३२औँ प्रधानन्यायाधीशको कार्यभार सम्हाले राउतले

काठमाडौँ । देशको ३२औँ प्रधानन्यायाधीशका रूपमा प्रकाशमानसिंह राउतले आइतबारदेखि आफ्नो कार्यभार सम्हालेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा १२९ को उपधारा २ बमोजिम संवैधानिक परिषद्को सिफारिसमा उनलाई आइतबार प्रधानन्यायाधीश नियुक्त गरेका थिए । राउतले आइतबार नै राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ लिएका थिए ।

संसदीय सुनुवाइ समितिले गत बुधबार प्रधानन्यायाधीशमा वरिष्ठतम् न्यायाधीश प्रकाशमानसिंह राउतको नाम सर्वसम्मत अनुमोदन गरेको थियो । प्रधानन्यायाधीशबाट विश्वम्भरप्रसाद श्रेष्ठले उमेरहदका कारण अवकाश पाउने भएपछि संवैधानिक परिषद्ले ३१ भदौमा वरिष्ठताका आधारमा राउतको नाम सिफारिस गरेको थियो ।

संसदीय समितिले ३ असोजमा उजुरी आह्वान गरेर राउतविरुद्ध सुनुवाइ प्रक्रिया प्रारम्भ गरेको थियो । राउतविरुद्ध आएका ६ वटा उजुरीमा गत मंगलबार उजुरीकर्तासँग छलफल गरेको समितिले गत बुधबार सुनुवाइ गरी अनुमोदन गरेको हो । राउत २०८२ चैतसम्म १८ महिनाका लागि प्रधानन्यायाधीशमा रहनेछन् ।

सन् १९६१ मा उदयपुरमा जन्मिएका राउत सन् २०१६ मा सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएका थिए । सन् १९८३ देखि २०१६ सम्म अधिवक्ता तथा वरिष्ठ अधिवक्ताका रूपमा वकालत गरेका राउत देवानी, फौजदारी र संवैधानिक कानुनका ज्ञाता मानिन्छन् । उनी सन् २०१६ मा सर्वोच्च अदालत बार एसोसियसनको अध्यक्षसमेत बनेका थिए ।

कार्यभार सम्हाल्दै प्रस्तुत गरे ५ बुँदे लक्ष्य

नवनियुक्त प्रधानन्यायाधीश राउतले पदभार ग्रहण गरेसँगै उनले आफ्ना ५ बुँदे लक्ष्यसमेत सार्वजनिक गरेका छन् । पदभार ग्रहणपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले प्रधानन्यायाधीश जस्तो हैसियतमा पुग्नु आफ्ना लागि ऐतिहासिक दिन बनेको बताए । नेपालको न्यायालय अहिले लयमा फर्किएको भन्दै उनले त्यसलाई समृद्ध बनाउनका लागि आफूहरू लागि परिरहेको बताए ।

उनले भने, ‘मेरो लागि आज ऐतिहासिक दिन हो । किनभने देशको प्रधानन्यायाधीशको हैसियतमा छु । नेपालको न्यायालय अहिले लयमा फर्किएको छ । सुखद् र गौरवको विषय हो । यसलाई समृद्ध बनाउनुपर्छ । त्यसको लागि हामी लागिपरेका छौँ ।’ उनले आफ्ना ५ वटा बुँदाहरू लक्ष्यको रूपमा सुनाउँदै त्यसलाई जसरी पनि पूरा गर्ने प्रतिबद्धता जनाए ।

उनले भने, ‘५ वटा बुँदाहरू लक्ष्यका रूपमा निर्धारित गरेका छौँ । छिटो छरितो गुणस्तरीय न्याय, न्यायमा पहुँच, न्यायिक सुशासन, जनआस्थामा अभिवृद्धि, सूचना प्रविधिको प्रचुर प्रयोग र मानव संसाधन तथा भौतिक पूर्वाधार ।’

बार र बेन्चको विवाद विधिसम्मत तरिकाले समाधान हुन्छ

कार्यभार सम्हाल्दै राउतले न्यायालय लयमा फर्किएको र यसलाई सुखद् र गौरवको विषय मान्नुपर्ने बताए । ‘अबको न्यायपालिका एकदम गरिमामय हुन्छ, समृद्ध बनाउने प्रयत्न हुन्छ, मर्यादायुक्त हुन्छ । यसमा शंकै गर्नुपर्दैन । निष्ठाका न्यायाधीशहरूले ओतप्रोत भएका ठाउँमा तपाईं हामीलाई काम गर्न दिनुहोस्’, राउतले भने ।

उनले आफूसँग सम्पूर्ण न्यायाधीश र कर्मचारीको टिम साथमा रहेकाले काम गर्न सहज हुने दाबी पनि गरे । न्यायालयको पञ्चवर्षीय रणनीतिक योजनाका लक्ष्य हाँसिल गर्न आफू लागिपर्ने प्रतिबद्धता जनाउँदै बार र बेन्च विवादलाई विधिसम्मत तरिकाले समाधान गर्ने पनि बताए । ‘बार र बेन्चको आपसी समझदारीबाट सधैँभरि ठुल्ठुला मतभेद टुंगिएका छन् । कानुनको उचित र वैधानिक तरिकाले सर्वसम्मत प्रक्रियाबाट टुंगिन्छ । जिम्मेदारीको सिद्धान्त छ, संयमको सिद्धान्त छ, उपयोग गरिएको छैन । बार र बेन्चले कसले कति गरेको छ, हेर्नुपर्छ ।’ नवनियुक्त प्रधानन्यायाधीश राउतले संविधान र कानुनबमोजिम निर्णय गर्न नछाड्ने प्रतिबद्धता पनि जनाए ।

प्रतिक्रिया