नपूर्ण हिमालभन्दा दक्षिणतर्फ बसोबास गर्ने गुरुङ समुदायले ल्होछार अर्थात नयाँ वर्षका रूपमा १५ पुस मनाउने गर्दछ । समान्यतया नेपालका प्रायः सबै जाति तथा समुदायले चान्द्रमासको पात्रोअनुसार धार्मिक तथा सांस्कृतिक क्रियाकलाप गर्छन्, चाडपर्वहरू मनाउँछन् । सौर्यमासको पात्रो अनुसारका चाडपर्व तथा संस्कृतिक क्रियाकलापहरू अन्यन्त थोरै छन् । त्यही थोरै मध्येको एक हो १५ पुस । खासगरी नेपालका खस–आर्य तथा त्रिशूली नदीदेखि पश्चिमका जनजातिहरूले १५ पुसलाई महत्वपूर्ण चाडका रूपमा मनाउने गरेको पाइन्छ । १५ पुसलाई किन र कहिलेदेखि मनाउन थालियो ? भन्ने एकीन प्रमाण भने छैन । संस्कृतिविद् जगमान गुरुङका अनुसार सबैभन्दा छोटो दिन र सबैभन्दा लामो रात हुने मान्यताका आधारमा १५ पुस पर्व मनाउन थालिएको हुनुपर्छ । हुन पनि पश्चिमेली विद्वानहरूले वर्ष दिनभरिमा २२ डिसेम्बरको रातलाई सबैभन्दा लामो रात भनेका छन् । पुस १५ र २२ डिसेम्बर नजिक–नजिक पर्छन् । त्यसो त पुस १५ देखि १७ गतेभित्र अंग्रेजी पात्रोको नयाँ वर्ष जनवरी १ पनि पर्छ । जनवरी १ र पुस १५ बीच कुनै सम्बन्ध पनि हुनुपर्छ, तर यस विषयमा खासै अध्ययन भएको छैन ।
१५ पुस मनाउने शैलीमा पनि केही भिन्नताहरू छन् । उदाहरणका लागि १५ पुस गुरुङ समुदायको महत्वपूर्ण चाड मानिन्छ । तर भोट क्षेत्रमा बसोबास गर्ने गुरुङ समुदायले सामान्य रूपमा मनाउँछ भने तल्लो क्षेत्रमा बस्ने गुरुङ समुदायले ल्होछार अर्थात नयाँ वर्षका रूपमा धुमधामका साथ मनाउने गर्छ । १५ पुसदेखि नै गुरुङ समुदायको नयाँ वर्ष सुरु हुन्छ । तर भोट क्षेत्रमा बसोबास गर्ने गुरुङ समुदायले भने तिब्बतीय संस्कृतिको प्रभावका कारण पौष शुक्ल प्रतिपदाको दिनमा नयाँ वर्ष मान्छन् । जसलाई तोल ल्होसार भनिन्छ । यसैगरी मगर युवा–युवतीहरूले १५ पुसको दिनमा खुवा खाएर आफ्नो जीवनसाथी रोज्ने चलन छ । खस–आर्य समुदायमा अनदीको लट्टे र कालोमासको फुलौरालगायत विभिन्न परिकार बनाएर खाने, रातभरी भजन कीर्तन गरी जाग्राम बस्ने र भोलिपल्ट नदीमा गएर स्नान गर्ने चलन छ । कर्णाली क्षेत्रमा विभिन्न परिकार बनाएर दिदीबहिनीको स्वागत गर्ने प्रचलन छ । सुदूरपश्चिममा ठूलीरातका नामले धुमधामसँग १५ पुस मनाउने चलन छ ।
संस्कृति तथा चाडपर्व भनेका देशका अमूर्त सम्पदा हुन् । उपल्लो पुस्ताबाट तल्लो पुस्ताले अनुभव सिक्ने माध्यम पनि हुन् यस्ता चाड पर्व । उदाहरणका लागि १५ पुसमा यसै पनि रात लामो हुन्छ, जाडोको बेलासमेत पर्छ । बुढाबुढीहरूले केटाकेटीलाई दन्त्य कथा सुनाएर रात छिचोल्ने चलन छ । यसैगरी युवायुवतीहरूले नाचगान तथा सभ्य प्रकारका मनोरन्जनात्मक क्रियाकलाप गरेर रात छिचोल्ने चलन छ । १५ पुसको रात जाग्राम बसेर छिचोल्दा आयु बढ्ने मान्यता स्थापित हुनुको कारण पुराना पुस्ताबाट नयाँ पुस्ताले अनुभवहरू सिकुन् भन्ने पनि हो । यसैगरी अन्य कतिपय चाडपर्वमा घरमै मिठो मसिनो खाने चलन छ । तर १५ पुसमा गाउँ घरभन्दा अली टाढा खेतबारीमा गएर भोज खाने चलन छ ।
जसलाई वनभोज पनि भन्ने गरिन्छ । तर बसाइँसराइ तथा सहरीकरण बढ्दै जाँदा, युवाहरू बिदेसिँदै जाँदा कतिपय चाडपर्वहरूको मौलिकता परिवर्तन हुँदै गएको छ । त्यसमध्ये पछिल्ला वर्षहरूमा मौलिकता परिवर्तनको सबैभन्दा ठूलो चपेटामा १५ पुस परेको छ । खासगरी गण्डकीभन्दा पूर्वका खस–आर्यहरूले १५ पुस पर्व बिर्संदै गएका छन् । मगर समुदायमा पनि १५ पुसका दिन जीवनसाथी रोज्ने प्रचलन कमजोर हुँदै गएको छ । तर गुरुङ समुदायले भने १५ पुसलाई अझै धुमधामका साथ निरन्तरता दिइरहेको छ । तर गुरुङ समुदाय्भित्र पनि पछिल्ला वर्षहरूमा ल्होसार कि, ल्होछार ? भन्ने विवाद नदेखिएको होइन ।
प्रतिक्रिया